Friday, April 26, 2019

काठमाडौंको फोहोर दुई महिनापछि बन्चरेडाँडामा

मुना कुँवर
२०७६ बैशाख १३ शुक्रबार 

सहरी विकास मन्त्रालयले १ अर्ब ३४ करोड लागतमा स्यानिटेसन ल्यान्डफिल्ड साइट निर्माण गर्ने भएको छ । धादिङ र नुवाकोटको सीमामा रहेको बन्चरेडाँडाको एक हजार सात सय रोपनी क्षेत्रफलमा साइट निर्माण गरिनेछ । नुवाकोटको सिसडोलमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र भरिएपछि सरकारले नयाँ विकल्प खोज्न गत वर्ष सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । सोहीअनुसार मन्त्रालयले बन्चरेडाँडामा साइट निर्माणको तयारी गरेको हो । अबको दुई महिनापछि बन्चरेडाँडामा निर्माणाधीन साइटमा फोहोर फाल्न सकिने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए । ‘जेठ महिनापछि फोहोर फाल्ने गरी निर्माण गर्छौँ,’ बिहीबार केन्द्रको शिलान्यास गर्दै उनले भने । 
एक अर्बको ड्याम बनाइने
व्यवस्थापन केन्द्रको दोस्रो आयोजनामा ड्याम निर्माण गरिनेछ । एक साताभित्रमा ड्याम निर्माणको सम्झौता पनि हुने मन्त्रालयले बताएको छ । करिब एक करोडको लागत अनुमान गरिएको ड्याम ३० मिटर अग्लो हुनेछ । तर, तत्काल भने १५ मिटरको मात्रै बनाइने केन्द्रको परामर्शदाता इन्जिनियर सरोज कायस्थले बताए । उनका अनुसार १८ मिटरसम्ममा फोहोर फाल्न सकिनेछ ।
स्वास्थ्यअनुकूल निर्माण गरिने
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले धादिङ नुवाकोटस्थित बन्चरेडाँडामा निर्माण गर्नका लागि फोहोरमैला व्यवस्थापन साइटले स्थानीयवासीको स्वास्थ्यमा कुनै प्रभाव नपर्ने बताएका छन् । वातावरणीय र स्वास्थ्यको दृष्टिकोणलाई मध्यनजर गरी साइटको निर्माण वैज्ञानिक ढंगबाट गर्न लागिएको उनले बताए । ‘यदि साइटले स्थानीयवासीको स्वास्थ्यमा कुनै असर गर्‍यो भने तपाईंहरू मन्त्रालय वा विभागमा उजुरी दिन सक्नुहुन्छ । हामी समस्या समाधान गर्नेछाैं । अन्यथा नागरिकको व्यवस्थापन गर्नेछाैं,’ उनले भने । 
आलेटारमा प्रशोधन केन्द्र  
सिसडोलस्थित आलेटारमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना गरिनेछ । लगानी बोर्ड र नेपवे कम्पनीबीच भएको सम्झौताअनुसार मन्त्रालयले आलेटारको ६५ रोपनी जग्गा दिने भएको मन्त्रालयका महानिर्देशक गेलालले बताए । ‘बन्चरेडाडाँको जग्गा दिन सम्भव नभएपछि आलेटारको जग्गा दिन लागिएको हो,’ उनले भने । 
केन्द्रको क्षमताको अधिकतम ५० वर्षको हुनेछ
सहरी विकास मन्त्रालयले बन्चरेडाँडामा निर्माण गर्न लागेको स्यानिटेसन ल्यान्डफिल्ड साइटको क्षमता अवधि अधिकतम ५० वर्षसम्मको हुनेछ । काठमाडौं उपत्यकामा उत्पन्न हुने फोहोरलाई यथास्थितिमा नै साइटमा थुपार्ने हो भने जम्मा २० वर्षसम्म मात्रै प्रयोग गर्न सकिने सहरी विकास विभागका महानिर्देशक गेलालले बताए । ‘लगानी बोर्ड र नेपवे कम्पनीबीच फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने सम्झौता हुँदै छ । यदि प्रशोधन केन्द्र स्थापना भयो भने ८० प्रतिशत फोहोरलाई फर्काउन सकिन्छ । २० प्रतिशत फोहोरलाई मात्रै व्यवस्थापन गरे पुग्छ,’ उनले भने । 
स्थानीयवासी आक्रोशित
सहरी विकास मन्त्रालयले स्थानीयवासीसँग छलफल नगरी स्यानिटेसन ल्यान्डफिल्ड साइट निर्माण गर्न लागिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । सरकारले स्थानीयवासीको स्वास्थ्यमा पर्ने असरका विषयमा कुनै विचार नै नगरी साइट निर्माण गर्न लागेको उनीहरूले आरोप लगाएका छन् । सिसडोलमा निर्माण गरिएको फोहोरमैला व्यवस्थापन केन्द्र स्थानीयवासीमा विभिन्न खालका समस्या देखिएको भन्दै यस साइटले पनि त्यस्तो खालको समस्या सिर्जना हुन सक्ने धादिङ धुनीबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए । ‘साइट निर्माण गर्ने हो भने मन्त्रालयले स्थानीयवासीको स्वास्थ्यको विषयमा ध्यान दिनुपर्छ । स्थानीयवासीसँग छलफल गरेर मात्रै निर्माण गर्नुपर्छ,’ उनले भने । 
 पहिलो आयोजनाका लागि ३४ करोडमा सम्झौता
स्यानिटेसन ल्यान्डफिल्ड साइटको पहिलो आयोजना निर्माण गर्न लुम्बिनी, कोसी एन्ड न्यौपाने जेबी कम्पनीसँग सम्झौता भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग र कम्पनीबीच करबाहेक ३४ करोडमा सम्झौता भएको विभागका महानिर्देशक मनीराम गेलालले बताए । ‘हामीले ५४ करोड अनुमान गरेका थियाैं । प्रतिस्पर्धामा ३४ करोडमा सम्झौता गर्‍यौँ,’ उनले भने । 
पहिलो आयोजनामा फोहोरमैला राख्ने ठाउँ बनाइनेछ । फोहोरमैलाबाट उत्पन्न हुने ग्यास व्यवस्थापनका लागि पाइपको भेन्टिलेसन सिस्टम राखिनेछ । त्यस्तै, २० हजार लिटर क्षमताका दुईवटा फोहोर राख्ने तलाउ  बनाइनेछ । कार्यालय, आवास भवन, ग्यारेज, शौचालय, गार्ड हाउस र खानेपानीको व्यवस्थापन पनि गरिनेछ ।  तिनपिप्लेदेखि बन्चरेडाँडासम्म पुग्ने सबै सडकको व्यवस्थापन सडक विभागले गर्नेछ । फोहोर व्यवस्थापन केन्द्रको क्षमता ५० लाख घनमिटरको हुनेछ । 

No comments:

Post a Comment