Sunday, August 17, 2014

बीटीले धानेको दोस्रो बजार

२०७१-०५-१ मा प्रकाशित    
मुना कुँवर
 
७५ प्रतिशतभन्दा धेरै शेयर कारोबार बीटीमार्फत

नेपालको शेयर बजार खाली हस्तान्तरण (ब्ल्याङ्क ट्रान्सफर–बीटी)मा अडेको देखिएको छ । नेपाली शेयरको दोस्रो बजार (नेप्से)मा किनबेच हुने ७५ प्रतिशतभन्दा धेरै शेयर बीटीमार्फत हुने भएपछि विज्ञहरूले यस्तो बताएका हुन् । अन्य देशका दोस्रो बजारमा भने अटोमेशनका कारण चाडै शेयर नामसारी हुन्छ  र बीटी कारोबार धेरै हुँदैन । नेप्सेको कारोबार प्रणालीमार्फत शेयर खरीदविक्री गरेपछि स्थायी रूपमा नामसारी गरेर स्वामित्व हस्तान्तरण प्रक्रिया लामो र झन्झटिलो हुने भएपछि लगानीकर्ता तथा ब्रोकर कम्पनीहरू बीटीबाट व्यापार गर्न बढी रुचाउँछन् । त्यसैगरी, बजारको उतारचढावलाई उपयोग गरी छिटोछिटो शेयर खरीदविक्री गरेर नाफा कमाउन चाहने लगानीकर्ताका कारण पनि बीटीको कारोबार बढ्दै गएको हो ।


नेपाल स्टक एक्सचेञ्जको पछिल्लो व्यवस्थाअनुसार शेयर खरीदविक्री गरेको ३ व्यापार दिन (टी प्लस थ्री)मा राफसाफ गर्नुपर्ने प्रावधान छ । त्यसमा शेयर विक्री गर्ने ब्रोकर कम्पनीले व्यापारको २ दिनमा शेयर प्रमाणपत्र हस्तान्तरण र खरीद गर्ने ब्रोकर कम्पनीले खरीद गरेको ३ दिनमा रकम भुक्तानी गरेर राफसाफको प्रक्रिया पूरा गर्नुपर्छ । यसको अर्थ, सो अवधिमा शेयर विक्री गर्ने कम्पनीले शेयरको प्रमाणपत्र तथा शेयर खरीद गर्ने ब्रोकर कम्पनीले खरीद रकम तथा कमिशन नेप्सेमा बुझाउनुपर्छ । यो प्रक्रिया पूरा भएपछि राफसाफ भएको मानिन्छ । शेयर राफसाफ गरेपछि खरीद गरिएको शेयर लगानीकर्ताले आप्mनोमा नामसारी गर्नुपर्छ । शेयर नामसारी दुई प्रकारले गरिन्छ । विक्रेताको नामबाट शेयर प्रमाणपत्र खरीदकर्ताको नाममा सारिनुलाई स्थायी नामसारी भनिन्छ । तर, शेयर प्रमाणपत्रमा नाम परिवर्तन नगरीकन पुनः शेयर खरीदविक्री गरिनुलाई अस्थायी नामसारी (बीटी) भनिन्छ ।

लगानीकर्ताको इच्छाअनुसार शेयर स्वामित्व हस्तान्तरण अस्थायी वा स्थायी हुनु स्वाभाविक हो । तर, अस्थायी नामसारी भएको अवस्थामा कम्पनीले वितरण गरेको नगद लाभांश तथा हकप्रद शेयर लिने क्रममा समस्या आउन सक्छ । त्यसैगरी यस्तो खालको शेयरमा बैङ्क तथा वित्तीय संस्थाले ऋण पनि दिँदैनन् । यद्यपि, बजारमा ७५ प्रतिशतभन्दा बढी व्यापार बीटीमा नै हुने गरेको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले अभियानलाई बताए । अधिकांश ब्रोकर कम्पनीले बीटीमा नै काम गर्न सल्लाह दिने गरेको लगानीकर्ताहरू बताउँछन् । ‘स्याथी नामसारी गर्दा ब्रोकर कम्पनीको अतिरिक्त खर्च हुन्छ,’ एक लगानीकर्ताले भने ‘त्यसैले पनि ब्रोकर कम्पनीले बीटीमै काम गर्न प्रेरित गर्छन् ।’

कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ताले स्थायी नामसारी गर्न पठाएको १५ दिनभित्र नामसारी गरिसक्नुपर्ने व्यवस्था छ । तर, व्यावहारिक रूपमा नामसारी गर्न ४ महीनासम्म लाग्ने गरेकोे शेयर लगानीकर्ता राम श्रेष्ठले बताए । सो अवधिसम्ममा शेयरमूल्य घटबढ भइसक्ने र लगानीकर्ता घाटामा जाने गरेको उनको भनाइ छ । त्यसैले, लगानीकर्ता समेत बीटीमै काम गर्न चाहने उनले बताए । ‘मेरै ६० लाख रुपैयाँको शेयर बीटीमा छ,’ उनले भने, ‘नयाँ लगानीकर्ता भने स्थायी ट्रान्सफर नै गर्न चाहन्छन् ।’ नयाँ लगानीकर्ताले ब्रोकर कम्पनीमा नामसारीका लागि झगडा नै गर्ने गरेको उनको भनाइ छ । तर, शेयर खरीद गर्दा समयमै भुक्तानी गरे पनि शेयर विक्री गर्दा भने समयमा भुक्तानी नपाइने उनले बताए । ‘मैले शेयर विक्री गरेको २ हप्ता भइसक्यो,’ श्रेष्ठले भने, ‘तर, अहिलेसम्म रकम पाएको छैन ।’ ब्रोकर कम्पनीले नेप्सेको विभिन्न बहाना बनाएर भुक्तानी ढिलो गर्ने गरेको उनले बताए ।

स्थायी ट्रान्सफरको प्रक्रिया लामो हुने भएकाले नै बीटीमा काम गर्नुपरेको बताउँछन् कोहिनूर सेक्युरिटिजका सञ्चालक भरत रानाभाट । उनले भने, ‘बजारमा अधिकांश व्यापार बीटीमा नै हुन्छ ।’ बीटीमा व्यापार नहुने हो भने बजारको टर्नओभर ५० प्रतिशतभन्दा बढी घट्छ । स्थायी ट्रान्सफर गर्दा कम्तीमा १ देखि डेढ महीना लाग्छ । ‘त्यति बेलासम्म शेयरमूल्य तलमाथि भइसक्छ,’ उनले भने, ‘लगानीकर्ताले कमाउने अवसरमा गुमाउन सक्छन् ।’ त्यसैले, अधिकांश ब्रोकर कम्पनीले बूक क्लोजको समयमा नै स्थायी ट्रान्सफर गराउँछन् । अन्यथा, बीटीबाटैै काम हुन्छ । तर, बजारमा भनिएजस्तो ब्रोकर आफैले भने लगानी नगरेको उनले बताए । ‘टी प्लस थ्री’मा राफसाफ गर्नुपर्ने प्रक्रियालाई सीडीएस एण्ड क्लियरिङले नै कडाइका साथ कार्यान्वयन गर्न नसकेको उनले आरोप लगाए । ‘समयमै राफसाफ प्रक्रिया पूरा नगर्नेलाई सीडीएसले कारबाही गर्नुपर्छ,’ उनले भने, ‘नियामक निकायले नै अधिकारको प्रयोग गरी दण्डित गर्दैन भने अरूले नियम मिच्ने मौका त पाइहाल्छन् नि ।’ राफसाफको काम एउटा ब्रोकर कम्पनीले मात्रै पूरा गरेर नहुने भन्दै उक्त प्रक्रियामा सहभागी सबै निकायले समयमै काम गर्नुपर्ने उनले बताए । ‘नियामक निकायले नै कर्मचारी अभाव भयो भनेर काम रोक्न मिल्दैन,’ उनले भने, ‘सबै पक्षले समयमै सुचारु रूपले काम गर्नुपर्छ ।’

No comments:

Post a Comment