Saturday, August 3, 2019

बिमामा दुरुपयोग

मुना कुँवर
घटना १ : गत असार १७ गते रौतहटको मौलापुर–६ पथराबुधराम टोलका ३९ वर्षीय रामकिशोर यादवले आफ्नी ४ वर्षीया छोरीको हत्या गरे । घरमा निदाइरहेकी छोरी लक्ष्मीकुमारीलाई बिहानपख काँधमा बोकी पोखरीको डिलसम्म पुर्‍याएर यावदले नाक–मुख थुनी हत्या गरे । गत जेठ १९ गते मात्रै उनले प्रभु लाइफ इन्स्योरेन्समा छोरीको २५ लाख रुपैयाँको बिमा गराएका थिए । सोही बिमा रकमको लोभमा छोरीको हत्या गरेको उनले स्वीकार गरेका छन् ।
 
घटना २ : गत असारमा नै पोखरा रामबजारका ३५ वर्षीय रमेश नेपालीले २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरे । जडीबुटी खोज्न जाने बहानामा जंगलमा लगेर भारतीय कन्ट्र्याक्ट किलरबाट उनले श्रीमतीको हत्या गराएका थिए । हत्या भएको केही दिनअघि मात्रै उनले श्रीमतीको नामबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड रुपैयाँको बिमा गराएका थिए । उनले बिमा रकमकै लोभले श्रीमतीको हत्या गरेको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
पारिवारिक सम्बन्धलाई जीवनको मूल कडी मान्ने हाम्रो जस्तो मुलुकमा धनकै लागि बाबुले छोरीको र श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना कमै सुनिन्छ । तर, यी पछिल्ला घटनाले मानिसलाई पैसाको मोहमा परी अपराधीकरणतर्फ धकेल्दै लगेको देखाएको छ । बिमा अपराधीकरणको एउटा माध्यम बन्ने हो कि ? भन्ने खतराको संकेत पनि यी घटनाले देखाएको छ । झट्ट हेर्दा सामान्य लाग्ने र अपराध गर्न सहज हुने भएकाले नेपालमा बिमाका माध्यमबाट अपराध गर्ने संख्या बढ्न थालेको छ । नेपालमा जति बिमाको पहुँच बढ्दै गएको छ, यसको दुरुपयोग पनि उत्तिकै बढ्न सक्ने खतरा माथिका घटनाले देखाएको छ । 

