Wednesday, November 20, 2019

गौचरणमा परिणत हुँदै विमानस्थल

राज्यको अर्बौँ लगानी भएका विमानस्थल जहाज चल्न छाडेपछि बने गौचरण
मुना कुँवर
यात्रु नै नहुने स्थानमा राजनीतिक स्वार्थमा बनेका १७ विमानस्थल गौचरणमा परिणत भएका छन् । बन्द विमानस्थलमध्ये बझाङ विमानस्थलमा हालसम्म परीक्षण उडानपछि कुनै पनि उडान भएको छैन भने जिरी विमानस्थलमा उडान हुनसक्ने जहाज नै नेपालका कुनै पनि कम्पनीमा छैन । बन्द विमानस्थलमध्ये बाग्लुङको बलेवा, भरतपुरको मेघौली र मनाङ विमानस्थल आंशिक सञ्चालनमा छन् । केही विमानस्थल भने सडक पुगेपछि बन्द भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा रहेका ४९ विमानस्थलमध्ये ३२ वटा सञ्चालनमा छन् । 
गोरखाको पालुङटार विमानस्थलमा चरिरहेका गाई । यहाँ १५ वर्षदेखि व्यावसायिक उडान भएको छैन

बन्द भएका विमानस्थललाई बजेट 
नागरिक उड्डयन प्राधिकरणले भने बन्द रहेका पाँच विमानस्थलको चालू आवमा २९ करोड २८ लाख बजेट विनियोजन गरेको छ । जसमध्ये बैतडी विमानस्थलका लागि ७ करोड २७ लाख, बझाङ विमानस्थलका लागि ६ करोड २१ लाख, डोटी विमानस्थलका लागि १ करोड ८० लाख, मसिनेचौर विमानस्थलका लागि १० करोड रुपैयाँ र बलेवा विमानस्थलका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, विमानस्थलहरूको अध्ययनका लागि सरकारले ९० लाख रुपैयाँ विनियोजन गरेको छ । 
किन भए विमानस्थल बन्द ?
पछिल्लो दशकमा नेपालका ग्रामीण भेगमा समेत सडक पुगेका छन् । सडक निर्माण भएपछि हवाई यातायातको तुलनामा सडकमार्ग सस्तो भयो । त्यसैले यात्रुहरूको पहिलो रोजाइ सडक यातायात हुन थाल्यो । हवाई कम्पनीले यात्रु पाउन छोडेपछि उडान बन्द गर्न बाध्य भएको प्राधिकरणका एक इन्जिनियरले बताए । ग्रामीण क्षेत्रका विमानस्थलमा साना जहाजहरूजस्तै ट्विनअटर र पिलाटस पोटरले मात्रै उडान भर्न सक्छन् । तर, अहिले यस्ता जहाज कम्पनीहरूले सञ्चालन गर्न कम गरिसकेका छन् । यही कारण पनि उडान बन्द हुँदै गएको हो । 
भाषणका भरमा विमानस्थल
नेपालमा हालसम्म सञ्चालन भएका अधिकांश विमानस्थलको अध्ययन नभएको प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार विमानस्थल नेताहरूको दबाबमा निर्माण हुन्छन् । ‘चुनाव जितेपछि काम देखाउन जहाँ पायो त्यहीँ विमानस्थल खोलिन्छन्,’ उनले भने । 
परीक्षण उडानमै सीमित विमानस्थल  
०३३ सालमा निर्माण भएको बझाङ विमानस्थलमा हालसम्म एउटा पनि व्यावसायिक उडान भएको छैन । परीक्षण उडानमै यो विमानस्थल सीमित भएको छ । त्यस्तै, जिरी विमानस्थल बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । यो विमानस्थलमा ८ सिट क्षमता भएको सिग्नल इन्जिनवाला जहाज मात्र उडान भर्न सकिन्छ । अन्य जहाज भने जिरी विमानस्थलमा उडान भर्न सम्भव छैन । 
यी हुन् गौचरणमा परिणत विमानस्थल
बैतडी विमानस्थल 
१ सय ७५ रोपनी क्षेत्रफल रहेको बैतडी विमानस्थल ०३४ फागुन १६ देखि सञ्चालनमा आएको थियो । तर, बन्द भएको १५ वर्ष भइसकेको छ । विमानस्थलको रनवे ५ सय ९० मिटर लम्बाइ २० मिटर चौडाइ छ । विमानस्थलमा भएको कन्ट्रोल टावर र टर्मिनल भवन द्वन्द्वकालमा भत्काइयो । त्यसपछि पुनर्निर्माण भने भएको छैन ।
  
