Thursday, November 7, 2019

यात्रु कम हुँदा उडान रद्द गर्छन् वायुसेवा कम्पनी : दुई महिनामा हजारभन्दा बढी उडान रद्द

मुना कुँवर
पछिल्लो समय जहाज निश्चित समयमा नउडेको तथा अन्तिम समयमा उडान नै रद्द हुने गरेको गुनासो यात्रुहरूले गर्न थालेका छन् । अधिकांशले हतार र आकस्मिक यात्रका लागि हवाई मार्ग रोज्ने गर्छन् । तर, कम्पनीको लापरबाहीले हवाई यात्रा झन् ढिला या रद्द नै हुँदा यात्रुहरू मर्कामा पर्न थालेका छन् । जसले गर्दा निश्चित तालिका बनाएर यात्रा गर्ने विदेशी यात्रुहरू पनि नेपालको हवाई सेवाबाट असन्तुष्ट भएको ट्राभल एजेन्सीहरूले बताएका छन् । 
 कम्पनीकै बादमासीले  डिले हुन्छ उडान
कुनै उडानमा यात्रु संख्या कम भयो भने वायुसेवा कम्पनीले नियतवश नै डिले या रद्द नै गर्ने गरेको पर्यटनविज्ञ डा. लेखनाथ भण्डारीले बताए । ‘यात्रु कम हुँदा कम्पनीलाई नोक्सान हुन्छ । त्यसैले अगाडिको उडान डिले गराएर पछिको उडानमा यात्रु मिसाउने गर्छन् । यसले कम्पनीलाई फाइदा त हुन्छ, तर यात्रुको समय भने बर्बाद हुन्छ,’ उनले भने ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा भने उनको भनाइसँग सहमत छैनन् । ‘यात्रु कम भएकै कारण उडान रद्द गर्ने वा डिले गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘हामी दुईजना मात्र यात्रु भए पनि उडान भर्छौँ ।’ तर, वायुसेवा कम्पनीले एक घन्टाअगावै सम्बन्धित विमानस्थलमा सूचना दिएर उडान रद्द गर्न सक्ने व्यवस्था भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका एक अधिकारीले बताए । उनले भने, ‘यात्रु कम हुँदा घाटा व्यहोरेर उडान भर्न बाध्य गर्न सकिँदैन । त्यसैले यस्तो अवस्थामा वायुसेवा कम्पनीले विमानस्थललाई सूचना दिएर उडान रद्द गर्न सक्छ ।’ 
 चार दशकअघिकै संरचना मुख्य कारण 
  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकास नहुँदा उडान डिले हुने गरेको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । ‘त्रिभुवन विमानस्थलको संरचना चार दशकअघिको हो । यो अवधिमा नेपालमा वायुसेवा कम्पनी, जहाज, यात्रुको संख्या आकाश–जमिनको परिवर्तन भइसक्यो । तर, सोहीअनुसार विमानस्थलको संरचना भने विकास हुन सकेको छैन,’ उनले भने । 
त्रिभुवन विमानस्थल अहिले पनि एउटा रनवेले मात्रै चलेको छ । सोही कारण उडान डिले–रद्द हुने गरेको नागरिक उडड्यन प्राधिकरण उपमहानिर्देशक राजकुमार क्षत्रीले बताए । ‘एउटा मात्रै रनवे हुनु, थोरै पार्किङ हुनु, सबै उडान काठमाडौंकेन्द्रित हुनु, उडान डिले र रद्द हुनुका प्रमुख कारण हुन्,’ उनले भने । विमानस्थल निर्माण हुने क्रममा रहेकाले केही महिनापछि समस्या समाधान हुने उनले जिकिर गरे ।
 एक दशकमा आन्तरिक उडान २५ प्रतिशत र अन्तर्राष्ट्रिय दोब्बरले  बढ्यो
दश वर्षको अवधिमा नेपालमा आन्तरिक उडान संख्या करिब २५ प्रतिशत बढेको छ । त्यस्तै अन्तर्राष्ट्रिय उडान संख्या दोब्बरभन्दा बढी भएको छ । नागरिक उडड्यन प्राधिकरणको तथ्यांकअनुसार सन् २००९ मा ७६ हजार १९१ आन्तरिक उडान भएका थिए । सन् २०१८ मा ९५ हजार ५८० उडान भएको तथ्यांक छ । त्यस्तै, २००९ मा नेपालमा १५ हजार ७०१ अन्तर्राष्ट्रिय उडान भएका थिए भने सन् २०१८ सम्म आइपुग्दा उडान संख्या बढेर ३३ हजार ९३३ पुगेको छ । त्यस्तै, हवाई यात्रा गर्ने यात्रुको संख्या पनि उत्तिकै बढेको छ ।
१० वर्षको अवधिमा यात्रु संख्या दोब्बरभन्दा धेरैले बढेको छ । सन् २००९ मा आन्तरिक हवाई यात्रु संख्या १३ लाख ७७ हजार ८ सय ६८ थियो भने सन् २०१८ मा यात्रु संख्या २८ लाख ४७ हजार पुुगेको छ । त्यस्तै, सन् २००९ मा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्नेको संख्या २० लाख २७ हजार १ सय ४७ थिए भने सन् २०१८ मा आइपुग्दा यात्रु संख्या ४३ लाख ४२ हजार ४ सय ८६ पुगेका छन् । 
त्यस्तै सन् १९९८ मा ४ वटा वायुसेवा कम्पनी भएको नेपालमा सन् २०१८ सम्म आइपुग्दा २० वटा कम्पनी सञ्चालनमा रहेको तथ्यांक छ । १४ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपालमा सेवा दिइरहेका छन् । 
यात्रु संख्याकै कारण उडान डिले भएको थाहा छैन 
देवेन्द्र केसी, महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यात्रु कम भएकै कारण उडान डिले हुने वा रद्द हुने विषय हाम्रो जानकारीमा आएको छैन । यस विषयमा मलाई थाहा छैन । उडान डिले हुुनुको कारण केही पनि छैन । मौसमका कारण हुने कुरालाई इन्द्रको बाउ चन्द्रले पनि रोक्न सक्दैन । 
दुईजना यात्रु भए पनि जहाज उडाउँछौँ
योगराज कँडेल शर्मा, प्रवक्ता वायुसेवा सञ्चालक संघ

वायुसेवा कम्पनीले दुईजना यात्रु भए पनि उडान भर्नैपर्छ । यात्रु कम भए भनेर रद्द गर्न वा डिले गर्न मिल्दैन । यो समस्याको विषयमा नियमनकारी निकायले वायुसेवा कम्पनीहरूलाई दोष लगाउँछ । हामी उहाँहरूलाई दोष लगाउँछौँ । तर, समस्या भनेको नेपालमा जसरी दिनप्रतिदिन वायुसेवा कम्पनी र विमान थपिँदै गएका छन्, त्यसैगरी विमानस्थलको पूर्वाधारको विकास हुन सकेको छैन । यतिवेला आन्तरिक र बाह्य पर्यटकको चाप छ । 

No comments:

Post a Comment