धरानमा फस्टाउँदो शेयर बजार
दैनिक रू. ३५ लाखको शेयर किनबेच
२०७१-०१-१
मा प्रकाशित
मुना कुँवर
चैत ३०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले काठमाडौंबाहिरका शहरमा पनि शेयर बजार विस्तार गर्ने उद्देश्यले प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न थालेपछि धरानमा पनि शेयर व्यापार बढ्न थालेको छ । गत मङ्सिरदेखि औपचारिक रूपमा ब्रोकर कम्पनी सञ्चालनमा आएपछि धरानमा दैनिक औसत रू. ३५ लाखसम्मको व्यापार हुने गरेको एबीसी सेक्युरिटिजका धरान वर्क स्टेशन म्यानेजर योगेशकुमार अग्रवालले बताए । उनका अनुसार यसअघि धरानमा अनौपचारिक रूपमा शेयर खरीदविक्रीको काम हुँदै आएको थियो ।
नेपालको पर्यटकीय शहरमध्ये धरान पनि एक हो । धरान व्यापारिक क्षेत्र नभए तापनि काठमाडौं उपत्यका पछाडि धरानमा सबैभन्दा बढी लगानीकर्ता रहेको वर्क स्टेशन म्यानेजर अग्रवालको दाबी छ । बजार बढेपछि धरानका लगानीकर्ता पनि उत्साहित भएका छन् । उनले भने, ‘एउटा मात्रै ब्रोकर कम्पनीबाट पनि दैनिक औसत रू. ३० देखि ३५ लाखसम्मको कारोबार हुँदै आएको छ ।’ काउण्टर सञ्चालनमा आएको पहिलो दिनमा नै रू. १ करोड ३९ लाखको व्यापार भएको उनले बताए । उनले भने, ‘अधिकतम ९१ लाखदेखि न्यूनतम रू. ३० लाखसम्मको व्यापार हुन्छ ।’
सूचना तथा सञ्चारको विकासले धरानका लगानीकर्तामा पनि वित्तीय साक्षरता बढ्दै गएको अग्रवालले बताए । तर, हस्ताक्षर प्रमाणीकरणका कारण लगानीकर्ताले विभिन्न समस्या भोग्नु परेको उनको भनाइ छ । ‘दैनिक प्रमाणीकरण तथा लाभांशको समस्या लिएर आउनेको भीड लाग्छ,’ उनले भने, ‘मैले सक्ने जतिलाई सहयोग गर्दै आएको छु ।’ तर, यसका लागि नेपाल धितो बोर्डले नै कुनै विकल्पको खोजी गर्नुपर्ने उनले बताए । बजार विस्तार गर्नुभन्दा पनि लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउनु बोर्डको प्राथमिकताको काम रहेको उनले सुझाव दिए । हस्ताक्षर प्रमाणीकरण तथा लाभांशको समस्या जटिल बन्दै गए पनि सम्बन्धित निकायले यसमा ध्यान नदिएको लगानीकर्ता बस्नेतले आरोप लगाए । ‘धरानमा शाखा कार्यालय भएका कम्पनीले पनि सेवा दिँदैन,’ उनले आक्रोश पोखे, ‘प्रतिफल नै नपाउने हो भने लगानी किन गर्नु ?’ लामो समयसम्म यस्ता समस्याहरू भोग्नु पर्दा स्थानीय लगानीकर्ता निराश बनेको उनले बताए । उनका अनुसार यसका अतिरिक्त समयमा नै सूचनाको पहुँच नहुँदा पनि कारोबार प्रभावित हुने गरेको छ ।
No comments:
Post a Comment