मोफसलका शेयरधनीका समस्या
२०७०-१२-३०
मा प्रकाशित
२७७
पटक पढिएको
० बिचार / प्रतिक्रिया
गत
फागुनमा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि प्राथमिक
शेयर खुला गरेको थियो । विराटनगरका मुरारीप्रसाद सुवेदीले बजार बढिरहेका
बेलाको प्राथमिक शेयर छुटाउन चाहेनन् । सुवेदी शेयर बजारका सक्रिय
लगानीकर्ता पनि हुन् । त्यसैले, आवेदनका लागि उनले समयमै रकमको जोहो गरे ।
कम्पनीले आवेदन खुलाएको पहिलो दिन नै आवेदन दिन उनी विराटनगरको जनता
बैङ्कको शाखा कार्यालय पुगे । तर, बैङ्कले उनको आवेदन लिएन । ‘आवेदनका लागि
कम्पनीले तोकेका कार्यालयमध्ये जनता बैङ्क मात्रै विराटनगरमा उपलब्ध
थियो,’ उनले भने, ‘तर, उक्त बैङ्कको पनि बिर्तामोड शाखाले मात्रै आवेदन
लिने प्रावधान रहेछ, त्यसैले विराटनगर शाखाले आवेदन लिन मानेन ।’
विराटनगरबाटै आवेदन दिन धेरै प्रयास गरे पनि उनले बिर्तामोड जानुको विकल्प
भेट्टाएनन् ।
लगानी गरेर प्राप्त हुने प्रतिफलभन्दा खर्च बढी हुने
देखेपछि सुवेदीले बिर्तामोडको विकल्प अपनाउन चाहेनन् । ‘केही नाफा होला
भनेर शेयर खरीद गर्ने हो,’ उनले भने, ‘नाफाभन्दा पनि बिर्तामोडसम्म
पुग्नुको खर्च नै धेरै हुन्छ ।’ बिर्तामोड विराटगरदेखि १ सय २५ किलोमिटरको
दूरीमा छ । ‘बिर्तामोड पुगेर आउन एकजनाका लागि रू. ५ सय खर्च हुन्छ,’ उनले
भने, ‘एकपटक गएरमात्र नहुने, शेयर वितरण भएपछि रकम फिर्ता लिन, शेयर
प्रमाणपत्र लिन पनि जानैपर्यो ।’ रू. १ हजारको शेयर लिन २ हजार खर्च हुने
उनले बताए । त्यसैले, स्थानीय स्तरमा आवेदन भर्ने सुविधा नभएपछि सबै कुरा
हुँदाहुँदै पनि उनले रिडीको प्राथमिक शेयरका लागि आवेदन दिन पाएनन् ।
धरान
लक्ष्मीसडकका नरेन्द्रनाथ बास्तोलाको पीडा पनि सुवेदीको जस्तै छ । गत
पुसमा मेगा बैङ्कले ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उनीसँग मेगा
बैङ्कको १ सय २८ कित्ता शेयर छ । प्रतिफल लिन उनले धरानस्थित मेगा बैङ्कको
कार्यालयमा सम्पर्क गरे । तर, बैङ्कले कुनै प्रतिक्रिया नै दिएन ।
‘बैङ्कले प्रतिफल लिन तपाईं काठमाडौं नै जानुपर्छ भन्छ,’ उनले भने, ‘रू. १
हजार प्रतिफल लिन रू. ५ हजार खर्च हुन्छ ।’ यस्तै कारणले गर्दा मेगाको
मात्रै नभएर अन्य थुप्रै बैङ्कको पनि प्रतिफल लिन नपाएको उनको गुनासो छ ।
बास्तोलासँग २० कम्पनीको शेयर छ । प्रतिफल पाउने आशामा लगानी गरेका
बास्तोला प्रतिफल नै नपाउँदा निराश बनेका छन् ।
शेयर बजारको यस्तो
समस्या सुवेदी र बास्तोलाको मात्रै हैन । उनीहरू त प्रतिनिधि उदाहरण मात्रै
हुन् । उपत्यकाबाहिरका लगानीकर्ताले यस्ता समस्या प्रायः भोगिरहेका छन् ।
अधिकांश कम्पनीले केन्द्रीय कार्यालयबाट मात्रै लाभांश वितरण गर्दै आएका
छन्, जसले गर्दा काठमाडौैंबाहिरका स–साना लगानीकर्ताले मुनाफा पाउन सकेका
छैनन् । ‘काठमाडौंबाहिरका लगानीकर्तामा सूचनाको अभाव छ,’ लगानीकर्ता
