Monday, September 30, 2019

इन्धन खर्च पनि धान्दैन निगमको ओसाका उडानले

मुना कुँवर
इन्धन खर्च मात्र ७ करोड, कुल आम्दानी ५ करोड मात्र
नेपाल वायुसेवा निगमले इन्धन खर्चसमेत नउठ्ने गरी काठमाडाैं –ओसाका उडान सञ्चालन गरेको छ । भदौ १२ गतेदेखि एक महिनामा निगमले गरेको १० उडानमा इन्धनमा मात्र ६ करोड रुपैयाँ खर्च भएको छ । तर, यात्रुबाट भने ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । हवाई क्षेत्रमा कुल खर्चमध्ये इन्धनको लागत ३५ प्रतिशत मात्र पर्छ । 
निगमका अनुसार २ सय ७४ सिट क्षमता भएको एयर बस ३३० ले भदौ १२ बाट ओसाका उडान भर्दा औसतमा १३.९ प्रतिशत मात्र यात्रु पाएको छ । उताबाट फर्किंदा भने ३२.८५ प्रतिशत पाएको छ । यस्तो उडानबाट प्रशासनिक खर्चको त कुरै छाडौँ, इन्धन खर्चसमेत नउठेपछि निगम दिनदिनै समस्यामा पर्दै गएको छ । उक्त जहाजले सातामा तीनवटा उडान गर्ने तयारीसाथ उडान सुरु गरेको थियो । तर, यात्रु नपाएपछि साताको दुईवटा मात्रै उडान गर्दै आएको छ ।