बझाङ विमानस्थल 
१ सय ३० रोपनी क्षेत्रफलको यो विमानस्थल ०३३ कात्तिकदेखि सञ्चालनमा आएका थियो । रनवे ६ सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यहाँ टेस्ट फ्लाइट मात्रै भयो । तर, चालू आवमा पिच बनाउन ३ करोड ३३ लाख विनियोजन गरिएको छ । विमानस्थलमा टावर र टर्मिनलको भए पनि प्रयोगविहीन छ । यो विमानस्थल बन्द भएको पाँच वर्ष भइसकेको छ ।  
दार्चुला विमानस्थल 
दार्चुला विमानस्थल ०४२ माघ १३ देखि सञ्चालनमा आएको थियो । ८९ रोपनी क्षेत्रफल रहेको विमानस्थलको रनवे ५ सय ९० मिटर लम्बाइ र ३० मिटर चौडाइको छ । अहिले यो विमानस्थलको रनवेअगाडि नै पुल निर्माण गरिएको छ । सोहीकारण विमानस्थल पुनः सञ्चालन गर्न सक्ने–नसक्ने भन्ने विषयमा प्राधिकरण अन्योलमा छ । १० वर्षदेखि बन्द रहेको विमानस्थल सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।   
ढोरपाटन विमानस्थल 
ढोरपाटन विमानस्थल ०३० असोज ८ गते सञ्चालनमा आएको थियो । २ सय १५ रोपनीमा फैलिएको विमानस्थलको रनवे ३ सय ६५ मिटर लम्बाइ र ३० मिटर चौडाइको छ । विमानस्थलमा घाँसे मैदानबाहेक अन्य केही संरचना छैन । ढोरपाटन आरक्षण क्षेत्रमा जाने पर्यटकका लागि बनाइएको विमानस्थल १० वर्षदेखि बन्द छ ।   
डोटी विमानस्थल 
डोटी विमानस्थल ०३० असोजदेखि नै सञ्चालनमा आएको विमानस्थल १ सय ४ रोपनीमा फैलिएको छ । ४ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको पिच ५ करोड ८२ लाखमा बनाइएको छ । यो आवमा पनि विमानस्थल बनाउन १ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । तर, १० वर्षदेखि यहाँ कुनै वायुसेवा कम्पनीले उडान भरेका छैनन् । 
जिरी विमानस्थल
०३३ कात्तिकदेखि सञ्चालनमा आएको जिरी विमानस्थल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थलको रनवे ३ सय ६८ मिटर लम्बाइ र १८ चौडाइमा छ । यो विमानस्थलमा पिलाटस पोटर जहाज मात्रै उडान भर्न सक्छन् । तर, नेपालका वायुसेवा कम्पनीले यस्तो खालका जहाज हटाइसकेका छन् । विगत १० वर्षदेखि यो विमानस्थलमा व्यावसायिक उडान 
भएका छैनन् । 
कांग्रेलीडाँडा विमानस्थल
सोलुखुम्बुको कांग्रेडाँडा विमानस्थल ५ वर्षदेखि बन्द छ । ०५९ फागुनदेखि सञ्चालनमा आएको विमानस्थल १ सय ३४ रोपनी क्षेत्रफलमा छ । विमानस्थलको रनवे ५ सय २० मिटर लम्बाइ र २६ मिटर चौडाइ छ । 
लाङटाङ विमानस्थल
रसुवास्थित लाङटाङ विमानस्थल १ सय ६० रोपनीमा फैलिएको छ । रनवे ४ सय २० मिटर लम्बाइ र ३० मिटर चौडाइमा रहेको विमानस्थल नेपालको दोस्रोमा उचाइमा पर्छ । पाँच वर्षदेखि बन्द विमानस्थलमा कुनै संरचना छैन ।  
महेन्द्रनगर विमानस्थल
महेन्द्रनगर विमानस्थल ०३० पुस १५ मा स्थापना भएको हो । ६ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको रनवे ८ सय ८५ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । महेन्द्रनगरनजिक धनगढीमा पनि विमानस्थल छ । जसका कारण यात्रुहरूको चाप कम रहेको प्राधिकरणले बताएको छ । साथै, विमानस्थलनजिक शुक्लाफाँट आरक्षण पर्छ । यो विमानस्थलको रनवे नर्थ साउथ ओरिएट्सन भएका कारण जोखिमपूर्ण रहेको प्राधिकरणले बताएको छ । यो विमानस्थलमा ५ वर्षदेखि व्यावसायिक उडान भरेका छैनन् । 
मसिनेचौर विमानस्थल 
डोल्पाको मसिनेचौर विमानस्थल ०७० पुसमा निर्माण भएको हो । १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको रनवे ६ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । विमानस्थल रनवे पिच गर्न २० करोड रुपैयाँको दुई वर्षअगाडि नै सम्झौता भएको हो । यो आवमा १० करोड रकम विनियोजन गरिएको छ । तर, विमानस्थालमा ५ वर्षदेखि उडान भएको छैन ।  
पालुङटार विमानस्थल
गोरखाको पालुङटार विमानस्थल ०१७ मा निर्माण भएको हो । ४ हजार २ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको रनवे १ हजार ६७ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । यो विमानस्थलमा १५ वर्षदेखि व्यावसायिक उडान भएको छैन । 
रोल्पा विमानस्थल
८३ रोपनी क्षेत्रफलमा रोल्पा विमानस्थल ०३७ मंसिर १ गते निर्माण भएको हो । यसको रनवे ४ सय ५७ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । द्वन्द्वकालमा यो विमानस्थलको प्रयोग गरियो । तर, अहिले यहाँ कुनै भौतिक संरचना छैन । 
स्याङबोचे विमानस्थल 
३ हजार ७ सय ४८ मिटर उचाइमा रहेको स्याङबोचे विमानस्थल सबैभन्दा बढी उचाइमा रहेको छ । १ सय ६ रोपनीमा फैलिएको विमानस्थलमा ४ सय ५ मिटर लम्बाइ र ३० चौडाइको रनवे छ । धेरै उचाइमा भएका कारण यो विमानस्थलमा ठूला विमानले उडान भर्न सक्दैनन् । त्यसैले यहाँ उडान भर्ने जहाजको अभाव छ । 
 
टीकापुर विमानस्थल 
टीकापुर विमानस्थल ०४१ मंसिर १ गते निर्माण भएको हो । विमानस्थल २ सय २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थलको रनवे ५ सय ७३ मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । 

No comments:

Post a Comment