Thursday, October 11, 2018

आफ्नै घरको सपना पूरा गर्दै बैंक


मुना कुँवर
काठमाडौं 
अधिकांश मानिसको पहिलो चाहना भनेकै एउटा सुन्दर घर हुने गर्दछ । त्यही चाहना पूरा गर्न मानिस दिनरात मिहिनेत गर्छ । कतिपय मानिस आफ्नो सपनाको घर बनाउन सफल हुन्छन् भने कोही जीवनभर त्यही इच्छा पूरा गर्नकै लागि दौडिरहन्छन् ।
तर, नियमित आम्दानीको स्रोत हुने हो भने अब घर बनाउन पूरै जीवन गुजार्नु पर्दैन । तपार्इंले नियमित मासिक रकम भुक्तानी गरेरसमेत आफ्नो सपना साकार पार्न सक्नुहुन्छ । यो सपना पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरू तपाईंंको सहयोगी हुन सक्छन् । अधिकांश मानिसको इच्छा र चाहनालाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले घर कर्जा योजना सञ्चालनमा ल्याएका छन् ।
कसरी पाइन्छ ऋण ?
बै‌क तथा वित्तीय संस्थाले घर तथा जग्गा खरिद गर्नका लागि कर्जा उपलब्ध गराउँछन् । अधिकांश वित्तीय संस्था तयारी अवस्थामा रहेका घर वा व्यावसायिक भवन खरिद गर्नका लागि कर्जा उपलब्ध गराउँछन् । त्यसैगरी, बन्दै गरेको घर, अपार्टमेन्ट, बंगला, फ्ल्याट वा डुप्लेक्स खरिद गर्नसमेत कर्जा लिन सकिन्छ । कर्जा लिन सर्वप्रथम तपाईं बैंकमा गएर आवेदन दिनुपर्छ । यदि बैंकलाई तपाईं र तपाईंको कागजपत्रप्रति विश्वास लागेमा कर्जा प्रदान गर्छ ।
कति अवधिका लागि हुन्छ कर्जा ?
कतिपय मानिस कर्जा लिएपछि भुक्तानी गर्न सकिँदैन कि भन्ने डरले कर्जा लिन नै डराउँछन् । तर, अहिले वित्तीय संस्थाले लामो अवधिका लागि पनि कर्जा प्रदान गर्न थालेका छन् । जस्तै, अहिले एनआइसी एसिया बैंकले ५० वर्षे योजना सञ्चालन गरेको छ ।
उक्त अवधिमा तपाईंले थोरैथोरै रकम भुक्तानी गर्न पनि सक्नुहुन्छ । तर, अधिकांश बैंकहरू, जस्तैः इन्भेष्टमेण्ट, नबिल, एभरेष्टलगायतले बढीमा १५ वर्षसम्मको किस्ता अवधिमा कर्जा दिन्छन् । सरकारी स्वामित्वको नेपाल बैंकले २ देखि २० वर्ष अवधिको कर्जा जारी गर्ने गरेको छ । हिमालयन बैंकले ३ देखि २० वर्षसम्मको घर कर्जामा लगानी गर्छ । ग्लोबलले २५ वर्षसम्मको कर्जा प्रवाह गरिरहेको छ ।
वित्तीय संस्थाहरूले ऋणीको उमेरको आधारमा पनि कर्जाको अवधि सीमा तोकेका छन् । अधिकांश बैंकले न्यूनतम २१ वर्ष पूरा गरेका र ६५ उमेरसम्मका ऋणीलाई कर्जा उपलब्ध गराउने प्रावधान बनाएका छन् ।
कर्जा लिँदा के देखाउने स्रोत ?
वित्तीय संस्थाले कर्जा भुक्तानी गर्न सक्ने विश्वासको आधारमा मात्रै ऋण प्रवाह गर्छन् । यसका लागि उनीहरूले निश्चित कागजपत्र अर्थात् तपाईंको सम्पत्ति र आम्दानी प्रमाणित हुने कागजपत्र माग गर्छन् । यस्ता प्रमाणहरूमा स्वरोजगार, व्यवसायी, प्रोफेसनल वा कुनै पनि व्यक्तिले आफ्नो विश्वसनीय र स्थायी आयस्रोत भएको हिसाब देखाउन सक्छन् ।
साथै, ऋणीको एकाघरपरिवारभित्रका अन्य सदस्यको विश्वसनीय आयस्रोतसमेतलाई जोड्न सकिन्छ । नियमित आम्दानी गर्ने निजी कम्पनीका कर्मचारीको तलब विवरण (स्यालरी स्लिप) पनि आयस्रोतमा देखाउन पाइन्छ । संस्थागत ऋणीको हकमा पछिल्ला दुई वर्षको कार्यमूल्यांकन (पर्फरमेन्स) र आउँदो दुई वर्षको लक्ष्य (प्रोजेक्सन) समेत पेस गर्नुपर्छ ।
