Tuesday, April 23, 2019

नयाँलाई रोकेर पुराना कमोडिटी एक्सचेन्जलाई कारोबारमा छुट


धितोपत्र बोर्डले नयाँ कम्पनीलाई अनुमतिपत्र दिन प्रक्रिया रद्द गर्दै छ, तर पुरानाले गैरकानुनी रूपमा कारोबार गरिरहेका छन् 

मुना कुँवर    २०७६ बैशाख १० मंगलबार 

नेपाल धितोपत्र बोर्डले नयाँ कमोडिटी एक्सचेन्जलाई अनुमति दिने प्रक्रिया रद्द गरे पनि पुराना कम्पनीलाई भने कानुनविपरीत कारोबार गर्ने छुट दिइरहेको छ । बोर्डले वस्तु विनियम बजारसम्बन्धी ऐन २०७४ जारी गर्दै सञ्चालनमा रहेका एक्सचेन्जलाई गैरकानुनी घोषित गर्दै नयाँ करार नगर्न निर्देशन दिएको थियो । तर, बोर्डको निर्देशनविपरीत एक्सचेन्जहरूले कारोबार गरिरहँदा पनि बोर्डले भने कुनै कदम चालेको छैन । पुराना एक्सचेन्जको कारोबारप्रति आँखा चिम्लिने बोर्डको गतिविधि शंकास्पद भएको स्रोतले बतायो । तर, धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले भने कम्पनीहरूले कारोबार गरिरहेको विषयमा बोर्डलाई थाहै नभएको बताए ।
आफूखुसी सञ्चालन हुँदै आएको कमोडिटी बजारलाई नियमन गर्ने अधिकार नयाँ ऐनले धितोपत्र बोर्डलाई दिएको छ । सोहीअनुसार बोर्डले नियमावली जारी गरी नयाँ एक्सचेन्ज दर्ताका लागि आवेदन खुला गरेको थियो । त्यस्तै, यसअघि सञ्चालनमा रहेका एक्सचेन्जहरूलाई नयाँ कारोबार रोक्न आदेश पनि दिएको थियो ।
तर, बोर्डको निर्देशनविपरीत नेपाल डेरिभेटिभ एक्सचेन्जले भने नयाँ करारसमेत गरेर कारोबार गरिरहेको छ भने मर्कन्टाइल एक्सचेन्ज (मेक्स)ले पनि कारोबार गरिरहेको जनाएको छ । हालै एक वर्षको करार थप गरी कारोबार गरिरहेको एनडेक्सका प्रमुख कार्यकारी अधिकृत रविशंकर सिंहले बताए । मर्कन्टाइल एक्सचेन्ज नेपालले भने पुराना करारहरूको सेटलमेन्ट भइरहेको तर नयाँ करार नगरेको बताएको छ । डेरिभेटिभ्स एन्ड कमोडिटिज एक्सचेन्ज (डिसिएक्स) पनि केही समयअघिसम्म कारोबार गरिरहे पनि अहिले रोकेको छ । नयाँ कानुन लागू भएपछि बोर्डमा निवेदन दिएरै आफूहरूले कारोबार रोकेको डेरिभेटिभ्स एन्ड कमोडिटिज एक्सचेन्ज (डिसिएक्स)का सञ्चालक दीपेन्द्र बाँस्कोटाले बताए ।
नयाँ करार नगर्न आदेश
नेपाल धितोपत्र बोर्डले सार्वजनिक रूपमा नै सूचना जारी गरी एक्सचेन्जहरूलाई नयाँ करार नगर्न आदेश दिइएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता नीरज गिरीले बताए । ‘कमोडिटिज बजारलाई नियमन गर्न हामीले ऐन र विनियमावली जारी ग¥यौँ । पुराना एक्सचेन्जलाई हामी पहिचान गर्दैनौँ । किनभने, उनीहरूले हामीसँग अनुमति लिएर सञ्चालन भएका होइनन्,’ उनले भने । त्यसैले पुराना एक्सचेन्जलाई सार्वजनिक सूचना नै जारी गरी नयाँ करार नगर्न आदेश दिएको गिरीले बताए । 
नयाँ दर्ता प्रक्रिया रद्द गर्दै बोर्ड 
नेपाल धितोपत्र बोर्डले कमोडिटिज एक्सचेन्जको दर्ता प्रक्रिया रद्द गर्ने भएको छ । नयाँ कानुन बनेपछि बोर्डले सञ्चालनमा रहेका एक्सचेन्जलाई कानुनी मान्यता नदिई ०७४ मंसिरमा अनुमतिपत्रका लागि निवेदन आह्वान गरेको थियो । पहिलो आह्वानमा कसैले पनि निवेदन नदिएपछि ३ वैशाख ०७५ मा २१ दिनको म्याद थप गरेको थियो । सो अवधिमा बोर्डमा पाँचवटा कम्पनीले अनुमतिपत्र प्राप्तिका लागि आवेदन दिएका थिए । तर, ती कम्पनीमध्ये कुनै पनि आवेदकले सबै मापदण्ड पूरा नगरेको भन्दै प्रक्रिया नै रद्द गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता गिरीले बताए । ‘एक त कुनै पनि आवेदकले मापदण्ड पूरा गरेनन् । अर्को नेपालको बजारका लागि पाँचवटा एक्सचेन्ज धेरै हुने हाम्रो बुझाइ हो,’ उनले भने । बोर्डले निर्माण गरेको एक्सचेन्ज सञ्चालन अनुमति अध्ययन समितिले पनि दुईवटाभन्दा बढी एक्सचेन्ज आवश्यक नभएको सुझाब दिएको उनले बताए । त्यसैले बोर्डले अहिलेको प्रक्रिया नै रद्द गरी नयाँ प्रक्रिया सुरु गर्ने तयारी गरेको उनले बताए ।
