काठमाडौं : बिमा समितिले प्रस्ताव गरेको नयाँ बिमा ऐनमा व्यवस्था गरेअनुसार चुक्ता पुँजी पु¥याउन बिमा कम्पनीहरूलाई करिब ८४ अर्ब रुपैयाँ थप गर्नु पर्नेछ । समितिले प्रस्ताव गरेको कम्पनीहरूको चुक्ता पुँजीलाई नै सांसदले पारित गरेमा कम्पनीहरूले ८३ अर्ब ८३ करोड रुपैयाँ थप गर्नुपर्ने देखिएको छ ।
हाल नेपालमा ९ वटा जीवन बिमा र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालित छन् । सोमध्ये जीवन बिमाअन्तर्गत मेटलाइफ र निर्जीवन बिमा कम्पनीअन्तर्गत नेसनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स कम्पनी विदेशी कम्पनी हुन्, जसले नेपालमा शाखा सञ्चालन गर्ने अनुमति पाएको छन् । यिनीहरूका लागि भने चुक्ता पुँजी वृद्धिको प्रावधान लागू हुँदैन ।
बिमा समितिले नयाँ ऐनमा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पु¥याउनुपर्ने व्यवस्था गरेको छ ।
यस व्यवस्थाअनुसार बिमा कम्पनीहरूको (आठवटा जीवन र १५ वटा निर्जीवन) चुक्ता पुँजी १ खर्ब रुपैयाँ पुग्नुपर्नेछ । यो रकम हालको रकमभन्दा करिब नौ गुणाले बढी हो । हाल बिमा कम्पनीहरूको (राष्ट्रिय बिमा संस्थान बाहेक) कुल चुक्ता पुँजी ११ अर्ब १६ करोड रुपैयाँ छ ।
नेपालमा नै सञ्चालित १५ निर्जीवन बिमा कम्पनीहरूले मात्रै पनि चुक्ता पुँजी ६० अर्ब रुपैयाँ हुनुपर्नेछ । यो रकम हालको भन्दा करिब साढे १२ गुणाले बढी हो ।
हाल निर्जीवन बिमा कम्पनीहरूको पुँजी करिब ४ अर्ब ७५ करोड मात्रै छ । सो अनुसार कम्पनीहरूले ३३ अर्ब ५८ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ । त्यस्तै, जीवन बिमा कम्पनीहरूले ४० अर्ब रुपैयाँ पुँजी पु¥याउनुपर्नेछ । यो रकम हालको पुँजीभन्दा करिब ६ गुणाले बढी हो । हाल सात जीवन (राष्ट्रिय बिमा संस्थान बाहेक) कम्पनीहरूको पुँजी ६ अर्ब ४१ करोड छ । सो अनुसार कम्पनीहरूले ३३ अर्ब ५८ करोड रुपैयाँ थप गर्नुपर्नेछ ।
समितिले प्रस्ताव गरेको नयाँ बिमा ऐन हाल अर्थ मन्त्रालयमा छलफलको क्रममा छ । अधिकांश विषयमा निर्णय भइसके पनि चुक्ता पुँजी कति राख्ने भन्ने विषयमा भने निर्णय नभएको अर्थमन्त्रालयले बताएको छ ।
त्यसैले समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजी नै तय हुन्छ वा त्यसमा घटबढ हुन्छ भन्ने विषयमा भने अन्योल छ । तर, कम्पनीहरूको चुक्ता पुँजी अत्यधिक बढ्ने भन्ने विषयले सेयर बजारमा भने राम्रो चर्चा पाएको छ ।
समितिले ०७० सालदेखि जीवन बिमा कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी ५० करोड र निर्जीवन बिमा कम्पनीका लागि २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको हो ।
समयअनुसार बिमा कम्पनीहरूको व्यवसाय वृद्धि हुँदै जाँदा र कोषको रकम ठूलो हुँदै गएकाले चुक्ता पुँजी बढाउनुपर्ने आवश्यक रहेको बिमा विज्ञ डा. रवीन्द्र घिमिरे बताउँछन् । “हालको चुक्ता पुँजी अत्यन्तै कम छ । कम्पनीहरूलाई थप बलियो र जिम्मेवार बनाउन पुँजी वृद्धि गर्नुपर्छ,” उनले भने ।
कम्पनीहरूको चुक्ता पुँजी बढाउनुपर्ने विषयमा भने अधिकांश बिमकहरू पनि सहमत देखिन्छन् । तर, समितिले प्रस्ताव गरेअनुसार एकै पटक धेरै बढाउनु कम्पनीहरूलाई अप्ठेरो हुने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठले बताए ।
“चुक्ता पुँजी बढाएर मात्रै हुँदैन, कम्पनीले लगानी पनि गर्न सक्नुपर्छ,” उनले भने । लगानी गर्न नसकेको खण्डमा कम्पनीको प्रतिफल घट्दै जान्छ । त्यसैले एकैपटक धेरै भन्दा विस्तारै विस्तारै पुँजी बढाउँदै लैजाउनु उपयुक्त हुने उनले बताए ।
बिमा कम्पनीहरूले जारी गरेको गत आव ०७२/७३ को लेखा परीक्षण नभएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार १२ वटा निर्जीवन बिमा कम्पनी र दुईवटा जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी बढाएका छन् ।
१५ वटा नेपाली निर्जीवन बिमा कम्पनीहरूको औसत २९ प्रतिशतले चुक्ता पुँजी बढेको छ । एभरेस्ट इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बिमा बिमा कम्पनीले चुक्ता पुँजी बढाएका छैनन् । त्यस्तै, जीवन बिमातर्फ नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले मात्रै चुक्ता पुँजी बढाएका छन् । त्यस्तै, राष्ट्रिय बिमा संस्थानले भने लामो समयदेखि विवरण नै जारी गरेको छैन ।
विवरण अनुसार कम्पनीहरूले विस्तारै चुक्ता पुँजी बढाउँदै लगेको देखिन्छ । बिमा समितिले नगद लाभांश वितरण गर्न रोक लगाएकै कारण सबै कम्पनीहरूले बोनश सेयर वितरण गर्दै पुँजी वृद्धि गरेका छन् ।
त्यस्तै, समितिले पुँजी बढाउने तयारी गरेकै कारण पनि कम्पनीहरूले चुक्ता पुँजी बढाउने प्रयास गरेको नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनका कम्पनी सचिव विनोद भुजेलले बताए ।
“कम्पनीहरूको बिमा कोष बढ्दै गएको छ सो अनुसार कम्पनीको पुँजी भने बढेको छैन, त्यसैले पनि चुक्ता पुँजी बढाउनु आवश्यक छ,” उनले भने ।
समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजी पु¥याउन अधिकांश कम्पनी असक्षम रहेको बिमा विश्लेषकहरू बताउँछन् । तर, केही कम्पनीहरू भने पुँजी पु¥याउँन सक्षम छन् ।
अहिले कतिपय कम्पनीले बोनस सेयर वितरण गरी पुँजी बढाउँदै छन् भने केही कम्पनीले पनि एफपीओसमेत जारी गरी चुक्ता पुँजी बढाउने तयारी गरेका छन् ।
No comments:
Post a Comment