काठमाडौंःसरकारले लघुबिमा कार्यक्रम अनिवार्य गर्न निर्देशन दिएको आठ महिनापछि बल्ल चार बिमा कम्पनीले मात्रै यस्तो योजना जारी गरेका छन् । चालू आव (२०७३/७४)को बजेटमा नै सरकारले बिमा कम्पनीहरूलाई आफनो कुल व्यवसायको ५ प्रतिशत लघुबिमा जारी गर्न निर्देशन दिएको थियो । तर, २२ कम्पनीले अझै एउटा पनि लघुबिमा योजना जारी गरेका छैनन् ।
बिमा समितिको तथ्यांकअनुसार हालसम्म तीन निर्जीवन र एउटा जीवन बिमा कम्पनीले मात्रै लघुबिमा योजना जारी गरेको छ । निर्जीवन बिमा कम्पनीहरू हिमालयन जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले लघुबिमा योजना जारी गरेका छन् भने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पनि जारी गरेको छ । यस अवधिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ४० वटा लघु बिमालेख जारी गरेको छ ।
जसबाट कम्पनीले ८ हजार ५ सय बिमाशुल्क संकलन गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले ५२ लाख ५० हजार बिमांक बराबरको ३० वटा बिमालेख जारी गरेको छ । जसबाट कम्पनीले ९ हजार ७ सय ५० रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले भने २ वटा बिमालेख जारी गरेर ३ सय ४८ रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
जीवन बिमातर्फको गुराँस लाइफ इन्स्योरेन्सले ३९ वटा म्यादी लघुबिमा जारी गरेको छ । जसबाट कम्पनीले २९ हजार ८ सय १५ रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । त्यस्तै, सावधिकअन्तर्गत ५ वटा बिमालेख जारी गरेको छ, जसबाट कम्पनीले ३० हजार ७ सय ८० रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
युनाईटेड, प्रुडेन्सियल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भने पूर्वाधार निर्माणको प्रक्रियामा रहेको बताएका छन् । यस्तै, प्रभु इन्स्योरेन्सले बिमालेख जारी गर्ने तयारी भइरहेको बताएको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बजारीकरण तथा योजना निर्माणको प्रक्रियामा रहेको जनाएको छ भने एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २ वटा म्यादी लघुबिमा योजनाको तयारी गर्दै गरेको बताएको छ ।
न्यून आय भएका नागरिकलाई बिमाको दायरामा ल्याउन सरकारले लघुबिमा योजनाको परिकल्पना गरेको हो । जसलाई सरकारले चालू आवदेखि नै अनिवार्य समेत गरेको हो । तर, सरकारको निर्देशनलाई भने विमकहरूले बेवास्ता गरेको देखिएको छ ।
लघु बिमाको बिमांक थोरै हुन्छ । जसको लक्षित वर्ग भनेको न्यून आय भएका नागरिकहरू नै हुन् । तर, यस्तो व्यक्तिहरूमा बिमा सम्बन्धी चेतनाको अभाव र आर्थिक अवस्था कमजोर हुने हुँदा लघुबिमा योजना जारी गर्न कठिनाइ भएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।
“उसै पनि नेपालमा बिमा मानिसहरूको प्राथमिकतामै पर्दैन, झन् यस्तो वर्गमा त बिमा धेरै पछाडि मात्रै आउँछ” पाण्डे भन्छन्, “पहिलो आवश्यकता नै पूर्ति गर्न नसकेकोे अवस्थामा बिमा गर भन्नु पनि अप्ठेरो छ ।” त्यसैले लघुबिमा जारी गर्नुअघि उनीहरूको आर्थिक अवस्थालाई पनि सुधार गर्दै लैजानुपर्ने उनले बताए ।
सरकारले लघुबिमालाई अनिवार्य गरे पनि यसमा प्राविधिक कठिनाइ भएको बिमा समितिले बताएको छ । नेपालको भौगोलिक विकटताको कारणले लघुबिमा जारी गर्न कम्पनीहरूलाई समस्या भएको समितिका निर्देशक श्रीमान कार्कीले बताए ।
त्यस्तै, लघुबिमा योजना जस्तै सानो रकमका अन्य योजनाहरू कम्पनीहरूले पहिलेदेखि नै जारी गर्दै आएका छन् । त्यसमा पनि कृषि बिमा योजना र लघुबिमा योजनामा धेरै समानता छ । कृषि बिमा योजनामा ७५ प्रतिशतको अनुदानको व्यवस्था छ । तर, लघुबिमामा भने अनुदानको व्यवस्था छैन ।
त्यसैले अधिकांश लघुबिमाका लक्षित वर्गले अनुदानको कारण कृषि बिमालाई नै रोज्ने गरेको पाइएको समितिका निर्देशक कार्कीले बताए । “यसमा पनि अनुदानको व्यवस्था गर्न सके माग बढ्न सक्छ कि !” उनले भने ।
लघुबिमा योजनालाई सहज बनाउकै लागि लघुवित्तिय संस्थाहरूले पनि लघुबिमा योजना जारी गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै समितिले व्यक्तिगत अभिकर्ताले पनि लघुबिमा योजना बिक्री गर्न पाउने व्यवस्था गरेको छ । साथै, कम्पनीहरूलाई आफूखुशी योजना निर्माण गर्न समेत छुट दिएको छ ।
http://www.karobardaily.com/news/73769
http://www.karobardaily.com/news/73769
No comments:
Post a Comment