Monday, March 13, 2017

१८ प्रतिशतले बिमितले मात्रै लिए कर्जा

मुना कुँवर 
काठमाडौं : जीवन बिमा कम्पनीहरूले जारी गरेको बिमा योजनामध्ये १८ प्रतिशत बिमितले मात्रै बिमालेख धितो राखेर ऋण लिने गरेको पाइएको छ ।
बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७२/७३ सम्ममा करिब ६५ हजार ९ सय ५० बिमितले बिमालेख धितो राखी कर्जा लिएका छन् । सो अवधिसम्ममा कम्पनीहरूले भने ३  लाख ६७ हजार २६ बिमालेख जारी गरिसकेका छन् । 
समितिको तथ्यांकअनुसार अघिल्लो आवको तुलनामा कर्जा लिने बिमितको संख्यामा खासै वृद्धि भएको छैन । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले जारी गरेको कुल बिमालेखमध्ये करिब १६ प्रतिशत बिमितले मात्रै कम्पनीमा आफ्नो योजना धितो राखी कर्जा लिएको देखिएको बिमा समितिका उपनिर्देशक एवं प्रवक्ता पुजना ढुंगेल अधिकारीले जानकारी दिइन् ।
धेरै बिमितलाई यसबारे  जानकारी नभएर पनि कर्जा लिनेको संख्या बढ्न नसकेको हुनसक्ने उनले बताइन् । बिमितले आफ्नो बिमा योजनाको समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्दछन् ।

समयमा नै कर्जाको ब्याज र बिमाशुल्क भुक्तानी गर्ने हो भने बिमितले चाहेको समयसम्म कर्जाको सदुपयोग गर्नसक्ने, पेशागत बिमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारीले बताए ।
“यस्तो कर्जाको ६/६ महिनामा ब्याज भुक्तानी गर्नुपर्छ, कम्पनीहरूले सर्वसुलभ ब्याजदरमा नै कर्जा उपलब्ध गराउँछन्” तिवारी भन्छन्, “कम्पनीहरूले करिब १० प्रतिशतको हाराहारीमा कर्जा उपलब्ध गराउँछन् ।” उनका अनुसार बिमा योजना बापतको कर्जा बिमितको लागि अति उपयोगी छ । किनभने बिमितले आफूले जम्मा गरेको रकम कर्जाको रुपमा पनि प्रयोग गर्न पाउँछन् भने अर्कोतिर सो रकमले जोखिम पनि सुरक्षा गरिरहेको हुन्छ । 
तथ्यांकअनुसार अधिकांश साना बिमितहरूले कर्जा लिएको देखिन्छ । १ लाखदेखि १ करोड रुपैयाँभन्दा बढीको विमा गर्ने बिमितहरूमध्ये सबैभन्दा कम १ लाख रुपैयाँको बिमा गर्ने धेरै बिमितले कर्जा लिएका छन् ।
गत आवमा १ लाख रुपैयाँको बिमा गराउने बिमितमध्ये ५५ हजार ३ सय ६१ जनाले कर्जा लिएका छन् । यस्तै, १ लाख देखि ५ लाख रुपैयाँसम्मको बिमा गराउनेमध्ये ९ हजार ५ सय ३८ जनाले,  ५ देखि १० लाख रुपैयाँसम्मको बिमा गराउनेमध्ये ७ सय ५० जनाले, १० देखि ५० लाख रुपैयाँसम्मको बिमा गराउनेमध्ये २ सय ६३ जनाले, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको बिमा गराउनेमध्ये २१ जना र १ करोड रुपैयाँभन्दा धेरैको बिमा गराउनेमध्ये जम्मा १७ जनाले कर्जा लिएका छन् । 
बिमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुइटा किस्ता प्रिमियम अनिवार्य बुझाएको हुनुपर्नेछ ।
कर्जा लिँदा बिमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बिमितले कम्पनीमा बुझाएको बिमाशुल्ककोे आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बिमा समितिको प्रावधानअनुसार बिमाशुल्कको सर्मपण मुल्यांकनपछि कम्पनीहरूले अधिकतम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् ।
यस्तो कर्जामा कम्पनीहरूले १० देखि ११ प्रतिशतसम्म ब्याज लिने गर्छन् । बिमा अवधिभित्र कुनै पनि समयमा कर्जा भुक्तानी गर्न सकिन्छ । भुक्तानीको नभएको अवस्थामा बिमाशुल्कबाट नै कम्पनीले कर्जा असुल गर्छन् । 
http://www.karobardaily.com/news/74202

No comments:

Post a Comment