Friday, October 26, 2018

पाँच हजार सिटको सभाहल बन्दै


मुना कुँवर
चालू आर्थिक वर्षभित्रै डिजाइन तयार गर्न भवन निर्माण विभागलाई निर्देशन
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पाँच हजार सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाहल बन्ने भएको छ । सरकारले भक्तपुरस्थित नागरिक उड्डयन प्रशिक्षण तालिम केन्द्रको १ सय ८९ रोपनी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षभित्रै पाँच हजार सिट क्षमताको सभाहल डिजाइन निर्माण सम्पन्न गर्न सहरी विकास तथा भवन निर्माण विभागलाई मंगलबार निर्देशन दिएको छ ।
विभागले यसअघि उक्त तालिम केन्द्रकै ८९ रोपनी जग्गामा अस्थायी सम्मेलन केन्द्र निर्माण गर्ने प्रस्ताव गरेको थियो । नेपालमा हुने भनिएको भारतको प्रसिद्ध जी–सिनेमा अवार्ड कार्यक्रमलाई लक्षित गरी प्रिफेव भवन निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।

तर, मन्त्रिपरिषद् बैठकले सो प्रस्तावलाई बदर गरी प्रशिक्षण तालिम केन्द्रकै १ सय ८९ रोपनी जग्गामा स्थायी सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय गरेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । ‘मंगलबार मात्रै हामीलाई पत्र प्राप्त भएको छ । सोहीअनुसार हामीले स्थायी भवन निर्माण गर्दै छौँ,’ उनले भने । विभागको प्रारम्भिक योजनाअनुसार पाँच हजार सिट क्षमताको सम्मेलन केन्द्रको अगाडिको १ हजार सिटमा टेबल पनि राखिनेछ ।
५० करोड स्रोतको सुनिश्चितता
अस्थायी सम्मेलन केन्द्र बनाउन ३५ करोड रुपैयाँ लागत प्रस्ताव भएको थियो । स्थायी सभाहल निर्माण गर्न सरकारले ५० करोड रुपैयाँ स्रोतको सुनिश्चितता गरेको सहरी विकास मन्त्रालयका सहसचिव कृष्णप्रसाद दुवाडीले बताए । ‘सरकारले प्रारम्भिक चरणका लागि उक्त रकम उपलब्ध गराउने स्रोतको सुनिश्चितता गरेको हो । हामीले अस्थायी सम्मेलन केन्द्र बनाउन ३५ करोड रुपैयाँ लागतको प्रस्ताव गरेका थियौँ,’ उनले भने, ‘तर, सभाहल निर्माण सम्पन्न गर्न कति लागत लाग्छ भनेर अहिले नै किटान गर्न सकिँदैन ।’
प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई सम्पर्क भवन
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा सम्पर्क भवन बनाइने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालका अनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार केन्द्रमा प्रदेश सरकारको लागि सम्पर्क कार्यालय बनाइने भएको हो । तर, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि फरक–फरक बनाउने कि एउटै बनाउने भन्ने टुंगो लागेको छैन । त्यस्तै, विभागले आगामी पाँच वर्षभित्र मन्त्रिक्वार्टर पनि पुनर्निर्माण गर्ने योजना बनाएको उनले बताए ।
निर्माण सुरु भएको दुई वर्षमा सक्ने लक्ष्य
निर्माण प्रक्रिया सुरु भएको दुई वर्षभित्रै सभाहल सम्पन्न गर्ने सहरी विकास तथा भवन निर्माण विभागको लक्ष्य छ । ‘अबको नौ महिनाभित्र भवन डिजाइन फाइनल गरी टेन्डरको प्रक्रिया पूरा गर्नेछाैं। त्यसपछिको दुई वर्षमा भवन सम्पन्न गर्ने हाम्रो योजना छ,’ महानिर्देशक मणिराम गेलालले बताए ।
सभाहल निर्माण गर्न अबको एक महिनाभित्र विभागले परामर्शदाता नियुक्त गरिसक्नुपर्नेछ । परामर्शदाताले तीनदेखि चार महिनामा प्रतिवेदन बुझाउनेछन् । त्यसपछि टेन्डर आह्वान हुने र टेन्डर प्रक्रिया सकिएपछि निर्माण कार्य अगाडि बढ्नेछ । यी सबै प्रक्रियाका लागि करिब ९ महिना समय लाग्ने सहरी विकास मन्त्रालयका नवनियुक्त सचिव रमेशप्रसाद सिंहले बताए ।
लुम्बिनीमा पनि बन्दै छ सभाहल
लुम्बिनीमा पनि एक हजार एक सय १४ सिट क्षमताको सभाहल बन्न लागेको छ । लुम्बिनीमा बन्ने हलमा ब्रिफिङ हल, मिटिङ हल, लेक्चर हललगायत छुट्टाछुट्टै ४ वटा साना हलसमेत बन्नेछन् । त्यस्ता साना हलको क्षमता भने ३ सय सिटको हुनेछ ।
http://www.nayapatrikadaily.com/2018/10/26/108018/

No comments:

Post a Comment