Wednesday, March 21, 2018

संस्थागत अभिकर्ता कि बैंकासुरेन्स ?

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ८ चैत 
संस्थागत अभिकर्ताको लाइसेन्स लिएको बिमा समितिको भनाइ-
बिमा कम्पनीको संस्थागत अभिकर्ता लाइसेन्स लिएर बैंकहरूले बैंकासुरेन्स गरिरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । बिमा समितिको ऐनमा बैंकासुरेन्ससम्बन्धी व्यवस्था नभएकाले संस्थागत अभिकर्ताको लाइसेन्स लिएर बैंकहरूले काम गरिरहेको राष्ट्र बैंकको भनाइ छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा वित्तीय संस्थाले आफ्नो प्रबन्धपत्रमा उल्लेख गरेको अवस्थामा संस्थागत अभिकर्ताका रूपमा काम गर्न पाउने व्यवस्था छ । बैंकासुरेन्सको सेवा प्रदान गर्न छुट्टै कानुनको आवश्यकता नपर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । ‘बैंकहरूको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार काम गर्न पाउँछन् । यसका लागि राष्ट्र बैंकले छुट्टै व्यवस्था गर्नुपर्दैन,’ उनले भने, ‘सम्बन्धित निकायले स्वीकृत दिएको अवस्थामा काम गर्न पाउनेछन् ।’

