Monday, May 11, 2015

निर्जीवन बीमा कम्पनीमा ७ हजार २ सय ९१ दाबी

मुना कुँवर

वैशाख २७, काठमाडौं । भूकम्पबाट क्षति भएको भन्दै आइतवारसम्ममा १५ ओटा निर्जीवन कम्पनीमा ७ हजार २ सय ९१ र जीवन बीमा कम्पनीमा ७२ ओटा दाबी परेको छ । बीमा समितिले दिएको तथ्याङ्कअनुसार प्रारम्भिक चरणमा कम्पनीहरूमा उक्त सङ्ख्याको दाबी परेको हो । बीमक कम्पनीहरूबाट बास्तविक तथ्याङ्क आउन बाँकी रहेकाले यकिन क्षति सङ्ख्या धेरै हुनसक्ने समितिले बताएको छ ।

बीमक कम्पनीहरूमा पछिल्लो दिनमा ठूला आयोजनाहरूको दाबी आउने क्रम घट्न थालेको समितिले जानकारी दिएको छ । यसैबीच, समितिले आइतवार निर्जीवन बीमा कम्पनीहरूलाई यही सातादेखि साना रकमका दाबीहरूको भुक्तानी प्रक्रिया थाल्नसमेत मौखिक निर्देशन दिएको छ । ‘ठूला आयोजनाहरूको दाबीको मूल्याङ्कन गर्न समय लाग्ने भए पनि सानाको समस्या नहुनसक्छ, प्रारम्भिक विवरणकै आधारमा यिनीहरूको भुक्तानी दिन सकिने भएकाले यस्तो निर्देशन दिएका हौं,’ समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले बताए ।

हालसम्म १५ बीमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै ८ सय ६८ दाबी परेको छ । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीमा पनि ८ सय ४० दाबी परेको छ भने नेपाल इन्स्योरेन्स कम्पनीमा ८ सय ८ ओटा दाबी परेको छ । दाबी भुक्तानीका लागि क्षतिको मूल्याङ्कन गर्न प्राविधिकहरू घटनास्थलमा खटिएको समितिका निर्देशक श्रीमान कार्कीले बताए । उनले भने, ‘क्षतिको विवरण प्राप्त हुनेबित्तिकै भुक्तानी प्रक्रिया पनि शुरू हुनेछ ।’ त्यस्तै, गत शनिवारसम्ममा जीवन बीमा कम्पनीहरूमा करीब ७२ ओटा दाबी परेको समितिले बताएको छ । सोमध्ये मेट लाइफ इन्स्योरेन्स कम्पनीमा रू. ९० लाखबराबरको २९ ओटा दाबी परेको छ । दाबी परेकोमध्ये कम्पनीले रू. ४४ लाखबराबरको १६ ओटा दाबी भुक्तानीसमेत गरेको निर्देशक कार्कीले बताए । त्यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको एउटा दाबी भुक्तानीसमेत भइसकेको छ ।

भूकम्पलगायतका घटना भएको ७२ घण्टासम्मको अवधिलाई पहिलो घटना ‘फस्र्ट इभेण्ट’ मानिन्छ । यो अवधिमा अग्नि बीमाअन्तर्गत बीमा भएको भवन तथा आयोजनाको क्षति भएमा र त्यसको पुनर्बीमा गरिएको अवस्थामा यसरी पुनर्बीमा गरिएको रकमको तीनगुणा रकम पुनर्बीमा कम्पनीहरूले बेहोर्ने नेपाली कम्पनीहरूले बताउँदै आएका छन् । कम्पनीहरूले अग्नि बीमाको औसतमा ७० प्रतिशत दायित्व पुनर्बीमा कम्पनीमा सारेको बताउँदै आएका छन् ।

No comments:

Post a Comment