Tuesday, November 26, 2019

तीनवटा जहाजलाई दैनिक एउटै समयमा अवतरण अनुमति

अवतरणको एउटै समय धेरै विमानलाई दिँदा काठमाडौंको आकाशमा जाम मात्रै होइन, दुर्घटनाको जोखिमसमेत बढाएको छ
मुना कुँवर
एउटा मात्रै रनवे भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन, एकै समयमा तीन अन्तर्राष्ट्रिय जहाजलाई अवतरणको अनुमति (स्लट) दिइएको पाइएको छ । एउटै रनवे भएको विमानस्थलमा एकै समयमा एकभन्दा बढी जहाज अवतरण असम्भव छ । तर, त्रिभुवन विमानस्थल प्रशासनले भने एउटै स्लट तीन जहाजलाई दिएर दुर्घटनाको जोखिम बढाएको पाइएको छ । 
त्रिभुवन विमानस्थलका अनुसार भुटानबाट आउने भुटान एयरलाइन्स, मस्कटबाट आउने सलाम एयर र दिल्लीबाट आउने नेपाल एयरलाइन्सको अवतरण समय एउटै दिइएको छ । पारोबाट आउने भुटान एयरलाइन्स (केबी ४००), सलाम एयर (ओभी ४२७) को मस्कटबाट आउने जहाज र दिल्लीबाट आउने नेपाल एयरलाइन्स (आरए २०६) को जहाजलाई दैनिक १२:४० को स्लट दिइएको छ । 

त्यस्तै एयर अरेबियनको सारजहादेखि आउने जहाज (जि९—५३९) र इन्डिगो एयरलाइन्सको दिल्लीबाट आउने जहाज (६ई ०४५) लाई काठमाडौं अवतरणका लागि बिहानको ९:२० को समय दिइएको छ । इतिहाद एयरलाइन्सको अबुधाबीबाट आउने जहाज (इआई २९२) र ढाकाबाट काठमाडौं अवतरण गर्ने हिमालयन एयरलाइन्स (एच ६७९) लाई दिउँसोको १२:१५ को समय दिइएको छ ।  
त्रिभुवन विमानस्थलले अवतरणमा मात्रै नभएर उडानमा पनि एकभन्दा बढी विमानलाई एउटै स्लट दिएको छ । विमानस्थलको स्लट विवरणअनुसार हिमालयन्स एयरलाइन्सको काठमाडौंदेखि दोहा उडान (एच ९—५६३)को स्लट र चाइना साउथन एयरलाइन्सको गोन्जाउ जाने जहाज (सिजेट ३०६७) स्लट एउटै २२:४० को दिइएको छ ।
एउटै स्लटका कारण एयर ट्राफिक जाम बढ्दै
विमानस्थलले धेरै जहाजलाई एउटै स्लट उपलब्ध गराउँदा एयर ट्राफिक जाम बढ्ने हो । एउटै समयमा अवतरण गराउन नमिल्ने हुँदा विमानस्थलले जहाजहरूलाई आकाशमा नै होल्ड गराउँछन् । सोहीकारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रिँदै गएको पर्यटन व्यवसायीहरूको गुनासो छ । आकाशमा होल्ड हुँदा जहाजको इन्धन तथा अन्य सञ्चालन खर्च पनि बढ्दै गएको हुन्छ । त्यसो त सुरक्षाको दृष्टिकोणले पनि धेरै समयसम्म जहाज होल्ड हुनु उपयुक्त होइन ।
कसरी दिइन्छ जहाजलाई स्लट ? 
कुनै पनि एयरलाइन्स कम्पनीले नेपालमा उडान भर्नुअघि पर्यटन मन्त्रालयसँग अनुमति लिनुपर्छ । मन्त्रालयबाट अनुमति पाएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणसँग एओसी लिनुपर्ने व्यवस्था छ । प्राधिकरणबाट एओसीप्राप्त एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्लट प्रदान गर्छ । विमानस्थलको सिफारिसलाई प्राधिकरणले प्रमाणित गरेपछि मात्रै एयरलाइन्सले आधिकारिक रूपमा स्लट प्राप्त गर्छन् । स्लट उपलब्ध गराउन विमानस्थलले छुट्टै कमिटी गठन गरेको छ । कमिटीमा उड्डयन क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको छ । सो कमिटीले विभिन्न सूचकहरूको विश्लेषण गरेपछि जहाजलाई स्लट प्रदान गर्छ । मौसमको दृष्टिकोणले नेपालमा वर्षमा दुईपटक स्लट प्रदान गरिन्छ । नेपालको एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे पनि एउटा मात्रै छ । एउटै रनवेमा एउटै समयमा एकभन्दा बढी जहाज अवरतण वा उडान गर्न सकिँदैन । एउटा जहाज उडान–अवतरण गरेको निश्चित समयपछि मात्रै अर्को जहाजले अवतरण–उडान गर्न सक्छ । तर, विमानस्थलले एकभन्दा बढी जहाजलाई एउटै स्लट प्रदान गरेको छ ।
एउटै स्लट जोखिमपूर्ण 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर पूर्वाधारका कारण पनि बढी एयरलाइन्सलाई एउटै स्लट दिनु जोखिमपूर्ण भएको विज्ञहरू बताउँछन् । विमानस्थलमा ७ वटा न्यारोबडी र २ वटा वाइडबडीका लागि पार्किङ स्पेस छ । एउटा वाइडबडीलाई अवतरण गरेर पुनः उडान भर्न कम्तीमा १ घन्टा २० मिनेट लाग्छ । अवतरण गरेको जहाजको स्टार्ट बन्द हुन मात्रै २० मिनेट लाग्छ । इन्धन भर्न ३५ मिनेट लाग्छ । त्यस्तै, सरसफाइ र क्याटरिङसहितको काममा औसत १ घन्टा २० मिनेट लाग्छ । त्यसैले सो अवधिमा दुईवटाभन्दा बढी वाइडबडीलाई स्लट दिन मिल्दैन । न्यारोबडीलाई भने अवतरणपछि पुनः उडान भर्न ४० मिनेटदेखि १ घन्टासम्म लाग्छ । त्यसैले पार्किङ क्षमताभन्दा बढी जहाजलाई सो अवधिमा स्लट दिनु जोखिमयुक्त भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । 
स्लटका लागि प्रधानमन्त्रीसम्मको फोर्स 
व्यावसायिक दृष्टिकोणले सबै एयरलाइन्स कम्पनीहरूले १० देखि २ बजेसम्मको स्लट चाहन्छन् । सो अवधिमा काठमाडौंको मौसम सफा हुने भएकाले धेरैको रोजाइ यही समय पर्छ । त्यसैले उक्त अवधिका लागि उच्च राजनीतिक तहबाटै दबाब आउने गरेको एक अधिकारीले बताए । व्यावसायिक दृष्टिकोणले पनि दिउँसोको उडानमा धेरै यात्रुको चाप हुन्छ ।  
नेपालले ३९ मुलुकसँग हवाई सम्झौता गरेको छ । अहिले नेपालबाट २६ वटा एयरलाइन्सले ११ मुलुकको २२ गन्तव्यमा उडान भर्छन् । नेपालमा कतार एयरलाइन्सका चारवटा र थाई एयरलाइन्स, कोरिया एयरलाइन्स, टर्किस एयरलाइन्स, चाइना एयरलाइन्स, हङकङ एयरलाइन्स एक–एकवटा वाइडबडीले उडान भर्छन् । नेपाल वायुसेवा निगमसँग दुईवटा वाइडबडी छन् । त्रिभुवन विमानस्थलबाट दैनिक औसत ३ सय १६ वटा आन्तरिक उडान हुन्छन् भने १ सय ७ अन्तर्राष्ट्रिय उडान र अवतरण हुन्छन् । 
विमानस्थलले कमिटी नै गठन गरेर सिफारिस गर्छ, त्यसलाई नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै एयरलाइन्सलाई स्लट दिइन्छ । तर, प्राधिकरणका प्रवक्ता भन्छन्– झुक्किएर एउटै स्लट परेको हुन सक्छ ।
 प्रतापबाबु तिवारी
प्रवक्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

