Wednesday, November 7, 2018

एउटै बिमालेखले सबैको बिमा


मुना कुँवर
काठमाडौ | कार्तिक २०, २०७५
अबदेखि एउटै बिमालेखले मानिस, चौपाया तथा घरको पनि बिमा गर्न सकिने भएको छ । बिमा समितिले निर्माण गर्न लागेको एकीकृत बिमालेखले सामूहिक बिमा गर्न सकिने भएको हो । समितिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी एकीकृत बिमालेख निर्माण गर्ने तयारी गरेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।
‘समितिले सामान्य नागरिकलाई लक्षित गरी एउटा बिमालेखले सबैको बिमा गर्न सकिने योजना बनाउँने सोच धेरैअघिदेखि बनाएको हो,’ उनले भने, ‘तर, अहिले सुरुवात हामीले बाढीप्रभावित क्षेत्रलाई लक्षित गरेका छौँ । यस्ता क्षेत्रमा रहने मानिस बढी जोखिममा रहने भएकाले यस्तो बिमालेख बनाउने योजना बनाएका हौँ ।’ बिमालेखको नाम अहिलेलाई एकीकृत बिमालेख राखिए पनि यसको निर्णय भने नभएको उनले बताए । साथै बिमांक रकमको अन्तिम निर्णय पनि हुन बाँकी छ । प्रारम्भिक चरणमा रहेको उक्त बिमालेखलाई समितिको सञ्चालक समितिको बैठकले पारित गर्नुपर्नेछ । साथै सरकारको स्वीकृतिपछि मात्रै बिमा कम्पनीहरूले जारी  गर्न पाउनेछन् ।

बिमांक गणना
समितिले प्रारम्भिक चरणमा बिमांक रकम ५ लाख ७५ हजार रुपैयाँ राखेको छ । जसमा परिवारको प्रतिव्यक्ति २ लाख रुपैयाँ राखिएको छ । चौपायाको २ लाख ५० हजार रुपैयाँ र घर÷झुपडीको २५ हजार रुपैयाँ राखिएको छ । फरक–फरक चौपाया भएमा चौपाया तथा त्यसको बिमांक रकम प्रस्ट रूपमा खुलाउनुपर्नेछ । चौपायाको संख्या जेजति भए पनि २ लाख ५० हजारभन्दा बढी बिमांक कायम गर्न पाइनेछैन । बिमांकको शून्य दशमलव ५ प्रतिशत बिमाशुल्क कायम गरिएको छ । बिमालेख प्रारम्भिक चरणमा रहेकाले बिमांक रकम तलमाथि पनि हुन सक्ने समितिले बताएको छ । समितिका अनुसार मस्यौदा छलफल भइरहेको छ । विज्ञहरूको सल्लाहअनुसार बिमांक रकम फेरबदल हुन सक्नेछ ।
बिमालेखले रक्षावरण गर्ने जोखिमहरू
एकीकृत बिमालेखले मानवीय क्षति वा सम्पत्तिको हानिनोक्सानी भएमा बिमांकको सीमाभित्र रही सम्बन्धित पक्षलाई भुक्तानी गर्नेछ । बिमालेखले बाढी, डुबान (जलमग्न), पहिरोबाट हुने जोखिमको मात्रै रक्षावरण गर्नेछ । तर, बिमित वा निजको एकाघर परिवारका सदस्यको लापरबाहीको कारण क्षति भएमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन । त्यस्तै, कानुनी निकायको आदेशमा बिमा गरिएको सम्पत्तिलाई नष्ट गर्नुपर्ने भएमा, बिमा गरिएको सम्पत्तिको चोरी भएमा, बिमितले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण उल्लेख गरेमा पनि कम्पनी भुक्तानीका लागि उत्तरदायी हुने छैन ।
दाबी भुक्तानी प्रक्रिया
बिमालेखअनुसार बिमा अवधिभित्र बाढी र पहिरोका कारणले बिमितको मृत्यु भएमा वा हराएमा कम्पनीले २ लाख रुपैयाँ भुक्तानी गर्नेछ । दाहसंस्कारका लागि १० हजार रुपैयाँ प्रदान गर्नेछ । तर, बिमा दाबी भुक्तानी रकम कुल बिमांक रकमभन्दा बढी हुनेछैन । बिमा अवधिमा कुनै घटना घटेमा बिमकलाई जानकारी दिनुपर्नेछ । साथमा सक्कल बिमालेख, दाबी फारम, वडा कार्यालयको सिफारिस, स्थानीय निकायको सिफारिस र फोटो पनि पेस गर्नुपर्नेछ ।
सामूहिक बिमा गर्न सकिने बिमालेख ल्याउँछौँ
राजुरमण पौडेल
निमित्त कार्यकारी निर्देशक,बिमा समिति
हाम्रो लक्षित वर्ग भनेकै न्यून आय भएका व्यक्ति हुन् । तर, यस्ता व्यक्तिहरूमा बिमा चेतना कम हुन्छ । उनीहरू दैनिक गुजारा गर्दैमा व्यस्त छन् भने सुरक्षाको विषयमा सोच्न भ्याउँदैनन् । तर, थोरै मूल्यको एउटै बिमाले घरमा रहने मानिस र सम्पत्तिको सुरक्षा ग-यो भने यस्ता वर्ग लाभान्वित हुनेछन् ।
त्यसैगरी यस्तो बिमालेखले मानिसलाई सुरक्षा प्रदान गर्छ भने कम्पनीको व्यवसाय पनि बढ्नेछ । किनभने एउटा घरमा धेरै कुराहरू बिमायोग्य हुन्छन् । जस्तै, कुनै मानिसले आफ्नो बिमा गराउन चाहन्छ भने उसको घरमा धेरै बिमायोग्य वस्तु हुन सक्छन् । घर हुन सक्छ, मोटर वा मोटरसाइकल हुन सक्छ, पशु हुन सक्छ ।
यसरी सबैको बिमाका लागि फरक–फरक बिमालेख खरिद गरिरहनुभन्दा एउटा बिमालेखले सबैको रक्षावरण गर्ने हो भने मानिसले सहज महसुस गर्छ । खरिद गर्नेलाई र बिक्री गर्नेलाई पनि सहज हुन्छ । त्यसैले हामी यस्तो खालको बिमालेख ल्याउने तयारी गर्दै छौँ । यसैका लागि हामीले हालै सम्पत्ति बिमा निर्देशिका पनि तयार पारेका छौँ । यसको मस्यौदा सञ्चालक समितिमा पुगेको छ । साथै बाढीप्रभावित क्षेत्रलाई लक्षित गरी एकीकृत बिमालेख निर्माण गर्दै छौँ ।
 http://www.nayapatrikadaily.com/2018/11/06/112123/

No comments:

Post a Comment