Friday, September 25, 2020

भिसा सकिएका २ लाखभन्दा धेरै श्रमिक फर्कन पाएनन्

 

मुना कुँवर

२०७७ असोज १० शनिबार


रोजगारी गुमाएका श्रमिक भिसासमेत सकिँदा ओभरस्टेवापत करोडौँ जरिवाना तिर्न बाध्य

वैदेशिक रोजगारीमा रहेका श्रमिकको उद्धारलाई सहज नबनाउँदा भिसा अवधि सकिएका २ लाखभन्दा धेरै श्रमिक स्वदेश फर्कन पाएका छैनन् । खाडी र मलेसियालगायतका मुलुकमा भिसा अवधि सकिएका श्रमिकहरू ओभरस्टेको चर्को जरिवानामा पर्न थालेका छन् । मानवअधिकार आयोगको अध्ययनले प्रतिदिन १५ सय श्रमिकको भिसा अवधि सकिन्छ ।

यस हिसाबले नेपालमा लकडाउन सुरु भएदेखि हालसम्म २ लाख ७५ हजार श्रमिकको भिसा अवधि सकिएको छ । तर, ६ असोजसम्म जम्मा ६३ हजार ५ सय मात्रै स्वदेश फर्किका छन् भने २ लाख ११ हजार ५ सय श्रमिक मुलुक फर्कन पाएका छैनन् । 

श्रमिकले सम्बन्धित मुलुकमा भिसा अवधि सकिएपछिको हरेक दिन ओभरस्टेको नाममा जरिवाना तिर्नुपर्ने हुन्छ । धेरै मुलुकले ओभरस्टेमा बसेका श्रमिकहरूलाई महामारीका सुरुका महिना छुट दिए पनि त्यसवेला सरकारले उद्धार गर्न नसक्दा उनीहरू जरिवानामा पर्न थालेका छन् । सरकारको उद्धार कार्य सुस्त हुँदा श्रमिकहरू ठूलो जरिवानामा पर्दै आएको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले बताए । श्रमिकहरूले सम्बन्धित मुलुकले दिएको जरिवाना छुटको सुविधा उपयोग गर्न नपाएको उनले बताए । 

कोभिड–१९ को संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै कतिपय मुलुकले अवैधानिक रूपमा बस्दै आएका श्रमिकलाई वैधानिक कागजपत्र बनाउनसमेत अवसर दिएका छन् । तर, सरकारले उडान संख्या र नेपाल फर्काउन श्रमिकको संख्यामा कोटा तोक्ने, नियमित उडान नगर्ने र सम्बन्धित मुलुकका एयरलाइन्सलाई उडान अनुमति नदिँदा श्रमिकहरूले छुट सुविधासमेत उपयोग गर्न नपाएको राजदूत सिंहले बताए । 

कोरोना संक्रमणका कारण रोजगारी गुमाएका श्रमिकमध्ये अझै ३ लाख ३४ हजार स्वदेश फर्कने पर्खाइमा छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार मलेसिया र खाडीका मुख्य गन्तव्य मुलुकमा १३ लाख ४८ हजार ८ सय ७२ श्रमिक छन् । जसमध्ये भिसा करार अवधि सकिएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या भने १ लाख २७ हजार छ । त्यस्तै, रोजगारी गुमाएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या २ लाख ८० हजार छ । यसरी नेपाल फर्कन सक्ने अनुमानित श्रमिकको संख्या भने ४ लाख ७ हजार रहेको बोर्डको तथ्यांक छ । यी मुलुकहरूबाट असोज ६ गतेसम्म ६३ हजार ४ सय ८७ श्रमिक नेपाल फर्किएका छन् ।

३ लाख ३४ हजार श्रमिक फर्किने पर्खाइमा

कोरोना संक्रमणका कारण रोजगारी गुमाएका श्रमिकमध्ये अझै ३ लाख ३४ हजार स्वदेश फर्कने पर्खाइमा छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार मलेसिया र खाडीका मुख्य गन्तव्य मुलुकमा १३ लाख ४८ हजार ८ सय ७२ श्रमिक छन् । जसमध्ये भिसा करार अवधि सकिएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या भने १ लाख २७ हजार छ ।

