विकास बैङ्कतर्फ लगानीकर्ता आकर्षित
२०७०-१०-१५
मा प्रकाशित
२३६
पटक पढिएको
० बिचार / प्रतिक्रिया
माघ १४, काठमाडौं । पछिल्लो समयमा शेयर बजारमा विकास बैङ्कतर्फ
लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । अन्य कम्पनीको तुलनामा विकास बैङ्कको
शेयरमूल्य केही कम हुनुका साथै प्रतिफल राम्रो भएका कारण लगानीकर्ताको
आकर्षण बढ्न थालेको ब्रोकरहरू बताउँछन् । केही महीनाअघि बीमा र बैङ्किङ
समूहको शेयरमा लगानी बढे पनि पछिल्लो समयमा त्यस्तो लगानी विकास बैङ्कको
शेयरमा स्थानान्तरण भएको उनीहरूले बताए । ‘माग अत्यधिक भएकाले बीमा र
बैङ्किङ समूहको शेयरमूल्य उच्च विन्दुमा पुगेपछि लगानीकर्ताले अन्य
विकल्पका रूपमा विकास बैङ्क रोजेको देखिन्छ,’ एक ब्रोकर सञ्चालकले भने ।
बजारको प्रकृतिअनुसार पनि निश्चित अवधि पछाडि लगानीकर्ताले लगानीको क्षेत्र
परिवर्तन गर्ने शेयर विश्लेषकहरू बताउँछन् ।
केही सातायता विकास
बैङ्क समूहको परिसूचक तुलनात्मक रुपमा तीव्र बढेको देखिएको छ । गत साता ४
सय ८० दशमलव ९६ विन्दुमा रोकिएको उक्त समूहगत परिसूचक मङ्गलवारसम्म ४ सय ८३
दशमलव ५४ अङ्कमा पुगेको छ ।
अधिकांश वाणिज्य बैङ्कको शेयरमूल्य
बढ्दै जाँदा विकास बैङ्कतर्फ लगानीकर्ताको ध्यान खिचिएको कोहिनूर
सेक्युरिटिजका सञ्चालक भरत रानाभाट बताउँछन् । ‘ठूला कम्पनीका धेरै मूल्यका
शेयरमा लगानी गर्नुभन्दा कम मूल्यका शेयरमा लगानी गर्नु उपयुक्त हुन्छ,’
उनले भने । त्यसैले पनि लगानीकर्ता विकास बैङ्कतर्फ आकर्षित भएको उनले बताए
। प्रतिफल राम्रो दिने थोरै मूल्यका शेयरमा लगानीकर्ताको धेरै आकर्षण
देखिएको उनले जानकारी दिए ।
यतिबेला शेयर बजारमा विकास बैङ्कमा
लगानीकर्ताको आकर्षण बढेको धितोपत्र लगानीकर्ता सङ्घका उपाध्यक्ष रमेश
निरौलाले बताए । उनका अनुसार अहिले विकास बैङ्कमा लगानी तुलनात्मक रूपमा
सुरक्षित छ । ‘२० देखि ४० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता भएका
केही विकास बैङ्कको शेयरमूल्य अझै पनि रू. ३ सयभन्दा तल नै छ,’ उनले भने ।
उनका अनुसार अहिले पनि अधिकांश विकास बैङ्कको शेयरमूल्य ‘अण्डरभ्यालुड’ छ ।
http://www.abhiyan.com.np/new/Articles/view/37527
No comments:
Post a Comment