Friday, November 4, 2016

जीवन बिमा कम्पनीको ८७ प्रतिशत लगानी वित्तीय संस्थामा,

    मुना कुँवर 


काठमाडौं : लगानीको अन्य विकल्प नहुँदा जीवन बिमा कम्पनीहरूको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा थुप्रिएको छ ।
बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष (२०७२/७३) को अन्त्यसम्ममा कम्पनीहरूले ८१ अर्ब ३४ करोड रुपैयाँ वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् । यो रकम कम्पनीहरूको कुल लगानीको ८६.५९ प्रतिशत हो । 
बिमा समितिले बिमा कम्पनीहरूलाई लगानी गर्न निश्चित क्षेत्र तोकिदिएको छ । त्यस्तै, उक्त क्षेत्रमा सीमित लगानी गर्न समेत निर्देशन दिएको छ ।
समितिको प्रावधानअनुसार वाणिज्य बैंकको मुद्दती निक्षेपमा तथा अल्पकालीन लगानीमा कम्पनीहरूले कुल लगानी रकमको ३५ प्रतिशतमा नघट्ने गरी लगानी गर्नुपर्नेछ । 

तर, यस्तो बैंकमा लगानी गर्दा बैंक कम्तीमा ५ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ । त्यस्तै, नियमित लेखा परीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको वाणिज्य बैंकमा कम्पनीहरूले कुल लगानी रकमको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।
सञ्चालनमा आएको ५ वर्ष नपुगेका वाणिज्य बैंकको हकमा भने औचित्यको आधारमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म एउटै वाणिज्य बैंकको मुद्दती निक्षेप तथा अल्पकालीन लगानीमा लगानी गर्न सकिनेछ । 
कम्पनीहरूले कुल लगानी रकमको १५ प्रतिशतमा नबढ्ने गरी विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्छ ।
लगानी गर्दा कम्तीमा ५ वर्षसम्म सञ्चालनमा आई नियमित लेखा परीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको विकास बैंकमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।
सञ्चालनमा आएको पाँच वर्ष नपुगेका विकास बैंकको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा २ प्रतिशतसम्म एउटै विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सक्दछन् । 
वित्त कम्पनीको मुद्दती निक्षेपमा भने कम्पनीले आफ्नो कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी लगानी गर्नुपर्नेछ ।
यसका लागि कम्पनी कम्तीमा पाँच वर्षदेखि सञ्चालन रहेको संस्थामा कुल लगानी रकमको बढीमा ३ प्रतिशतसम्म र पाँच वर्ष नपुगेका वित्त कम्पनीको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा १ प्रतिशतसम्म एउटै वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न गर्नुपर्नेछ । 
जीवन बिमा कम्पनीले बिमितबाट आर्जन गरेको बिमा शुल्कलाई नै विभिन्न क्षेत्रमा लगानी गर्दछन् । यसरी लगानी गरिएको क्षेत्रबाट प्राप्त भएको प्रतिफलको आधारमा नै विमितहरूले प्रतिफल प्राप्त गर्दछन् ।
त्यसैले कम्पनीहरूले लगानीको लागि सुरक्षित र विश्वासिलो क्षेत्र रोज्ने गरेको विमाविज्ञ पुष्पदास श्रेष्ठले बताए । “बैंक तथा वित्तीय संस्थामा गरेको लगानी सुरक्षित हुन्छ, त्यसैले पनि कम्पनीहरूको लगानी वित्तीय संस्थामा थुप्रिएको हो,’ उनले भने । तर, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका उपमहाप्रबन्धक सुरेशकुमार खत्रीले भने लगानीको अन्य क्षेत्र नहुँदा वित्तीय संस्थामा रकम थुप्रिएको बताउँछन् ।
“हामीले समितिले तोकिदिएको क्षेत्रमा नै लगानी गर्ने हो । समितिको व्यवस्थाअनुसार नै वित्तीय क्षेत्रको मुद्दती निक्षेपमा बढी रकम तोकिएको छ,” उनले भने । तर, यतिमा नै जीवन बिमा कम्पनीहरूको लगानीलाई सीमित राख्न नहुने उनको भनाइ छ । 
कम्पनीहरूलाई लगानीको लागि समितिले अन्य क्षेत्र पनि तोकिदिएको छ । तर, अन्य क्षेत्रमा जोखिम बढी र प्रतिफल कम हुने हुँदा अन्य क्षेत्रको लगानीको पनि वित्तीय  संस्थामा नै हुने गरेको समितिले बताएको छ ।
यस्तो अवस्थामा समितिको अनुमतिबाट कम्पनीहरूले अन्य क्षेत्रमा गर्ने लगानी पनि वित्तीय संस्थाको मुद्दती निक्षेपमा नै लगानी गर्दै आएका छन् ।  
वित्तीय संस्थाहरूले सबैभन्दा बढी वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । तथ्यांकअनुसार कम्पनीहरूले ७७ अर्ब २६ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा जम्मा गरेका छन् ।
त्यस्तै, विकास बैंकको मुद्दतीमा ३ अर्ब ६ करोड र  वित्त कम्पनीको मुद्दतीमा  १ अर्ब १ करोड लगानी गरेका छन् । 

No comments:

Post a Comment