Wednesday, September 26, 2018

जीवन बिमा कम्पनीलाई बोनसको दबाब

नयाँ जीवन बिमा कम्पनी आएपछि बोनसको दर बढाउँदै पुराना कम्पनी
नेपालको जीवन बिमा व्यवसायमा नयाँ कम्पनीहरू थपिएसँगै पुराना कम्पनीलाई बोनसको दबाब पर्न थालेको छ । सोहीकारण गत वर्ष बोनसदर घोषणा गरेका ६ वटा जीवन बिमा कम्पनीले तुलनात्मक रूपमा बोनसदर बढाएका छन् ।

जीवन बिमा कम्पनीले बिमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बिमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष बोनसदर निर्धारण गरिन्छ । यस्तो बोनसदर कम्पनीले जारी गर्ने पोलिसीमा फरक–फरक हुन्छ ।
गत आवमा ६ कम्पनीले निर्धारण गरे बोनसदर
६ वटा जीवन बिमा कम्पनीले गत आवको बोनसदर निर्धारण गरेका छन् । सञ्चालनमा रहेको नौवटा जीवन बिमा कम्पनीमध्ये ६ वटाले मात्रै आर्थिक वर्ष २०७३/७४ को बोनसदर निर्धारण गरेका हुन् । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटलाइफ, एसियन लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदर निर्धारण गरेका छन् ।

एसियनले ग-यो ब्रेक थ्रु
एसियनले लाइफले पाँच वर्षको अवधिमा बोनसदरमा तीव्र वृद्धि गरेको छ । आव ०७३/७४ को लागि कम्पनीले अधिकतम प्रतिहजार ८५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यो रकम अन्य नेपालमा सञ्चालित कम्पनीहरूमा सबैभन्दा बढी हो । कम्पनीको न्यूनतम बोनसदर प्रतिहजार ४१ रुपैयाँ रहेको छ । आव ०६९/७० मा भने कम्पनीले न्यूनतम प्रतिहजार २५ रुपैयाँ र अधिकतम प्रतिहजार ६८ रुपैयाँ निर्धारण गरेको थियो ।
स्थिर छ नेपाल लाइफको बोनसदर
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनसदर पाँच वर्षदेखि स्थिर देखिएको छ । अधिकतम बोनस वितरण गर्ने अग्रपंक्तिमा रहेको नेपाल लाइफले गत आवमा प्रतिहजार ३ रुपैयाँ वृद्धि गरेको छ । कम्पनीले आव ०७३/७४ का लागि न्यूनतम प्रतिहजार ६५ रुपैयाँ र अधिकतम प्रतिहजार ८२ रुपैयाँ बोनस कायम गरेको छ । यसअघिका चार वर्षमा कम्पनीले न्यूनतम प्रतिहजार ६२ रुपैयाँ र अधिकतम प्रतिहजार ८२ रुपैयाँ वितरण गरेको थियो ।
प्राइमले पनि बढाउँदै छ बोनस
प्राइम लाइफ इन्स्योरेन्सले पनि बोनसदर वृद्धिमा जोड दिएको छ । कम्पनीले आव २०७३/७४ का लागि अधिकतम प्रतिहजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यो रकम विगत पाँच वर्षको तुलनामा प्रतिहजार १२ रुपैयाँले बढी हो । कम्पनीले न्यूनतम प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ । यो रकम पाँच वर्षको तुलनामा प्रतिहजार १६ रुपैयाँले बढी हो । आव ०६९/७० कम्पनीको बोनसदर अधिकतम प्रतिहजार ६३ रुपैयाँ र न्यूनतम प्रतिहजार १९ रुपैयाँ थियो ।
यसरी वितरण हुन्छ बोनस
जीवन बिमा कम्पनीहरूले बिमा कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्छन् । यसरी गरिएको लगानीको आम्दानीबाट कम्पनीको सबै दायित्व र खर्च घटाएपछि बाँकी रहने आम्दानी बिमितहरूलाई बोनसदरका रूपमा वितरण गरिन्छ । सामान्य सावधिक जीवन बिमामा बिमा अवधि सकिएपछि कम्पनीले बिमा रकम र सो अवधिसम्मको बोनस रकम बिमितलाई एकमुष्ट फिर्ता गर्छन् । यसबाहेक कम्पनीहरूले अन्य प्रकारका बोनस पनि वितरण गर्दै आएका छन् ।
नेपाली बिमा कम्पनीहरूले प्रदान गर्ने बोनसदर तुलनात्मक रूपमा अधिक भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘अन्य मुलुकको तुलनामा नेपाली कम्पनीहरूले दिने बोनस राम्रो छ । त्यसैले जीवन बिमा लगानी र बचतको राम्रो उपकरण हो,’ उनले भने ।
विभिन्न खालका बोनसहरू
मुनाफामा सरिक हुने बोनसदर : बिमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ । ययमा बिमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनस प्राप्त गर्छन् । त्यसैगरी कम्पनीहरूले मुनाफामा सरिक नहुने गरी पनि बोनस वितरण गर्छन् ।
नगद फिर्ता बोनस योजना : बिमा अवधि सकिनुअगावै समय समयमा भुक्तान गरिने बोनसलाई नगद फिर्ता बोनस योजना भनिन्छ । यस्तो बोनस नगद फिर्ता बिमा योजनामा प्रयोग हुन्छ । निश्चित अवधिमा कम्पनीले बिमा रकमसँगै बोनस पनि फिर्ता गर्छ । बाँकी रहेको बोनस बिमा अवधि सकिएसँगै फिर्ता गर्छ ।
संयुक्त बोनस योजना : यस्तो खालको योजनामा कम्पनीले बिमा गरेको वर्ष र दोस्रो वर्षको बोनस रकम संयुक्त रूपमा प्रदान गर्छ । यो योजनाअन्तर्गत बिमा अवधि नसकिँदै बिमितको मृत्यु भएमा वा बिमा अवधि सकिएमा बोनससहित बिमा रकम प्रदान गर्छ ।
अन्तरिम बोनस योजना : कम्पनीहरूले प्रत्येक आर्थिक वर्षको अन्त्यमा बिमांकी मूल्यांकन गरेर बोनसदर निर्धारण गर्छ । तर, आव नसकिँदै बिमा अवधि समाप्त भएका बिमा योजनाको हकमा भने बिमितलाई नोक्सान नहुने गरी निर्धारण गरिने बोनदरलाई अन्तरिम बोनस योजना भनिन्छ ।
http://www.nayapatrikadaily.com/2018/09/26/98728/

No comments:

Post a Comment