सामान्यतया ‘बीमाङ्की’ (एक्चुअरी) भन्नाले विगत र वर्तमानका तथ्याङ्कलाई सूक्ष्मरूपमा विश्लेषण गरी भविष्यका लागि प्रक्षेपण गर्न सक्ने योग्यता, दक्षता, ज्ञान भएको जनशक्तिलाई बुझिन्छ । ‘बीमाङ्की’ कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभईकन चार्टर्ड एकाउण्टेण्ट जस्तै पेशागत उपाधि हो । यो उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रको कार्य गर्न सक्ने दक्षता उपलब्ध गराउने विज्ञान नै बीमाङ्कीय विज्ञान हो । ‘बीमाङ्की’लाई धेरैले बीमा क्षेत्रसँग जोडेर हेर्ने गरेको पाइए तापनि यो जनशक्तिको आवश्यकता अर्थतन्त्रको विकासका लागि सरकारी तथा निजीक्षेत्रमा उत्तिकै महत्त्वको रहेको छ । नेपालको बीमा ऐन २०४९ को दफा २ (ञ)मा ‘बीमाङ्की’ भन्नाले बीमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्न बीमकद्वारा नियुक्त गरिएको तोकिएबमोजिमको योग्यता भएको व्यक्ति सम्झनुपर्छ, भनी परिभाषा गरिएको छ ।
‘बीमाङ्की’ बीमा कम्पनी, बीमा समितिबाहेक राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, सञ्चय कोष, नागरिक लगानी कोषजस्ता संस्थामा अत्यावश्यक रहन्छ । विशेषतः सर्वसाधारणको लगानी रहेको संस्थामा उनीहरूको लगानीलाई सुरक्षित गर्दै भविष्यको प्रतिफललाई समेत सुनिश्चितता प्रदान गर्न, संस्थामा भएका आन्तरिक तथ्याङ्कहरू र बाह्य पक्षसँग सम्बन्धित विवरणका आधारमा संस्थाको आर्थिक जोखीमाङ्क कस्तो छ, सोको विश्लेषण गर्न यो अति नै जरुरी मानिन्छ ।
सर्वप्रथम जीवन बीमाको शुल्क निर्धारण गर्ने प्रयोजनका लागि ‘बीमाङ्की’ शब्दावली प्रयोग भएको थियो । त्यसैले होला हिजोआज पनि धेरैले ‘बीमाङ्की’लाई बीमाक्षेत्रका लागि मात्र आवश्यक जनशक्तिका रूपमा बुझ्दै आएका छन् ।
बीमा ऐन २०४९ को दफा २६ अनुसार जीवन बीमा व्यवसाय गर्ने बीमकले प्रत्येक ३÷३ वर्षमा एकपटक आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन बीमाङ्कीद्वारा गराउनुपर्ने कानूनी व्यवस्था छ । अन्तरराष्ट्रियस्तरमा यो मूल्याङ्कन वर्ष/वर्ष वा त्रैमासिक रूपमा समेत गर्ने÷गराउने अभ्यासको शुरुआत भएको हुँदा बीमा समितिले समेत अन्तरराष्ट्रिय अभ्यासलाई क्रमशः प्रयोगमा ल्याउँदै २०६९ सालदेखि प्रत्येक वर्ष ‘बीमाङ्की’ मूल्याङ्कन गराउने व्यवस्थाको शुरुआत गरेको छ ।
प्रस्तावित नयाँ बीमा विधेयकमा भने सबै जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले प्रत्येक वर्ष अनिवार्य रूपमा ‘बीमाङ्की’ मूल्याङ्कन गराउने व्यवस्था गरेको छ ।
सामान्यतया ‘बीमाङ्की’ विज्ञान विषय विश्वविद्यालयमा अध्यापन हुने नभई पेशागत इजाजत प्राप्त हुने अध्ययन हो । चार्टड एकाउण्टेण्टको अध्यापन पनि कुनै विश्वविद्यालयमा औपचारिक हुँदैन । चार्टड एकाउण्टेण्टकोे पेशागत इजाजतको परीक्षा चार्टर्ड एकाउण्टेण्ट इन्ष्टिच्युटले लिन्छ र सो परीक्षा उत्तीर्ण भएपछि मात्र इजाजत जारी गर्ने गर्छ । त्यसपछि चार्टड एकाउण्टेण्टले पेशागत र लेखापरीक्षणको कार्य गर्न अनुमति पाउनेछन् । चाटैर्ड एकाउण्टेन्सी अध्ययन गर्न न्यूनतम प्लस टु (+दुई) योग्यता भएको हुनुपर्छ । सोभन्दा माथिल्लो योग्यता भए पनि प्रवेश परीक्षादेखि प्लस टुसरह नै अगाडि बढ्नुपर्ने हुन्छ ।
