काठमाडौः बिमा क्षेत्रको सवलीकरणका लागि बिमा प्रतिष्ठान निर्माण गर्ने नियामक निकाय बिमा समितिको योजना अझै सफल हुन सकेको छैन । लामो समयदेखि प्रतिष्ठानको चर्चा चल्दै आए पनि हालसम्म यो बहसमै सिमित छ ।
आठ वर्ष अगाडि नै समितिले प्रतिष्ठान निर्माणका लागि आवश्यक अनुसन्धान र खाका निर्माण गरेको थियो ।समितिले करिब एक दशकअघि बिमा प्रतिष्ठानको परिकल्पना गरेको हो । बिमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएपछि प्रतिष्ठानको आवश्यकता महशुस गरिएको थियो ।
प्रतिष्ठान निर्माण गर्ने पहल धेरै पहिलेदेखि नै चल्दैआए पनि समितिका पूर्वअध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको पालामा भने यसको प्रक्रिया अगाडी बढिसकेको थियो ।
२०६६ मा नै तत्कालीन अध्यक्ष केसीले प्रतिष्ठान निर्माणका लागि आवश्यक अनुसन्धान गरी खाका समेत निर्माण गरिसकेका थिए । उनकै नेतृत्वमा गठित समितिले प्रतिष्ठानका बिषयमा धेरै बहस समेत गरिसकेको थियो ।
पूर्वअध्यक्ष केसीले प्रतिष्ठान निर्माणको कार्यलाई गहन रूपमा लिए पनि उनको आठ वर्षे कार्यकालमा समेत प्रतिष्ठान बन्न सकेन । प्रतिष्ठान निर्माणको लागि गठित समिति भित्रबाट नै प्रतिष्ठान निर्माण गर्न बिमा ऐनमा कुनै पनि व्यवस्था नभएको बिषय उठ्न थालेपछि तत्कालीन अध्यक्ष केसी समेत पछाडि हटेको समितिका एक कर्मचारीले बताए ।
यद्यपी ऐनकै कारण प्रतिष्ठान निर्माण गर्न कुनै बाधा अड्चन भने नरहेको उनले दावी गरे । बिमा क्षेत्रमा देखिएको मानव संशाधनको चरम अभावलाई परिपूर्ति गर्न प्रतिष्ठानको परिकल्पना गरिएको केसीले बताए ।
“यो प्रक्रिया धेरै अगाडि पनि बढिसकेको थियो । तर, केही प्राविधिक कठिनाइका कारण सम्पन्न हुन सकेन,” उनले भने । तत्कालीन समयमा प्रतिष्ठानले मुख्यगरी तीनवटा काम गर्ने योजना बनाइएको थियो ।
केसीका अनुसार प्रतिष्ठानले बिमा अभिकर्ता, सर्भेयर, समितिका कर्मचारी, सञ्चालक सदस्य तथा बिमा कम्पनीका कर्मचारीलाई आवश्यक तालिम दिने योजना थियो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरी स्नातक र स्नातहकोत्तर तहमा बिमा विषयमा अध्यापन गराइने र विभिन्न खालका अनुसन्धान गर्ने योजना बनाइएको थियो ।
बिमासम्बन्धी अध्यापनका लागि बिमक संघ, बिमा समिति र त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायनको डिनसँग पनि सम्झौता भइसकेको छ । प्रतिष्ठान सञ्चालनका लागि बिमा समितिले बिउ पुँजीको रूपमा एक करोड रूपैयाँ लगानी गर्ने र बिमक संघले पनि एक करोड रूपैयाँ लगानी गर्ने सहमति समेत भएको थियो ।
समितिले विव बैंक, आईएमएफलगायतका अन्तर्राष्ट्रिय संस्था र राष्ट्रिय योजना आयोग लगायतका संस्थासँग सम्झौता गरी अनुसन्धान समेत गर्ने योजना निर्माण गरेको थियो ।
बिमा समितिले प्रत्येक बार्षिक कार्यक्रममा बिमा प्रतिष्ठानको योजना पनि पर्ने गर्दछ । तर, प्रत्येक वर्ष परिणाम भने शुन्य छ ।
बिमा समितिले प्रत्येक बार्षिक कार्यक्रममा बिमा प्रतिष्ठानको योजना पनि पर्ने गर्दछ । तर, प्रत्येक वर्ष परिणाम भने शुन्य छ ।
चालू आवका पनि यो प्रक्रियाले निरन्तरता पाएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “समग्र बिमा क्षेत्रको विकास लागि प्रतिष्ठान आवश्यक छ । हामीले सोच पनि बनाएका छौ । मैले मेरो कार्यकाल भित्रै नै यसलाई कार्यन्वयन ल्याउने प्रयास गर्नेछु,” उनले भने ।
समग्र बिमा क्षेत्रको विकास लागि स्पष्ट भिजन नएकै कारण प्रतिष्ठान निर्माण हुन नसकेको बिमा विज्ञ डा.रविन्द्र घिमिरे बताउँछन् । “समितिसँग बिमा क्षेत्रको बिषयमा कुनै दीर्घकालीन योजना नै छैन, फण्ड मात्रै भएर के गर्नु ?,” उनले भने । प्रतिष्ठान सञ्चालनका लागि ऐनले कुनै बाधा नपुराएको समेत उनले स्पष्ट पारे ।
No comments:
Post a Comment