मुना कुँवर
असार ८, काठमाडौं । पाल्पाकी जानुका श्रेष्ठ स्टाफ नर्स हुन् । उनी
अहिले काठमाडौंमै कार्यरत छिन् । दिन–रात गरी आम्दानी गरेको रकम उनी उचित
क्षेत्रमा लगानी गर्न चाहन्थिन् । त्यसैले उनले शेयर बजारमा लगानी गर्ने
योजना बनाइन् । तर, शेयर खरीद गर्ने विषयमा उनलाई जानकारी भने थिएन ।
यसैबीच, एकजना पुराना लगानीकर्तासँग उनको भेट भयो । आफूलाई केही जानकारी
नभएकाले उनी तिनै लगानीकर्ताको पछि लागिन् । उनको सल्लाहअनुसार उनले एउटा
विकास बैङ्कमा रू. १ लाख ५० हजार लगानी गरिन् । तर, उनले खरीद गरेको केही
दिनमा नै सो बैङ्कको शेयरमूल्य आधा घट्यो । उनी छाँगाबाट खसेजस्तै भइन् ।
राम्रो मुनाफा कमाउने उनको सपना चकनाचुर भयो । त्यसैले उनले ती
लगानीकर्तालाई पुनः सम्पर्क गर्न खोजिन् । तर, अहिलेसम्म सम्पर्क हुन
नसकेको उनले बताइन् । आफूलाई लगानीबारे थाहा नहुँदा आफ्नो रकम फसेको उनले
बताइन् । ‘पुराना लगानीकर्तालाई त राम्रो जानकारी होला भनेर विश्वास गरेँ,’
उनले भनिन् ‘तर, उनले मलाई फसाएका रहेछन् ।’ उनले भनिन्, ‘त्यो बैङ्कको
शेयर घट्ने उनलाई पहिले नै अनुमान रहेछ, त्यसैले शेयर खरीद नगर्ने बेलासम्म
उनले मेरो पीछा छोडेनन् ।’ उनले शेयरमूल्य घट्ने अवस्था देखेर आफनै शेयर
मलाई भिडाएका रहेछन् । अहिले उनलाई ठूलो पछुतो लागेको छ ।
काठमाडौंका
सचिन बस्नेत पनि जानुकाकै अवस्थाबाट गुज्रेका छन् । बस्नेत साधारण
व्यापारी हुन् । उनलाई शेयर खरीदसम्बन्धी केही जानकारी थिएन् । तर, उनका एक
आफन्तले उनलाई शेयरमा लगानी गर्न उत्साहित गरे । त्यतिबेला एउटा विकास
बैङ्कको प्राथमिक शेयर आवेदन खुला गरिएको थियो । बस्नेतले आईपीओमा लगानी
गर्न उनका आफन्तलाई रू. १ लाख १० हजार दिए । करीब २ महीनापछि शेयर बाँडफाँट
भयो । तर, उनको भागमा कति पर्यो भन्ने पनि उनलाई थाहा भएन । उनकै आफन्तले
उनलाई ५० कित्ता शेयर परेको बताए । बस्नेतले यसलाई पनि स्वीकार गरे,
किनभने उनका आफन्तप्रति उनलाई पूर्ण विश्वास थियो । केही समयपछि उनले
शेयरको प्रमाणपत्र मागे । तर, उनका आफन्तले शेयरको प्रमाणपत्र हरायो भन्ने
जवाफ दिएको उनले बताए । ‘पहिला त केही समय पर्खनुहोस् म खोजेर ल्याइदिन्छु
भने,’ उनले भने, ‘तर, पछि शेयर फारम भरेको रसिद नै हराएछ भन्न थाले ।
त्यसपछि आफूले उक्त विषयमा चासो नै दिन छाडेको उनले बताए ।’ रू. १ लाख १०
हजार आईपीओमा लगानी गरेका बस्नेतलाई २ महीनापछि हातमा लाग्यो शून्य ।
बस्नेत र श्रेष्ठ प्रतिनिधि पात्रमात्रै हुन् । शेयर बजारमा लगानी
गर्नेबारे जानकारी नहुँदा धेरै साधारण लगानीकर्ता फसेका छन् । उनीहरूले
आफ्नो लगानी डुबाएका छन् । शेयर बजारमा लगानी गर्न चाहने व्यक्तिमा
लगानीसम्बन्धी जानकारी नहुँदा यस्ता खालका घटना हुने गरेकोे विश्लेषकहरू
बताउँछन् । नयाँ लगानीकर्तामा जानकारी नहुँदा ठूला तथा पुराना लगानीकर्ता
भनिएका केही व्यक्तिहरूले यसको प्रत्यक्ष फाइदा लिने गरेको उनीहरूको भनाइ
छ । आफ्नो लगानी डुब्ने अवस्था देख्नेबित्तिकै यस्ता लगानीकर्ता धन भएका,
तर लगानीसम्बन्धी जानकारी नभएका व्यक्तिको खोजीमा लाग्ने गरेको एक
विश्लेषकले बताए । प्रलोभनमा परेर फसेका साधारण लगानीकर्ताको सङ्ख्या
बजारमा धेरै रहेको समेत उनले बताए । उनले भने, ‘यस्ता लगानीकर्ता पहिलोपटक
डुबेपछि पुनः बजारमा फर्कंदैनन् ।’ किनभने, बजारप्रति उनीहरूको नकारात्मक
धारणा बनिसकेको हुन्छ ।
नयाँ लगानीकर्ताले पुराना लगानीकर्तालाई
छिट्टै विश्वास गर्छन् । उनीहरू ब्रोकर कम्पनीभन्दा पनि तिनै लगानीकर्ताको
पछाडि दौडने गरेको एक ब्रोकरले बताए । पछि तिनै लगानीकर्ताबाट नै ठगिनेसमेत
गरेको उनको भनाइ छ । यस्ता लगानीकर्ताले एउटा समूह नै निर्माण गरेका
हुन्छन् । नयाँ लगानीकर्ता भेटिनेब्त्तििकै बजारसम्बन्धी काउन्सिलिङ गर्ने
गरेको एक पीडितले बताए । ‘कुनै नयाँ लगानीकर्ताले लगानीसम्बन्धी सुझाव
माग्यो भने, पैसा दिनुस म राम्रो ठाउँमा लगानी गरिदिन्छु भन्छन्,’ उनले भने
। त्यसैले, कुनै एउटा लगानीकर्ताको मात्रै नभएर सबैको सल्लाहसुझाव
लिएरमात्रै लगानी गर्नुपर्ने विज्ञहरूको भनाइ छ । लगानी गर्नुपूर्व विभिन्न
पत्रपत्रिका, इण्टरनेट तथा विज्ञहरूको सल्लाह लिनुपर्ने उनीहरूले बताए ।
No comments:
Post a Comment