Tuesday, November 13, 2018

शतप्रतिशत बढ्यो कृषि बिमाको अनुदान रकम


मुना कुँवर
चालू आवमा कृषि बिमाका लागि ७० करोड विनियोजन
सरकारको चालू आर्थिक वर्ष ०७५/७६ मा कृषि बिमा अनुदान रकम शतप्रतिशतले बढेको छ । चालू आवमा कृषि बिमाका लागि ७० करोड रुपैयाँ विनियोजन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीले बताए । उनका अनुसार पशुका लागि ४० करोड रुपैयाँ र बालीका लागि ३० करोड रुपैयाँ विनियोजन भएको छ ।
गत आवमा कृषि बिमातर्फ सरकारले ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये कृषि विकासका लागि १० करोड ५० लाख र पशुपन्छी विकासका लागि २५ करोड रकम विनियोजन गरिएको थियो ।
कृषि बिमा कार्यक्रम सञ्चालन गरिएको पहिलो आव ०७०/७१ मा भने सरकारले १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, उक्त वर्ष कृषि बिमाको प्रचार हुन नसक्दा जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको थियो । त्यसैले, दोस्रो वर्ष आव ०७१/७२ मा भने सरकारले जम्मा ६ करोड रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष भने कृषि बिमा व्यापक रूपले बढ्यो । विनियोजित रकम अपुग भएपछि सरकारले ५ करोड रुपैयाँ थप गरेको थियो । त्यस्तै, आव ०७२/७३ का लागि सरकारले १२ करोड विनियोजन गरेको थियो । उक्त वर्ष पनि रकम अपुग भएपछि सरकारले ६ करोड रुपैयाँ थप गरेको हो ।

कृषि बिमाका लागि सरकारले प्रतिवर्ष अनुदान रकम वृद्धि गरे पनि कम्पनीहरूमा वितरण भने हुन सकेको छैन । समितिको तथ्यांकअनुसार गत आवको अन्त्यसम्ममा कम्पनीलाई भुक्तानी गर्न बाँकी अनुदान रकम ३४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । जसमध्ये पशु बिमातर्फको ३२ करोड ५२ लाख र बालीतर्फको १ करोड ९४ लाख रुपैयाँ रहेको छ । यदि पुरानो रकमसहित चालू आवमा माग हुन सक्ने अनुदान रकमलाई जोड्ने हो भने चालू आवमा विनियोजित रकम पनि अपुग हुने समितिले बताएको छ ।
कृषकहरूलाई कृषि बिमातर्फ आकर्षित गर्न सरकारले बिमा शुल्कमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । तर, कृषि बिमासम्बन्धी विस्तृत जानकारी नपाएको भन्दै अर्थ मन्त्रालयले ०७२ सालमा थप रकम निकासा नगरेपछि वितरणमा ढिलाइ हुँदै आएको छ ।
अझै बढेन बाली बिमा
प्रतिवर्ष कृषि बिमा व्यवसाय वृद्धि भए पनि बाली बिमाको हिस्सा भने बढ्न सकेको छैन । समितिको तथ्यांकअनुसार गत आवमा कम्पनीहरूले गरेको कूल कृषि व्यवसायमध्ये बाली बिमाको हिस्सा जम्मा १६ प्रतिशत छ । बालीका लागि बिमा शुल्क र भुक्तानीको मापदण्ड वैज्ञानिक नहुनु र प्राविधिकको अभावका कारण बाली ओझेलमा परेको समितिको ठहर छ ।
कृषि बिमामध्ये कम्पनीहरूले २ अर्ब ४५ करोड रुपैयाँ बराबरको बाली गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरूले १ अर्ब ३३ करोड रुपैयाँ बराबरको बाली बिमा गरेका थिए ।
त्यस्तै, कृषि बिमा व्यवसायमध्ये पशुपन्छी बिमाको हिस्सा भने करिब ८५ प्रतिशत रहेको छ । गत आवमा कम्पनीहरूले ११ अर्ब १६ करोड रुपैयाँ बराबरको कृषि व्यवसाय गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले ७ अर्ब ९० करोड रुपैयाँ बराबरको पशुपन्छी बिमा गरेका थिए ।
४२ प्रतिशतले बढ्यो कृषि बिमा
गत आवमा बाली तथा पशुपन्छी बिमा ४२ प्रतिशतले बढेको छ । निर्जीवन बिमा कम्पनीहरूले गत आवको अन्त्यसम्ममा १३ अर्ब २१ करोड रुपैयाँबराबरको बाली तथा पशुपन्छी बिमा व्यवसाय गरेका छन् । बिमा समितिको तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले ९ अर्ब २४ करोड रुपैयाँबराबरको कृषि बिमा व्यवसाय गरेका थिए ।
http://www.nayapatrikadaily.com/2018/11/12/113351/

No comments:

Post a Comment