कति लाग्छ इन्धन ? 
निगमको वाइडबडीले प्रतिघन्टा ५.५ टन (५५०० लिटर) इन्धन खपत गर्छ । निगमलाई ओसाका उडानमा सामान्यतया ७ घन्टा लाग्छ । यसरी काठमाडौंदेखि जापान पुग्दा जहाजले करिब साढे ३८ टन इन्धन खपत गर्छ । नेपालमा हवाई इन्धनको मूल्य प्रतिटन १ हजार डलर छ । यसअनुसार जहाज ओसाका पुग्न इन्धनमा मात्रै ३८ हजार ५ सय डलर (करिब ४३ लाख ५० हजार) खर्च हुन्छ ।
 त्यस्तै, ओसाकाबाट काठमाडौंमा आइपुग्न पनि ७ घन्टा नै लाग्छ । तर, जापानमा भने इन्धन प्रतिटन करिब ६ सय डलरमा खरिद गर्न सकिन्छ ।  यसअनुसार २३ हजार १ सय डलर (२६ लाख १० हजार रुपैयाँ) खर्च हुन्छ । जहाजले काठमाडौं–ओसाका दुईतर्फी उडान गर्दा इन्धन खर्च मात्रै ६९ लाख ६० हजार रुपैयाँ पर्न आउँछ । कुनै पनि उडानमा हुने कुल सञ्चालन खर्चमध्ये इन्धनलाई ३५ प्रतिशत मानिन्छ ।
बाँकी ७५ प्रतिशत खर्च भने पाइलट, जहाजका कर्मचारी, क्याटरिङ, अवतरण, बैंक ब्याज, इन्धन, जहाजको ह्रास मूल्यलगायतलाई छुट्याइन्छ । यसैलाई आधार मान्दा एकपटकको उडानमा सञ्चालन खर्च मात्रै १ करोड ९८ लाख रुपैयाँसम्म हुने निगमका एक अधिकारीले बताए । 
निगमले हालसम्म गरेको १० उडानमा ६ करोड ९६ हजार रुपैयाँ इन्धन खर्च गरेको छ । बाँकी ७५ प्रतिशत अन्य खर्च जोड्दा निगमको कुल सञ्चालन खर्च १७ करोड ८९ लाख रुपैयाँ हुन आउँछ । तर, निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार यो एक महिनामा निगमले १ हजार ४ सय ६४ यात्रुलाई सेवा दिएको छ । निगमले हाल प्रवद्र्धनका लागि दोहोरो भाडादर ७२ हजार रुपैयाँ तोकेको छ । यस आधारमा निगमले यात्रुबाट ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको देखिन्छ । यो १० उडानमा मात्र निगमले साढे १२ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । 
 नाफा हुने गन्तव्य छाडेर घाटाको रोजाइ  
कुनै पनि वायुसेवा कम्पनीले उडान भर्नुअघि उक्त क्षेत्रमा हुने व्यापारको विश्लेषण गर्नुपर्छ । तर, निगमले सरकारको दबाब र अरूलाई देखाउनका लागि घाटामा भए पनि ओसाका उडान गरिरहेको छ । निगमसम्बद्ध एक अधिकारीका अनुसार दोहा, दुबई तथा दिल्लीका लागि यात्रुको चाप अहिले अत्यधिक छ । दोहामा कतार एयरलाइन्सले दिनमा चारवटा उडान गर्छ । तर, निगमले भने एउटा मात्रै उडान गर्दै आएको छ । 
त्यस्तै, दुबईका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले १० वटा उडान गर्छन्, तर निगमले भने एउटा मात्रै उडान गरिरहेको छ । प्रशस्त नाफा हुने गन्तव्य छोडेर जानाजानी घाटाको व्यापार गरेको निगमकै अधिकारीहरू बताउँछन् । ‘यस विषयमा निगम जानकार छ । तर, कुन उद्देश्यका साथ ओसाका उडान सुरु गरिएको हो थाहा पाउनै गाह्रो भयो,’ एक अधिकारीले भने । 
ओसाका भनेको जापानको व्यापारी क्षेत्र हो । जहाँ नेपाली कमै मात्रा छन् । तर, नारितामा उडान गर्ने हो भने तुलनात्मक रूपमा यात्रु बढी भेटिने उनको भनाइ छ । नारिता टोकियोमा भएका कारण र ट्रान्जिट प्वाइन्ट भएकाले पनि यात्रु बढी भेटिने उनको जिकिर छ । 
यता, निगमका प्रवक्ता चन्द भने आगामी केही समयमै निगमले नाफाको व्यापार सुरु गर्ने दाबी गर्छन् । ‘व्यापार आजको भोलि नै नाफामा जाँदैन । हामी प्रचार–प्रसार गरिरहेका छौँ,’ उनले भने, ‘तत्काल परिणाम खोज्नुहुँदैन । व्यवसायमा समय लाग्छ ।’
ओसाका उडान थप गर्दै निगम 
नेपाल वायुसेवा निगमले काठमाडौं–ओसाका उडान साताको तीनपटक नै गर्ने भएको छ । ओसाकाबाट काठमाडौं आउने यात्रुको चाप बढेपछि निगमले उडान थप गरेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । उनका अनुसार गत सेटेम्बर २१ देखि ओसाकाबाट काठमाडाैंमा दुई सयभन्दा बढीले यात्रा गरेका छन् । त्यसैले अब मंगलबार, बिहीबार र शनिबार निगमले उडान गर्ने भएको छ ।
चाडपर्व नजिकिँदै गर्दा जापानबाट नेपाल भित्रिने यात्रुको चाप बढेपछि निगमले उडान थप गरेको चन्दले बताए । ‘सेटेम्बरको अन्त्यदेखि सामान्यतया सिजन सुरु हुन्छ । दसैं–तिहारमा फर्किने यात्रु पनि हुन्छन् । त्यसैले, आगामी दिनमा काठमाडौंबाट ओसाका जाने यात्रु पनि बढ्नेछन्,’ उनले भने । 
 ‘निगमको सेक्टर विश्लेषण क्षमता कमजोर’
नेपाल वायुसेवा निगमको सेक्टर विश्लेषण गर्ने क्षमता अभाव स्पष्ट देखिएको निगम सुधार सुझाब कार्यदललको प्रतिवेदनले जनाएको छ । नेपाल सरकारलगायत उच्च राजनीतिक नेतृत्वले जापानको नारिता उडान गर्नुपर्ने निर्देशन दिए पनि निगमले ओसाका उडान गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आफैँले नियुक्त गरेको जिएससँग अन्तिम समयमा आएर अदालती प्रक्रियामा गएको र तीनवटा उडानबाट घटाएर दुईवटा बनाउने निगमको क्षमता कमजोर भएको देखिने प्रतिवेदनमा उल्लेख छ । 

https://www.nayapatrikadaily.com/news-details/26337/2019-09-30
#

No comments:

Post a Comment