Tuesday, November 7, 2017

स्वास्थ्य बिमा बापत सवा ६ करोड बिमाशुल्क संकलन



१ करोड ८४ लाख दाबी भुक्तानी ।
१३ लाख २० हजार दाबी अस्वीकार ।  
२२ हजार २२८ पटक लिईयो स्वास्थ्य सेवा । 

मुना कुँवर
काठमाडौ, १९ कार्तिक 

सरकारद्धारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम मार्फत चालु आर्थिक बर्ष २०७३÷७४ मा ६ करोड १३ लाख रुपैयाँ बिमाशुल्क (योगदान रकम) संकलन भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार गत आवमा स्वास्थ्य बिमा सञ्चालन भएको १५ जिल्लाबाट उक्त रकम संकलन भएको हो । अघिल्लो आवमा भने २० लाख ९० हजार रुपैयाँ संकलन भएको थियो । 

समितिको तथ्यांक अनुसार कार्यक्रम सञ्चालन भएका जिल्लामध्ये पाल्पाबाट सबैभन्दा धेरै बिमाशुल्क संकलन भएको छ । गत आवमा मात्रै उक्त जिल्लाबाट १ करोड ३१ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, कास्की जिल्लाबाट १ करोड ३१ लाख रुपैयाँ संकलन भएको छ भने इलामबाट ७६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । तर, अछाम जिल्लाबाट सबैभन्दा धेरै ८ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ । सेवा प्रदायक संस्थाहरु राम्रो भएको क्षेत्रका मानिसहरु बिमा प्रति बढी आकर्षित भएको देखिएको समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेले बताए । 


त्यस्तै, समितिले गत आवको अन्त्यसम्ममा १ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तथ्यांक अनुसार बिमा कार्यक्रममा सहभागी भएका व्यक्तिहरुले २२ हजार २२८ पटक स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य उपचार सेवा  लिए बापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले १ करोड ९७ लाख रुपैयाँ दाबी गरेको समितिले बताएको छ । तर, १३ लाख २० हजारको दाबी नियम संगत नभएपछि समितिले भुक्तानी गर्न अस्वीकार गरेको हो । 

सरकारद्धारा सञ्चालित बिमा कार्यक्रम सहभागी हुनका लागी बार्षिक २ हजार ५ सय रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्छ । उक्त शुल्क बापत एकै परिवारका पाँच जनासम्मले अधिकत्तम ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा पाउछन् । तर अति गरीब बर्गमा परेका नागरिकलाई भने उक्त बीमा शुल्क शतप्रतिशत छुट हुनेछ । त्यस्तै, मध्यम गरिब र गरिब वर्गका नागरिकले क्रमश ७५ र ५० प्रतिशतसम्मको छुट पाउँनेछन् । सरकारले गरीबी निवारण मन्त्रालयले जारी गरेको परिचय पत्रको आधारमा गरीबीको पहिचान गरी छुट प्रदान गर्ने समितिले बताएको छ । 
बिमा बापत विमितहरुबाट संकलन भएको रकम भने समितिकै मातहतमा बिमा कोष खडा गरी संकलन गरिएको छ । हालसम्म सरकारले नै प्रदान गरेको बजेटबाट नै दाबी भुक्तानी गरिएको पनि समितिले बताएको छ । 
२०७२ साल चैत्र देखि कैलालीबाट शुरुवात भएको स्वास्थ्य बिमा कार्यक्रम असोज मसान्तसम्ममा २२ वटा जिल्लामा विस्तार भएको छ । पहिलो चरणको लागी छनौट गरेको २५ जिल्लामध्ये बाँकी रहेका तिन जिल्लामा निर्वाचन पछि कार्यक्रम विस्तार गरिने समितिले बताएको छ । त्यस्तै, चालु आवका लागि बिमा कार्यक्रम सञ्चालन गर्न समितिले १४ वटा जिल्ला छनौट गरेको छ । 


No comments:

Post a Comment