गत महिनामा बिमा रकमकै लोभमा परी हत्या भएका यी दुई घटनाले नेपालको बिमा क्षेत्रलाई झकझकाएको छ । केहीअघि भारतमा यस्ता खालका थुप्रै घटना भएको सार्वजनिक भएका थिए । बिस्तारै नेपालमा पनि यस्ता घटना फैलिने हो कि भन्ने डर र आशंका बिमा क्षेत्रमा देखा पर्न थालेको छ । बिमा भनेको सुरक्षा हो । तर, कम्पनी र नियामक निकायको कमजोरीको कारण बिमा अपराधको कारण बन्दै गएको छ । 
बिमा रकमको लोभमा परी हत्या हुने घटना सार्वजनिक हुन थालेपछि बिमालाई सुरक्षित र दुरुपयोग हुनबाट रोक्न एक अध्ययन हुँदै
अन्डर राइटिङमा कमजोरी 
बिमा कम्पनीहरूले बिमा गर्दा बिमायोग्य सम्पत्ति वा जीवनको जोखिमलाई मूल्यांकन गर्नुपर्छ । जोखिम बढी भएमा बिमाशुल्क बढी लिने वा विभिन्न सर्तहरू राखिन्छ । अथवा कम्पनीले जोखिम धेरै देखेमा वा शंका लागेमा बिमा नगर्न पनि सक्छ । त्यस्तै, कम जोखिम भएमा थोरै बिमाशुल्क लिन्छ । यसरी बिमा गर्दा जोखिमको मूल्यांकन गर्नाले कम्पनीहरू आफै पनि सम्भावित दाबीबाट जोगिन्छन् भने आपराधिक मनसायबाट गरिने बिमालाई निरुत्साहित गर्न सकिन्छ । तर, बिमा कम्पनीहरूले बिमा गर्दा जोखिम मूल्यांकनको पक्षलाई त्यत्ति गम्भीरतापूर्वक नलिएको देखिन्छ ।
बिमा कम्पनीहरूले बिमालेख बिक्री–वितरण गर्दा उचित तरिकाले अन्डर राइटिङ नगर्दा बिमाको दुरुपयोग भएको हुन सक्ने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बताउँछन् । ‘बिमा गर्दा कम्पनीले मूल्यांकन गर्नुपर्छ । बिमितको आम्दानी, उमेर र जोखिमको अवस्थाको मूल्यांकन गर्नुपर्छ । तर, कम्पनीहरूले धेरै व्यवसाय गर्ने होडमा मूल्यांकनलाई बेवास्ता गरेको देखिन्छ,’ उनले भने । त्यस्तै, बिमालेखमा आवश्यकभन्दा बढी सुविधा दिएकाले पनि यस्तो घटना हुन उत्प्रेरणा भर्न सक्ने उनले बताए । ‘बालबालिकाको बिमा गर्दा निश्चित उमेरपछि मात्रै दाबी भुक्तानी दिने व्यवस्था छ । जबसम्म बच्चाले आफ्नो सुरक्षा गर्न सक्दैन, तबसम्म उसको मृत्युको सुरक्षा गर्नुहुँदैन,’ उनले भने । केही कम्पनीले बिमालेख जारी गरेको दुई वर्षपछि नै मृत्यु दाबी भुक्तानी गरेको पाइएको छ । त्यस्तै, श्रीमान् वा श्रीमतीको मात्रै ठूलो रकमको बिमा गर्दा पनि बिमा कम्पनीले गम्भीर भएर मूल्यांकन गर्नुपर्ने उनले बताए ।  
 मिस सेलिङले बढ्यो विकृति
बिमा अभिकर्तामा आधारित हुन्छ । अभिकर्ताले बिमालाई जसरी व्याख्या गर्‍यो, आममानिसले त्यसैगरी बुझ्छन् । तर, अधिकांश अभिकर्ताले बिमालाई गलत तरिकाले व्याख्या गरेका कारण यस्तो खालको घटना बढेको विज्ञहरूको बुझाइ छ ।
बिमा गराउँदा यथार्थभन्दा बढाइचढाई र कहिलेकाहीँ गलत सूचना दिएका कारण बिमाको दुरुपयोग भएको हुन सक्ने बताउँछन् सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी  अधिकृत पोषकराज पौडेल । ‘बिमा योजना बिक्री गर्दा सही सूचना नदिनु सबै ठूलो अपराध हो । बजारमा बिमा भन्नेबित्तिकै दोब्बर भुक्तानी भन्ने गलत प्रचार छ । यसले बिमामा विकृति भित्र्याएको छ,’ उनले भने । बिमाका विषयमा चेतना नभएका कारण पनि हत्याजस्तो घटना घट्ने गरेको उनले बताए । बिमा आफैँमा खराब हुँदैन, तर सदुपयोग गर्न नजानेर यस्ता खालका घटना घटेको उनको बुझाइ छ । ‘सवारीसाधन ठीक भए पनि चालक ठीक भएन भने दुर्घटना हुन्छ । बिमामा पनि यही सिद्धान्त लागू हुन्छ,’ उनले थपे ।
पछिल्ला घटनाले मानिसलाई पैसाको मोहमा परी अपराधीकरणतर्फ धकेल्दै लगेको देखाएको छ । बिमा अपराधीकरणको एउटा माध्यम बन्ने हो कि ? भन्ने खतराको संकेत पनि यी घटनाले देखाएको छ ।
कम्पनीलाई व्यवसायकै लोभ
बिमा कम्पनीहरू बिमितको हितभन्दा पनि व्यवसायमा बढी केन्द्रित भएकोे बताउँछन् बिमाविज्ञ डा. दामोदार बसौला । ‘बिमा भनेको सेवा हो । बिमा कम्पनीले व्यवसायलाई मात्रै लक्षित गर्नुहुँदैन । अन्यथा यसले विकृति भित्र्याउँछ,’ उनले भने । बिमा गर्ने विषयमा अभिकर्ता पनि जिम्मेवार र नबुझेको कुरा राम्ररी बुझ्ने हुनुपर्ने उनले बताए । ‘बिमा गराउँदा राम्रोसँग बुझाउनुपर्छ । कुन–कुन अवस्थामा दाबी पाइन्छ भनेर पनि बुझाउनुपर्छ, कम्पनीले बिमितको वित्तीय अवस्थाको पनि मूल्यांकन गर्नुपर्छ,’ उनले भने । 
दुरुपयोग रोक्न प्राविधिक समिति गठन
बिमा रकमको लोभका कारण हत्याका घटना बढ्न थालेपछि बिमा समितिले जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलपछि बिमा कम्पनीहरूले जारी गर्ने बिमालेखबारे अध्ययन गर्न एक प्राविधिक समिति गठन गरेको छ ।
बिमा समितिका बिमाविज्ञ भोजराज शर्माको संयोजकत्वमा युनियन लाइफ, सिजिटन्स लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधि रहने गरी अध्ययन समिति गठन भएको हो । प्राविधिक समितिले बिमालेखलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? भन्ने विषयमा अध्ययन गर्ने समितिका संयोजक बिमाविज्ञ भोजराज शर्माले बताए । ‘बिमा कम्पनीले बिमा गर्दा कसरी सुरक्षा अपनाउने भन्ने विषयमा हामी अन्तर्राष्ट्रिय अभ्यास पनि हेर्नेछाैं,’ उनले भने । 
प्राविधिक समितिले हाल कम्पनीहरूले जारी गरेको बिमालेख र त्यसको जोखिमको विषयमा अध्ययन गर्नेछ । त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा बिमालाई सुरक्षित बनाउन अपनाइएको अभ्यासलाई पनि अध्ययन गर्ने सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए । ‘अध्ययनपछि आवश्यक परेमा कम्पनीहरू बिमालेख संशोधन गर्न पनि तयार हुनेछन्,’ उनले भने । 

No comments:

Post a Comment