बास्तोलाले भने, ‘कतिपय लगानीकर्ताले त हकप्रद शेयर तथा लाभांश वितरण गरेको
जानकारीसमेत पाउँदैनन् ।’
एबीसी सेक्युरिटिजको धरान वर्क स्टेशन
म्यानेजर योगेशकुमार अग्रवाल नियमनकारी निकायले उपत्यकाबाहिरका
लगानीकर्तालाई बेवास्ता गर्दै आएको आरोप लगाउँछन् । ‘यस्ता समस्याका बारेमा
नियमनकारी निकायलाई थाहा नभएको होइन,’ उनले भने, ‘थाहा भएर पनि समाधानतर्फ
ध्यान दिएको छैन ।’ उनका अनुसार केही कम्पनीले विक्री प्रबन्धकको
माध्यमबाट लाभांश वितरण गर्न थालेका छन् । तर, विक्री प्रबन्धक कम्पनीबाट
लाभांश मगाउँदा धेरै समय लाग्ने गरेको उनको अनुभव छ । त्यस्तै, केही
बैङ्कले लगानीकर्तालाई खाता खोल्न लगाई सोही खातामा लाभांश जम्मा गरिदिने
गरेको पनि उनले बताए । तर, यसरी प्रत्येक बैङ्कमा खाता खोल्नुपर्दा
लगानीकर्तालाई आर्थिक भार थपिने उनको भनाइ छ । उनले भने, ‘यदि कुनै
लगानीकर्तासँग २५ ओटा बैङ्कको शेयर छ भने उसले २५ ओटै बैङ्कमा नै खाता
खोल्नुपर्छ, यो प्रक्रियामा आफैमा पनि झन्झटिलो छ ।’
उपत्यकाबाहिरका
लगानीकर्ताले भोग्दै आएका यस्ता समस्या समाधान केन्द्रीय निक्षेप प्रणाली
(सीडीएस)ले मात्रै गर्न सक्ने सिभिल क्यापिटलका कार्यकारी अधिकृत भीष्मराज
चालिसेले बताए । नियमनकारी निकायले उपलब्ध प्रविधिको प्रयोग गरेर लगानीको
प्रक्रिया सहज बनाउन ध्यान दिनुपर्ने उनको भनाइ छ । धितोबोर्डका निर्देशक
निरज गिरी भने यस्तो समस्या समाधानका लागि बोर्डले सम्बन्धित निकायसँग
बारम्बार छलफल गरिरहेको बताउँछन् ।
प्राथमिक शेयरका लागि ५ कार्य
दिनभन्दा बढी अवधिसम्मका लागि आवेदन खाल्ने हो भने सम्बन्धित कम्पनीले
आफ्नो इच्छाअनुसार सङ्कलन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था बोर्डले
गरेको छ । त्यस्तै, ४ दिनसम्मका लागि आवेदन खोल्ने हो भने पाँच विकास
क्षेत्रमा कम्तीमा पनि १० ओटा सङ्कन केन्द्र खोल्नुपर्ने व्यवस्था छ ।
‘हामीले सम्बन्धित कम्पनी वा विक्री प्रबन्धकलाई लगानीकर्ता उपस्थित रहेको
स्थानलाई दृष्टिगत गरी सङ्कलन केन्द्र सञ्चालन गर्न भनेका छौं,’ निर्देशक
गिरीले भने, ‘तर कतिपय कम्पनीले सञ्चालन खर्चलाई ध्यान दिई सङ्कलन केन्द्र
सञ्चालन गर्ने गरेका छन् ।’ त्यसैले पनि कतिपय स्थानमा पहुँच नपुगेको हुन
सक्ने उनले बताए ।
त्यसैले, उपत्यकाबाहिरका लगानीकर्तालाई ड्राफट्बाट
पनि शेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसका लागि बोर्डले
१५ दिनसम्मको अवधिसमेत दिएको उनले बताए । त्यस्तै, लाभांश वितरणका लागि पनि
हामीले सम्बन्धित बैङ्कलाई पनि सहज प्रक्रिया अपनाउन सुझाव दिँदै आएका छौं
। कतिपय बैङ्कले लगानीकर्तालाई सम्बन्धित बैङ्कमै खाता खोल्न लगाएर
प्रतिफल वितरण गर्ने प्रक्रिया शुरू गरिसकेको पनि उनले बताए ।
No comments:
Post a Comment