Monday, March 11, 2019

नेप्सेको अनलाइन सिस्टममा बल्झियो समस्या,अर्थ मन्त्रालयलाई गुहार्दै लगानीकर्ता

मुना कुँवर २०७५ फाल्गुण २७ सोमबार
नेपाल स्टक एक्सचेन्जले सञ्चालनमा ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)मा पुनः समस्या आएपछि आइतबार सेयर कारोबार रोकिएको छ । सिस्टममा समस्या देखिएपछि मध्याह्न १२ बजेर ४६ मिनेटपछि कुनै पनि कारोबार हुन सकेन र नेप्सले बाँकी समयको कारोबार स्थगित गराएको छ । नेप्सेले गत कात्तिक २० गतेदेखि अनलाइन टेड्रिङ सिस्टम सञ्चालनमा ल्याएको थियो । सुरुवातदेखि नै अनलाइन सिस्टममा विभिन्न समस्या देखिएको छ । यद्यपि, नेप्सेले समस्यालाई सुधार गरेको जनाए पनि आइतबार पुनः नयाँ समस्या देखिएको हो । नेप्सेले सिस्टम निर्माता कम्पनीको वाइकोको नेटवर्क (प्रोटोकल लेयर)मा समस्या आएको बताएको छ । उक्त समस्या समाधान हुन समय लाग्ने भएकाले बाँकी समयको कारोबार बन्द गरिएको नेप्सेले बताएको छ । 

समस्या पत्ता लगाउन वाइकोलाई निर्देशन
आइतबार नेप्सेको अनलाइन सिस्टममा देखिएको समस्याको विषयमा विस्तृत  प्रतिवेदन पेस गर्न नेप्सेले वाइको कम्पनीलाई निर्देशन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । ‘यसअघिका समस्यालाई समाधान गर्दै लागेका छौँ । आज फेरि नयाँ खालको समस्या देखिएको छ । हामी प्राविधिक नभएकाले वास्तविक समस्या के हो भन्न सकेनौँ । त्यसैले वाइको कम्पनीसँग विस्तृत जानकारी मागेका छौँ,’ उनले भने । ब्रोकरको टिएमस तथा सिस्टमको म्याचिङ इन्जिनबीच तथ्यांक मिसम्याच हुँदा सिस्टममा समस्या आएको प्रारम्भिक अध्ययनले देखाए पनि वास्तविक समस्या वाइको प्रतिवेदनपछि थाहा हुने उनले बताए । सोमबारदेखि भने कारोबार सुचारु हुने उनले बताए ।
अनलाइन फेल भयो
नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन टेड्रिङ सिस्टम फेल भएको लगानीकर्ताले बताएका छन् । आइतबार आधा दिनको कारोबार नै रोकिने गरी सिस्टममा आएको समस्यालाई सामान्य रूप लिन नसकिने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । ‘एक्कासि कारोबार रोकिँदा लगानीकर्ताको  नैसर्गिक अधिकार हनन मात्रै भएको छैन, यसले सेयर बजारप्रति चरम अविश्वास र आशंका बढाउने खतरा पनि उत्पन्न भएको छ,’ उनले भने ।  
सिस्टममा पटक–पटक गम्भीर खालका समस्या देखिँदा पनि नेप्सेले सुधार नगरेको लगानीकर्ताले आरोप लगाएका छन् । पुँजी बजारजस्तो संवेदनशील ठाउँमा नेप्सेले गैरजिम्मेवारी कार्य गरेको उनीहरूले बताएका छन् । यस्तो खालको घटनाले लगानीकर्ताले भोग्नुपरेको आर्थिक, मानसिक र अन्य प्रकारको क्षतिपूर्तिका लागि कानुनी प्रक्रियामा जानुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको लगानीकर्ताले बताएका छन् । उनीहरूले खराब प्रणाली प्रयोगमा ल्याउने पदाधिकारीलाई कारबाहीको कठघरामा उभ्याउन अर्थ मन्त्रालयसँग माग गरेका छन् ।
पटक–पटक समस्या 
नेप्सेले सञ्चालनमा ल्याएको अनलाई टेड्रिङ सिस्टममा पटक–पटक समस्या देखिएको छ । गत कात्तिक २० गते औपचारिक रूपमा सुरु भएकै दिन कारोबार हुन सकेको थिएन । त्यस्तै, नेप्सेले अनलाइन युजरनेम वितरण गरेको दिन पनि कारोबार १५ मिनेट रोकिएको थियो । अनलाइनमा डिम्याट एकाउन्ट इन्टिग्रेट हुन नसकेपछि कारोबार रोकिएको थियो । त्यसैगरी, गत पुस ३० गते अपर तामाकोसी हाइड्रो पावर कम्पनीको कारोबारमा ५० प्रतिशतको वृद्धि आएपछि उक्त कम्पनीको कारोबार नै रोकिएको थियो । एक दिनमा अधिकतम १० प्रतिशतसम्म मात्रै वृद्धि हुनुपर्नेमा सिस्टममा समस्या भएपछि ५० प्रतिशतको वृद्धि देखिएको थियो । जसका कारण नेप्से उक्त दिन तामाकोसीको कारोबार नै रोकेको थियो । 
अर्थ मन्त्रालयले ध्यान दिनुपर्छ
नेप्सेको अनलाइन सिस्टममा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डले नै ध्यान दिनुपर्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । ‘यो पहिलोपटक देखिएको समस्या होइन । यस्तो समस्या दोहोरिँदा बजारमा नकारात्मक असर पर्छ । त्यसैले अर्थ मन्त्रालयले नै यसमा ध्यान दिनुपर्छ,’ उनले भने । 
करिब पौने दुई घन्टा कारोबार भएपछि रोकिएको बजार पुनः खुल्न सकेन । यसले झनै लगानीकर्तालाई अन्योलमा पारेको उनले बताए । ‘बजार नखुल्ने भएको भए हामीलाई नेप्सेले पहिला नै जानकारी दिनुपथ्र्यो । एक–दुई मिनेट कारोबार रोकिँदा त लगानीकर्ताको मनस्थिति परिवर्तन हुन्छ भने यति धेरै समय रोकिँदा बजार अवस्था के भयो होला ?’ उनले भने । यस विषयमा नियमनकारी निकायले ध्यान दिनुपर्छ । 
https://www.nayapatrikadaily.com/news-details/8265/2019-03-11

No comments:

Post a Comment