पाँच कम्पनीले दिएका थिए आवेदन
कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि पाँचवटाले बोर्डमा आवेदन दिएका थिए, जसमध्ये ५४ करोड रुपैयाँ पुँजी कायम गरी नेपाल कमोडिटी एक्सचेन्जले आवेदन दिएको थियो । उक्त कम्पनीमा गैरआवासीयको लगानी रहेको छ । त्यस्तै, नेपाल मर्कन्टायल एक्सचेन्जले पनि निवेदन दिएको छ । ५० करोड पुँजी रहेको उक्त कम्पनीमा वाणिज्य बैंकहरूको लगानी रहेको छ । कमोडिटी फ्युचर्स एक्सचेन्जले पनि बोर्डमा निवेदन दिएको छ । कम्पनीको पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसमा विभिन्न कम्पनीहरूको लगानी रहेको छ । मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपालले ६८ करोड २५ लाख रुपैयाँ पुँजीसहित बोर्डमा निवेदन दिएको छ । त्यस्तै, ५५ करोड पुँजीको रिगल कमोडिटी एन्ड डेरिभेटिभले पनि बोर्डमा निवेदन दिएको छ ।
नेपालमा कमोडिटी एक्सचेन्जको सुरुवात
नेपालमा कमोडिटी बजारको औपचारिक सुरुवात सन् २००६ बाट भएको हो । २००९ पछि मात्र सरकारले यो क्षेत्रबाट कर उठाउँदै आएको हो । यसअघि नेपालमा ९ वटा एक्सचेन्ज सञ्चालनमा आए पनि पछिल्लो समयमा भने मर्कन्टाइल एक्सचेन्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेन्ज (एनडेक्स) र डेरिभेटिभ एन्ड कमोटिडिज एक्सचेन्ज (डिसिएक्स)ले बजारमा वस्तु खरिद–बिक्रीको कारोबार गर्दै आएका थिए ।
बोर्डबाट कुनै आदेश आएको छैन : कम्पनी
नेपाल धितोपत्र बोर्डले नयाँ करार नगर्न कुनै पनि आदेश नदिएको एनडेक्सका प्रमुख कार्यकारी अधिकृत सिंहले दाबी गरे । ‘हामीलाई अहिलेसम्म बोर्डले नयाँ करार नगर भनेकै छैन । त्यसैले हामीले नयाँ करार पनि गरिरहेका छौँ,’ उनले भने । एनडेक्सले सुन चाँदी, तामा, कच्चा तेललगायतका वस्तुहरूको कारोबार गरिरहेको छ । अर्को एक्सचेन्ज मेक्सका एक पदाधिकारीले कमोडिटीको कारोबार गरिरहेको स्वीकार गरे पनि औपचारिक प्रतिक्रिया दिन भने मानेनन् ।
नेपाल धितोपत्र बोर्डले नयाँ करार नगर्न कुनै पनि आदेश नदिएको एनडेक्सका प्रमुख कार्यकारी अधिकृत सिंहले दाबी गरे । ‘हामीलाई अहिलेसम्म बोर्डले नयाँ करार नगर भनेकै छैन । त्यसैले हामीले नयाँ करार पनि गरिरहेका छौँ,’ उनले भने । एनडेक्सले सुन चाँदी, तामा, कच्चा तेललगायतका वस्तुहरूको कारोबार गरिरहेको छ । अर्को एक्सचेन्ज मेक्सका एक पदाधिकारीले कमोडिटीको कारोबार गरिरहेको स्वीकार गरे पनि औपचारिक प्रतिक्रिया दिन भने मानेनन् ।
जानकारी नै नदिई निवेदन रद्द गर्नु अन्यायपूर्ण : निवेदक
आवेदकहरूले मापदण्ड पूरा नगरेको भन्दै प्रक्रिया नै रद्द गर्ने भएपछि आवेदकहरू आक्रोशित भएका छन् । निवेदकले मापदण्ड पूरा नगरेको भए बोर्डले सूचित गर्नुपर्ने व्यवस्था वस्तु विनियम बजार विनियमावलीमा व्यवस्था छ । तर, नियमावलीमा भएको व्यवस्थालाई बेवास्ता गर्दै विनासूचना बोर्डले मापदण्ड नै नपुगेको भनी रद्द गर्ने तयारी गरेको एक आवेदकले गुनासो गरे । ‘हामीलाई अहिलेसम्म तपार्इंको आवेदनमा यो कागज पुगेन भन्ने जानकारी आएको छैन । अनि कुन आधारमा मापदण्ड पुगेन भन्न मिल्छ ?’ उनले भने, ‘यदि दुईवटाभन्दा बढी एक्सचेन्जलाई अनुमति नदिने बोर्डको तयारी हो भने पनि अर्को प्रक्रियामा १० वटाले आवेदन दिए के गर्ने ?’ उनले भने ।

No comments:

Post a Comment