एकभन्दा बढी एयरलाइन्स कम्पनीलाई एउटै स्लट दिन मिल्दैन । आइएफआरका लागि १० मिनेट र भिएफआरका लागि ४ मिनेटको अन्तराल राख्नुपर्छ । यदि एउटै स्लट परेको छ भने झुक्किएर भएको हुन सक्छ । अन्यथा एउटै स्लट दिन मिल्दैन ।
विमानस्थलको सिफारिसलाई सदर गर्छौँ
राजन पोख्रेल, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

स्लटका लागि त्रिभुवन विमानस्थलमा एउटा छुट्टै कमिटी नै निर्माण गरिएको हुन्छ । कमिटीले विभिन्न सूचकहरूको विश्लेषण गरेर स्लट प्रदान गरेको हुन्छ । त्यसैले विमानस्थलले गरेको सिफारिसलाई हामीले प्रमाणित गर्छौँ । यसमा विमानस्थलको जे धारणा छ, हाम्रो पनि त्यही धारणा छ ।
एउटै स्लट धेरै जहाजलाई दिन मिल्दैन, १० मिनेटको फरक आवश्यक
जहाज अवतरण र उडानका लागि एकभन्दा बढी एयरलाइन्सलाई एउटै स्लट दिन नमिल्ने पर्यटनविज्ञहरू बताउँछन् । अझ एउटा मात्रै रनवे भएको विमानस्थलले एउटै स्लट दिन सम्भव नहुने पर्यटनविज्ञ डा. लेखनाथ भण्डारीले बताए । उनले भने, ‘एउटा मात्रै रनवे भएका कारण एकैपटक अवतरण र उडान भर्न सकिँदैन ।’ 
एउटै रनवे भएको विमानस्थलमा न्यूनतम १० मिनेटको अन्तरमा जहाज अवतरण गराउनुपर्ने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार न्यारोबडीलाई अवतरणका लागि १० मिनेट समय दिनुपर्छ भने वाइडीका लागि १५ देखि १७ मिनेटको अन्तर आवश्यक पर्छ । पर्यटनविज्ञहरूको भनाइसँग त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारी पनि सहमत छन् । उनी भन्छन्, ‘आइएफआर जहाज अवतरणका लागि कम्तीमा १० मिनेट र भिएफआर जहाजका लागि ४ मिनेटको अन्तर चाहिन्छ ।’ 

No comments:

Post a Comment