चार वर्षमा डेढगुणाले बढ्यो घरजग्गा कर्जा
विगत चार वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा गर्ने लगानी करिब डेढ गुणाले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा घरजग्गामा वित्तीय संस्थाको ३ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आव ०७१/७२ मा भने वित्तीय संस्थाले २ खर्ब ४ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेका छन् । वित्तीय संस्थाले विभिन्न प्रडक्टमा गरेको लगानीमध्ये यो करिब १४ प्रतिशत हो ।
वित्तीय संस्थाले व्यक्तिगत घर कर्जामा मात्रै २ खर्ब १ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल घरजग्गामा गरिएको लगानीको ५८ प्रतिशत हो । विगत चार वर्षको तुलनामा यस्तो कर्जा करिब ७० प्रतिशतले बढेको छ । आव ०७१/७२ मा वित्तीय संस्थाले घर कर्जामा मात्रै १ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै, गत आवमा रियल स्टेटमा वित्तीय संस्थाले १ खर्ब ४२ अर्ब रुपैयाँ लगानी गरेका छन् । चार वर्षमा यस्तो कर्जा ६५ प्रतिशतले बढेको छ । आव ०७१/७२ मा वित्तीय संस्थाको यस्तो कर्जा ८५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।
घरजग्गा कर्जा उपलब्ध गराउने केही बैंक
 एनआइसी एसिया बैंक
एनआइसी एसियाले ५० वर्षे घर कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले घर, जग्गा, बन्दै गरेको घर, पुनर्निर्माण, मर्मतलगायत कामका लागि घर कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले अधिकतम १७ दशमलव ६४ प्रतिशतमा घरजग्गा कर्जा उपलब्ध गराउँदै आएको छ ।
 नबिल बैंक 
नबिल बैंकले पनि घरजग्गा कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले १५ वर्षे सरल र सहज प्रक्रियामार्फत घरजग्गा कर्जा उपलब्ध गराउँदै आएको छ । जसको मासिक किस्ता पनि भुक्तानी गर्न सकिनेछ । कर्जामा बैंकले बिमाको समेत व्यवस्था गरेको छ ।
 नेपाल इन्भेष्टमेण्ट बैंक
नेपाल इन्भेष्टमेण्ट बैंकले अधिकतम १ करोड रुपैयाँ वा मूल्यको ६० प्रतिशतसम्म घर कर्जा प्रदान गर्दै आएको छ । बैंकले तयारी घर, भवन, निर्माणाधीन भवन, घर, तयारी अपार्टमेन्ट, बंगला, घरको मर्मत तथा विस्तारका लागि पनि घर कर्जा उपलब्ध गराउँदै आएको छ । कर्जा अवधि अधिकतम १५ वर्षको छ । बैंकले घर कर्जामा न्यूनतम ९ दशमलव ८७ देखि १५ प्रतिशतसम्म ब्याज तोकेको छ ।
 माछापुच्छ्रे बैंक
माछापुच्छे बैंकले नयाँ घर, मर्मत, विस्तार, व्यक्तिगत घर तथा व्यावसायिक भवनका लागि घर कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले अधिकतम १६ प्रतिशतमा कर्जा उपलब्ध गराउँदै आएको छ ।
 राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत घर वा व्यावसायिक घरका लागि कर्जा उपलब्ध गराउँदै आएको छ । नयाँ घर खरिद वा निर्माणाधीन घरका लागि पनि बैंकले कर्जा वितरण गर्दै आएको छ ।
http://www.nayapatrikadaily.com/2018/10/11/104313/

No comments:

Post a Comment