Thursday, July 31, 2014

विदेशी साझेदारीका बैङ्क : ‘डिभिडेण्ड पे आउट’ उच्च

२०७१-०४-१५ मा प्रकाशित    
मुना कुँवर
साउन १४, काठमाडौं । विगत ३ वर्षको अवधिमा विदेशी साझेदारीमा सञ्चालित वाणिज्य बैङ्कहरूले सबैभन्दा धेरै प्रतिफल वितरण (डिभिडेण्ड पे आउट) गरेका छन् । यस्ता बैङ्कहरूले सो अवधिमा चुक्तापूँजीको शतप्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिसकेका छन् । विदेशी साझेदारीमा सञ्चालित बैङ्कहरू सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएकाले उच्च प्रतिफल वितरण गर्दै आएको नेपाल ब्रोकर एशोसिएशनका अध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । उनले भने, ‘प्रतिफल धेरै दिने भएकाले यस्ता बैङ्कहरूप्रति दोस्रो बजारमा लगानीकर्ताहरूको आकर्षण पनि बढी छ ।’


नेपालमा हाल ३० ओटा बाणिज्य बैङ्क सञ्चालित छन् । त्यसमध्ये सबैभन्दा धेरै प्रतिफल वितरण गर्ने उत्कृष्ट चार बैङ्कमा विदेशी साझेदारीका बैङ्क नै परेका छन् । ‘यस्तो बैङ्कहरूको कार्य क्षेत्र ठूलो छ,’ सिजापतिले भने, ‘बैङ्कहरूले कार्यकुशलता तथा संस्थागत सुशासनमा उत्तिकै जोड दिएका छन् ।’ त्यसैले यस्ता बैङ्कमा आम नागरिकको विश्वास पनि बढी छ ।

तीन वर्षको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले १ सय ६० प्रतिशत प्रतिफल वितरण गरिसकेको छ । यो वाणिज्य बैङ्कहरूले दिएको प्रतिफलमध्ये सबैभन्दा धेरै हो । त्यसैगरी नबिल बैङ्कले सो अवधिमा १ सय ५५ प्रतिशत प्रतिफल वितरण गरेको छ । बैङ्कले पछिल्लो ३ वर्षमा क्रमशः ३०, ६० र ६५ प्रतिशत प्रतिफल वितरण गरेको छ । एभरेष्ट बैङ्कले सो अवधिमा १ सय ५२ प्रतिशत प्रतिफल वितरण गरेको छ । बैङ्कले पछिल्ला तीन वर्षमा क्रमशः ६० दशमलव ५३, ३० तथा ६० दशमलव ५३ प्रतिशत प्रतिफल वितरण गरेको छ । धेरै प्रतिफल दिने वाणिज्य बैङ्कहरूमध्ये एभरेष्ट बैङ्क तेस्रोमा परेको छ । अन्तरराष्ट्रिय साझेदारीका बैङ्कहरू नगद लाभांशतर्पm बढी केन्द्रित हुने गरेको इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए ।

कम्पनीले आर्जन गरेको नाफाबाट आप्mना शेयरधनीहरूलाई दिने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनस शेयर वा स्टक डिभिडेण्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरूलाई थप शेयर प्रदान गरेर चुक्ता पूँजी वृद्धि गरिन्छ । लाभांशको परिमाण भने सञ्चालक समितिद्वारा निर्णय गरिन्छ । यसको लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिनुपर्छ भने कम्पनीको साधारणसभाले पारित गर्नुपर्छ । अन्तरराष्ट्रिय बजारमा बोनस शेयरभन्दा नगद लाभांशलाई बढी प्राथमिकता दिइने गरे पनि नेपालमा भने बोनस शेयरलाई जोड दिने गरेको जानकारहरूको भनाइ छ । ‘बोनस शेयर दिने बैङ्क भन्नेबित्तिकै लगानीकर्ताले चासो देखाई हाल्छन्’ एक विश्लेषकले भने, ‘तर, नगद लाभांश भन्नेबित्तिकै नाक खुम्चाउँछन् ।’ झट्ट हेर्दा लगानीकर्ताको लागी बोनस शेयर बढी लाभदायक देखिए तापनि भविष्यका लागि भने नगद लाभांश नै नाफामुखी हुने उनले बताए । ‘बोनस शेयर दिने बैङ्कको चुक्ता पूँजी बढ्दै जाँदा कालान्तरमा प्रतिशेयर नाफा पनि घट्दै जान्छ,’ उनले भने ।

बोनस शेयर वितरण गर्नेमा नेपाल इन्भेष्टमेण्ट बैङ्क सबैभन्दा अगाडि छ । ३ वर्षको अवधिमा सो बैङ्कले ६० प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । त्यसैगरी दोस्रोमा एभरेष्ट बैङ्क परेको छ । उक्त बैङ्कले सो अवधिमा ५० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले तोकेअनुसार चुक्ता पूँजी पुर्‍याउन बैङ्कले यस वर्ष पनि राम्रो बोनस शेयर वितरण गर्ने लगानीकर्ताले अनुमान गरेका छन् । नबिल बैङ्कले भने ४५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । गतवर्ष भने कुमारी तथा ग्लोबल आईएमई बैङ्कले पनि १५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए । तर, नगद लाभांश दिने बैङ्कहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नै सबैभन्दा अगाडि छ । सो बैङ्कले विगत ३ वर्षमा १ सय ३५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । त्यसैगरी नबिल बैङ्कले १ सय १० प्रतिशत नगद लाभांश वितरण गरेको छ भने एभरेष्टले १ सय २ प्रतिशत दिएको छ ।

No comments:

Post a Comment