‘बीमाङ्की’ विज्ञान चार्टड एकाउण्टेण्ट जस्तै पेशागत उपाधि हो । यसको अध्यापनसमेत विश्वविद्यालयमा हुँदैन । तर, हिजो आज ‘बीमाङ्की’ विज्ञानको पेशागत इजाजत लिनेका लागि उपयोगी हुने किसिमबाट विभिन्न विषय समावेश गरी पाठ्यक्रमको विकास गर्दै केही विश्वविद्यालयले यस विषयको अध्यापन गराइरहेका छन् । विश्वविद्यालयको यस्तो डिग्री मात्र उत्तीर्ण गरेका व्यक्तिले यस क्षेत्रको आवश्यकताअनुसार माथि उल्लेख भएका सङ्घ, संस्थामा प्राविधिक, योग्य जनशक्तिका रूपमा कार्य गर्न त सक्छन् । तर, ‘बीमाङ्की’ मूल्याङ्कन प्रतिवेदन वा यस्तै प्रकृतिका प्रतिवेदनहरू प्रमाणित गर्न भने पाउँदैनन् । जसरी वाणिज्य, व्यापार शास्त्रमा स्नातक वा स्नातकोत्तर (बीबीएस, बीबीए, एमबीए) मात्र उत्तीर्ण गरेको आधारमा लेखापरीक्षण गर्ने इजाजत हुँदैन, त्यसरी नै विश्वविद्यालयको ‘बीमाङ्की’ विज्ञान परीक्षा मात्र उत्तीर्ण गरेको आधारमा ‘बीमाङ्की मूल्याङ्कन’ प्रतिवेदनजस्ता विवरण प्रमाणित गर्ने अनुमति पाइँदैन ।
नेपालमा त्रिभुवन विश्वविद्यालयले ‘बीमाङ्की’ विज्ञानको पेशागत परीक्षाका लागि उपयोगी हुने किसिमको स्नातक तहको म्याथम्याटिकल साइन्सेज कार्यक्रम गतवर्षबाट शुरू गरेको छ । उक्त कार्यक्रम आठ सेमेष्टरसहित चारवर्षे रहेको छ । हाल उक्त कार्यक्रममा पहिलो ब्याजका ३० र यस वर्ष भर्ना भएको ३० जना गरी कुल ६० जनाले अध्यययन गरिरहेको जानकारी प्राप्त भएको छ ।
‘बीमाङ्की’ विज्ञानको पेशागत परीक्षामा सहभागी भई इजाजत लिन बेलायत, अमेरिका, भारत विकल्पका रूपमा छन् । हामी नजीक भएकाले ‘बीमाङ्की’ विज्ञान अध्ययनका लागि भारत नै पहिलो रोजाइ हुन सक्छ । मुम्बईमा ‘बीमाङ्की’ विज्ञानको इजाजत दिने आधिकारिक निकाय एक्चुअरी सोसाइटी अफ इण्डिया रहेको छ । अर्को विकल्पका रूपमा बेलायतको एक्चुअरी सोसाइटी रहेको छ ।
‘बीमाङ्की’ विज्ञानको पेशागत उपाधि लिन सर्वप्रथम प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । भारत र बेलायतका सोसाइटीको प्रवेश परीक्षाको पाठ्यक्रम छुट्टाछुट्टै छ । त्यसपछि भने दुवै सोसाइटीको पाठ्यक्रम लगभग उस्तै छ । प्रवेश परीक्षा उत्तीर्णपछि १५ विषय उत्तीर्ण भएपछि एक्चुअरी फेलोसिपको उपाधि पाउन सकिन्छ । सामान्यतया प्रत्येक वर्षको अप्रिल र सेप्टेम्बर महीनामा प्रवेश परीक्षा एवम् अन्तिम परीक्षाहरू सञ्चालन हुने गर्छन् । एकपटकमा बढीमा ३ ओटा विषयको परीक्षामा सामेल हुन पाउने सोसाइटीको व्यवस्था रहेकाले छिटोमा लगभग ३ वर्षमा एक्चुअरी फेलोसिपको उपाधि पाउन सकिन्छ । तर, सामान्यतया करीब ५ देखि ७ वर्षसम्म समय लागेको पाइन्छ । विविध कारणले १५ ओटा पूरै विषय उत्तीर्ण हुन कठिनाइ भए पनि ‘सिटी नाइन’सम्म नौओटा परीक्षा उत्तीर्ण गरेपछि राम्रो रोजगारी पाउन थालिहालिन्छ ।
एक्चुअरी फेलोसिपको उपाधि लिन भारतमा प्रतिविषय भा.रू. २ हजार ५ सय र बेलायतमा प्रतिविषय १ सय १० पाउण्ड परीक्षा दस्तुर लाग्ने गरेको छ । (परीक्षा शुल्क आदिको थप विवरण तालिकमा छ ।) भारतीय सोसाइटीमा परीक्षा दिनेले भारतमा नै गएर प्रवेश परीक्षामा सामेल हुनुपर्छ भने बेलायतको सोसाइटीको प्रवेश परीक्षा नेपालभित्र ब्रिटिश काउन्सिल काठमाडौंमा नै दिन पाइन्छ । भारतका लागि प्रवेश परीक्षापछि अन्य विषयको परीक्षा भने नेपालकै नेशनल कलेज अफ एकाउण्टेन्सी, बानेश्वर, काठमाडौंमा दिन पाइन्छ । अब यी उपाधि लिन विदेशका सोसाइटीमा धाउनु नपर्ने भएको छ र अन लाइन सामग्री खरीद गरी नेपालमा नै बसेर अध्ययन गर्न सकिने भएको छ ।