तर, बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता हुँदैमा यसलाई बैंकासुरेन्स भन्न नमिल्ने बिमाविज्ञ डा. दामोदर बसौलाको भनाइ छ । ‘बिमा क्षेत्रमा बैंकासुरेन्स र संस्थागत अभिकर्ताको प्रकृति फरक छ,’ उनले भने, ‘बैंकहरूले संस्थागत अभिकर्ताको काम गरेको हो भने सोहीअनुसार प्रचारप्रसार गर्नुपर्छ ।’ बैंकहरूले संस्थागत अभिकर्ताको लाइसेन्स लिएर बैंकासुरेन्स भनेका छन् भने वैधानिक नहुने उनको दाबी छ । समितिले बैंकासुरेन्ससम्बन्धी व्यवस्था नगरे पनि पछिल्लो समय बिमा कम्पनी र बैंकबीच बैंकासुरेन्स सम्झौता भइरहेको छ ।
ऐनमा के छ ?
बिमा ऐन २०४९ ले बिमा कम्पनीको योजना बिक्रीवितरणका लागि बिमा अभिकर्ताको व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार योग्यता पुगेको व्यक्ति वा कुनै पनि संस्थाले बिमा अभिकर्ताको लाइसेन्स लिन सक्ने विनियमावलीमा उल्लेख छ । एसएलसी उत्तीर्ण गरी समिति वा समितिले अधिकार प्राप्त गरेको कम्पनीबाट अभिकर्ताको तालिम लिएको व्यक्तिले लाइसेन्सका लागि समितिमा निवेदन दिन सक्नेछ । त्यसैगरी संस्थागत अभिकर्ताको हकमा भने संस्थाको एकजना सञ्चालकले कम्तीमा एसएलसी उत्तीर्ण गरी त्यस्तो तालिममा सहभागी भएको हुनुपर्नेछ । तर, समितिले हालसम्म  बैंकासुरेन्ससम्बन्धी भने कुनै पनि व्यवस्था गरेको छैन । बैंकासुरेन्स निर्देशिका निर्माणका लागि समितिले प्रक्रिया अगाडि बढाए पनि यसले मूर्त रूप पाउन सकेको छैन ।
संस्थागत अभिकर्ताको लाइसेन्स लिएर बैंकासुरेन्स
बैंकहरूले धमाधम संस्थागत अभिकर्ताको लाइसेन्स लिएर बैंकासुरेन्सको काम गरिरहेको स्रोतको भनाइ छ । नेपालमा बैंकहरूको पहुँच व्यापक भएकाले बिमा कम्पनीहरूले त्यही स्रोत र साधनको उपयोग गरी योजना बिक्रीवितरण गरिरहेको एक बिमा कम्पनीका अधिकारीले बताए । तर, बैंकासुरेन्ससम्बन्धी नेपाल राष्ट्र बैंक र बिमा समितिले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने समितिका पूर्वकार्यकारी प्रमुख रमेशराज भट्टराईले बताए । ‘कानुनी रूपमा व्यवस्था नभएसम्म बैंकासुरेन्स सम्झौता गरिनु खतरापूर्ण हुन सक्छ,’ उनले भने, ‘भोलिका दिनमा कुनै कानुनी समस्या आएमा त्यसको जवाफदेही को हुने ? यस विषयमा सम्बन्धित निकायले समयमै सोच्नुपर्छ ।’
बैंकहरू संस्थागत अभिकर्ता : समिति
बैंक र बिमा कम्पनीबीच सञ्चारमाध्यममा आएजस्तो बैंकासुरेन्स नभएको बिमा समितिको दाबी छ । बैंकहरूले संस्थागत अभिकर्ताको लाइसेन्स लिएर सोहीअनुरूप काम गरेकोे समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले दाबी गरे । नेपाल बैंकर एसोसिएसनका अध्यक्ष एवं नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि बिमा समितिका अध्यक्ष चापागाईंको भनाइसँग सहमत छन् । बैंकहरूले संस्थागत अभिकर्ताका रूपमा नै काम गरिरहेको उनको जिकिर छ । ‘बैंकासुरेन्स भनेकै संस्थागत अभिकर्ताका रूपमा काम गर्ने प्रक्रिया हो,’ उनले भने, ‘सोहीअनुसार बैंकहरूले इन्स्योरेन्सको सेवा प्रदान गरिरहेका छन् ।’
संस्थागत अभिकर्ता भनेको के हो ?
बिमा ऐनअनुसार योग्यता पुगेको व्यक्ति वा संस्थाले अभिकर्ताका रूपमा काम गर्न सक्छन् । योग्यता पुगेका सञ्चालक भएका संस्थाले अभिकर्ताको लाइसेन्स लिन सक्नेछन् । एउटा सञ्चालकले अनिवार्य रूपमा बिमा समितिबाट प्राप्त हुने अभिकर्ताको तालिम लिनुपर्नेछ । तर, संस्थागत अभिकर्ता आफैँले बिमा कम्पनीको पोलिसी भने बिक्री गर्न पाउँदैनन् । उनीहरूले बिमितलाई सीधै कम्पनीसँग सम्पर्क गराउँछन् ।
बैंकासुरेन्सको सुरुवात
बैंकासुरेन्सको विकास आजभन्दा ३० वर्ष पहिले संयुक्त अधिराज्यबाट भएको हो । सोभन्दा अगाडिको कुनै पनि बैंकले बिमा वा सुरक्षण वस्तु विक्री गर्नुहुँदैन भन्ने परम्परागत मान्यता रहेको पाइन्छ । तर, जब संयुक्त अधिराज्यमा बैंकमार्फत सफलताका साथ यस्ता वस्तु बिक्री हुन थाले । त्यसपछिका दिनमा बैंकले पनि बिमा वा सुरक्षण वस्तु बिक्री गर्न सुरु गरेका हुन् । यही सोच र मान्यता विश्वभर दु्रत गतिमा फैलिरहेको छ ।
बैंकासुरेन्स भनेको के हो ?
बिमा कम्पनी र बैंकबीचको सहकार्य नै बैंकासुरेन्स हो । यस्तो सम्झौतामा बैंकले बिमा कम्पनीका योजनाहरू बिक्रीवितरण गर्ने सहमति हुन्छ । बैंकासुरेन्स गर्दा बैंक आफैँले आफ्ना निक्षेपकर्ता वा ऋणीलाई बिमा कम्पनीको योजना जारी गर्न पाउँछन् । यसका लागि बैंकमा बिमासम्बन्धी सेवा दिने छुट्टै विभाग हुन्छ । बिमा गर्दा बैंक आफैँले अन्डरराइटिङ पनि गर्छ । बैंकले बिमितको खाताबाट बिमाशुल्क काटेर बिमा कम्पनीको खातामा राखी दिन्छ । त्यसैले दाबी पर्दा पनि बैंकले नै भुक्तानी गर्छ । तर, कति रकमसम्मको योजना बैंक आफैँले नै जारी गर्न पाउने र कतिसम्मको भुक्तानी बैंकले नै गरिदिने भन्ने विषयमा बैंक तथा कम्पनीबीच भएको सम्झौता हुन्छ । कम्पनीको काम गरिदिएबापत बैंकले निश्चित कमिसन प्राप्त गर्छ ।
http://www.enayapatrika.com/2018/03/22/33682/

No comments:

Post a Comment