काठमाडौंः नेपालका बिमा कम्पनीको पुँजी प्रत्येक वर्ष वृद्धि हुँदै गए पनि हवाई बिमामा कम्पनीहरूको खुद धारण गर्ने क्षमता भने वृद्धि हुन सकेको छैन । कम्पनीहरूले हवाई बिमामा शून्य दशमलव शून्य ३ प्रतिशत खुद धारणा गर्छन् भने ९ दशमलव ९७ प्रतिशत भने पुनर्बिमा गर्दै आएका छन् ।
पुनर्बिमा निर्देशिका, २०६५ मा बिमा कम्पनीहरूले आफूले धारण गर्न सक्नेभन्दा बढीको जोखिम भएमा पुनर्बिमा गर्नु पाउने व्यवस्था गरिएको छ । तर, बिमकले जारी गरेको प्रत्येक बिमालेखले रक्षावरण गरेको जोखिम बिमकले धारण नगरी शतप्रतिशत पुनर्बिमा भने गराउनु हुँदैन ।
बिमकले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउनु पर्ने प्रावधान छ । सुरुवाती अवस्थामा पुँजी पनि कम थियो । फलस्वरुप कम्पनीहरूको खुद धारण गर्ने क्षमता पनि कम थियो ।
हवाई बिमामा एउटा दुर्घटना हुँदा पनि ठूलो दाबी पथ्र्यो । त्यसैले कम्पनीहरू जोखिम धारण गर्न डराउँथे । तसर्थ उनीहरूले न्यून मात्रै जोखिम धारण गरी बाँकी पुनर्बिमा गराउँथे । तर, यो प्रक्रिया अहिले पनि कायम नै छ ।
पछिल्लो समयमा कम्पनीहरूको पुँजी र क्षमता पनि वृद्धि भइसकेको छ । तर, कम्पनीहरूले खुद धारणको क्षमता भने वृद्धि नगरेको बिमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बताए ।
“जसका कारण पुनर्बिमाबापत नेपालबाट ठूलो रकम बिदेसिन गरेको छ,” उनले भने । यदि कम्पनीहरूले हवाई बिमाको खुद धारण गर्ने क्षमता वृद्धि गर्ने हो भने पुनर्बिमाबापत बाहिरिने रकममा कमी आउने उनले बताए ।
कम्पनीहरूको क्षमतामा वृद्धि भए पनि हवाई बिमाको खुद धारणा क्षमतामा वृद्धि नभएको स्वीकार गर्छन शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे । “सुरुका दिनमा हाम्रो क्षमता नै कम थियो । तर, नेपालमा हवाई दुर्घटना भयवाह थियो ।
यसमा दाबी पनि ठूलो हुन्थ्यो । तर, अब कम्पनीहरूले क्षमता वृद्धि भइसकेको छ । त्यसैले खुद धारण क्षमता पनि वृद्धि गर्नुपर्छ,” उनले भने । यसै विषयलाई मध्यनजर गरी आफूहरूले हवाई बिमामा न्यूनतम १० प्रतिशत जोखिम धारण गर्ने क्षमता वृद्धि गर्ने योजना बनाएको उनले बताए । “हामी दुई चारवटा कम्पनी मिलेर योजना बनाएका छौं ।
हामीले राम्रो पुनर्बिमा कम्पनी पनि पाएका छौं । हामी ३० प्रतिशत जोखिम आफैंले बहन गरी ७० प्रतिशत मात्रै पुनर्बिमा गर्ने योजना बनाएका छौं,” उनले भने ।
नेपालका निर्जीवन बिमा कम्पनीहरूले स्वीस री (स्वीट्जरल्याण्ड), जेबी बोडा पुनर्बिमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेसन (भारत), ह्यानओभर री (जर्मन), ट्रस्ट री (बहराइन), वाईका री वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड (लन्डन), केन्या री, (केन्या) भुटान री (भुटान) लगायतका कम्पनीहरूसँग पुनर्बिमा गर्दै आएका छन् ।
नेपाली कम्पनीहरूले जेबी बोडा (भारत), पाइनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत)लगायतका ब्रोकरहरूमार्फत पनि पुनर्बिमा गर्दै आएका छन् ।
बिमा समितिको तथ्यांकअनुसार चालू आवको प्रथम त्रैमासिक अवधिसम्ममा कम्पनीले ३७ वटा हवाई बिमालेख जारी गरेका छन् जसमबापत कम्पनीहरूले २२ करोड २० लाख बिमाशुल्क आर्जन गरेका छन् भने १० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
No comments:
Post a Comment