यो विषय विश्वविद्यालयमा अध्यापन नहुने भएकाले सम्बन्धित सोसाइटीबाट अनलाइन पाठ्यसामग्री खरीद गरी अध्ययन गर्नुपर्ने हुन्छ । त्यसका लागि थप केही रकम आवश्यक पर्छ । हाल बेलायती र भारतीय सोसाइटी दुवैमा केही नेपाली अध्ययनरत भएको जानकारीमा छ ।
बीमा व्यवसायको हकमा (जीवन, निर्जीवन र पुनर्बीमा)मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्ने सङ्ख्याहरूको पूर्वानुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्थाको मूल्याङ्कन गर्न, बीमालेख धारकलाई प्रदान गर्ने बोनस दर निर्धारण गर्न, बीमा कम्पनीलाई आर्थिक रूपमा सबल राख्न आवश्यक जगेडा कोषको निर्धारण गर्र्ने, बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन तयार एवम् प्रमाणित गर्ने आदि प्राविधिक पक्षमा राय, परामर्श दिन ‘बीमाङ्कीय’ विज्ञानको महत्त्व रहन्छ ।
बीमा व्यवसायको हकमा (जीवन, निर्जीवन र पुनर्बीमा)मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्ने सङ्ख्याहरूको पूर्वानुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्थाको मूल्याङ्कन गर्न, बीमालेख धारकलाई प्रदान गर्ने बोनस दर निर्धारण गर्न, बीमा कम्पनीलाई आर्थिक रूपमा सबल राख्न आवश्यक जगेडा कोषको निर्धारण गर्र्ने, बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन तयार एवम् प्रमाणित गर्ने आदि प्राविधिक पक्षमा राय, परामर्श दिन ‘बीमाङ्कीय’ विज्ञानको महत्त्व रहन्छ ।
त्यस्तै अन्य आर्थिक पक्षको नियमन गर्ने निकायहरूको हकमा, जस्तै बीमा समिति, नेपाल राष्ट्र बैङ्क, धितोपत्र बोर्डलाई भने सम्बन्धित क्षेत्रका कम्पनीबाट प्राप्त भएका वित्तीय विवरणको अध्ययन, विश्लेषण, परामर्श गर्न/गराउन ‘बीमाङ्की’को आवश्यकता रहन्छ । नेपाल सरकार अर्थ मन्त्रालय, सञ्चय कोष, नागरिक लगानी कोष, बैङ्क, वित्तीय संस्थामा कोषको उचित व्यस्थापन गरी उच्चतम प्रतिफल लिई सर्वसाधारणको हकहित गर्न ‘बीमाङ्की’को प्राविधिक परामर्श महत्त्वपूर्ण हुने देखिन्छ । बीमा जस्तै सञ्चय कोषमा अनिवार्य रूपमा यो जनशक्तिको आवश्यक भइसकेको छ । सञ्चय कोषमा करीब ७ लाखभन्दा बढी सञ्चयकर्ताको रकम रहेको र उक्त सञ्चित रकमको उचित व्यवस्थापन गर्दै उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्न ‘बीमाङ्की’ अनिवार्य रहन्छ ।
नेपालमा बीमाङ्कीय फेलोशिप जनशक्ति नभएको जानकारी भएकै विषय हो । त्यसैले भारत वा विदेशी मुलुकका फेलोशिप बिमाङ्की जनशक्तिलाई परामर्शदाताका रूपमा नियुक्त गरी बीमा समिति र जीवन बीमा कम्पनीहरूले कार्य सम्पादन गरिरहेको अवस्था छ ।
‘बीमाङ्की’ परामर्शदार्ताको आवश्यकता झन् बढिरहेको परिप्रेक्ष्यमा अल्पकालका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय र बीमा समितिमार्फत बीमाङ्कीय विज्ञान अध्ययन गर्न विदेशी छात्रवृत्तिको व्यवस्था मिलाई आवश्यक जनशक्तिको आपूर्ति गर्नुपर्ने देखिन्छ । मध्यकालमा हाल त्रिविविमा सञ्चालन भइरहेको कार्यक्रमलाई क्रमशः अगाडि बढाउँदै विदेशी ‘बीमाङ्की सोसाइटी’का प्रवेश परीक्षाको केन्द्र नेपालमा खोल्न पहल गर्ने र दीर्घकालमा ‘बीमाङ्की’ इजाजत लिएर विदेशमा रहेका नेपाली जनशक्तिको प्राविधिक सहायता लिई नेपालमा नै यस्तो ‘बीमाङ्की’ इजाजत प्रदान गर्ने सोसाइटी गठन गर्न कानूनी तथा संरचनागत व्यवस्थाका लागि पहल गर्नु जरुरी देखिन्छ ।
लेखक बीमा समितिका निर्देशक हुन् ।
http://www.abhiyan.com.np/new/Articles/view/109052
No comments:
Post a Comment