त्यस्तै, रोजगारी गुमाएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या २ लाख ८० हजार छ । नेपाल फर्कन सक्ने अनुमानित श्रमिकको संख्या भने ४ लाख ७ हजार रहेको बोर्डको तथ्यांक छ । यी मुलुकहरूबाट असोज ६ गतेसम्म ६३ हजार ४ सय ८७ श्रमिक नेपाल फर्किएका छन् भने समग्रमा ७२ हजार ९ सय ५० नागरिक नेपाल फर्किएका छन् ।

मलेसियामा एक वर्षसम्मको ओभरस्टेमा ३१ हजार जरिवाना 

मलेसियामा आप्रवासी श्रमिकको करार अवधि सकिएपछि रोजगारदाताले अध्यागमनबाट स्पेसल पास उपलब्ध गराउनुपर्छ । यो पासको अवधि एक महिनासम्मको हुन्छ । उक्त पासका लागि श्रमिकले २८ सय रुपैयाँ तिर्नुपर्छ । तर, भिसा सकिएको एक महिनाभन्दा बढी भएको र करार नाघेको एक वर्षभित्र श्रमिकले भने ३१ हजार जरिवाना तिर्नुपर्ने गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले बताए । उनका अनुसार करार अवधि सकिएको एक वर्षभन्दा बढी भएमा ५७ हजार जरिवाना तिर्नुपर्छ । हाल मलेसियामा करार अवधि सकिएका ७ हजार श्रमिक रहेको हुन सक्ने संघका अध्यक्ष भट्टराईले बताए । 

मलेसियामा ३ लाख २५ हजार श्रमिक कार्यरत छन् । संक्रमणको अवधिमा ९ हजार श्रमिकले नेपाल फर्कन आवेदन दिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । तर, करार अवधि सकिएका श्रमिकको संख्या भने यकिन नभएको उनले बताए । कोभिड संक्रमणको समयमा मलेसियन सरकारले गत मार्चदेखि जुलाईसम्ममा ओभरस्टेमा लाग्ने सबै जरिवानामा छुट दिएको थियो ।  

युएईमा एकमुष्ट ९ हजार प्रतिदिन थप ८ सय जरिवाना  

संयुक्त अरब इमिरेट्स (युएई)मा करार अवधि सकिएका श्रमिकले पहिलो दिन करिब ९ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ । त्यसपछिका प्रतिदिन ८ सय रुपैयाँ जरिवाना लाग्छ । त्यस्तै, भिजिट भिसामा जानेको हकमा भने प्रतिदिन ३२ सय जरिवाना लाग्छ । तर, लकडाउन अवधिमा युएई सरकारले श्रमिकलाई १२ जुलाईसम्म जरिवाना छुट दिएको थियो । त्यस्तै, भिजिट भिसामा जानेलाई भने १० सेटेम्बरसम्मलाई छुट दिएको थियो । 

युएईमा अहिले करार अवधि सकिएका करिब १५ हजार श्रमिक रहेको गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले बताए । युएईमा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन् । जसमध्ये नेपाल फर्कनका लागि ५० हजार श्रमिकले आवेदन दिएका थिए । हालसम्म २१ हजार श्रमिक फर्किएको अध्यक्ष कोइरालाले बताए ।

कतारमा  प्रतिदिन ३ सय २० जरिवाना  

कतारमा करार अवधि सकिएका श्रमिकलाई प्रतिदिन ३ सय २० रुपैयाँ जरिवाना लाग्ने कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले बताए । कतार सरकारले कोभिड संक्रमण सुरु भएदेखि गत अगस्टसम्ममा जरिवानामा छुट दिएको थियो । तर, श्रमिकले कोभिड सुरु हुनुुअघि अर्थात् मार्चअगाडि करार अवधि सकिएको भए जरिवाना भुक्तानी गर्नुपर्ने उनले बताए ।

त्यस्तै, अब अगस्टपछि करार अवधि सकिएका श्रमिकले पनि जरिवाना भुक्तानी गर्नुपर्ने उनले बताए । कतारमा यसरी करार अवधि सकिएका करिब ८० हजार श्रमिक रहेको उनको अनुमान छ । कतारमा हाल ३ लाख ५१ हजार नेपाली श्रमिक छन् । जसमध्ये २० हजारले नेपाल फर्कनका लागि आवेदन दिएका थिए । हालसम्म ९ हजार ७ सय श्रमिक नेपाल फर्किसकेका छन् ।

ओमानमा १ लाख ५२ हजारसम्म जरिवाना

ओमानमा करार अवधि सकिएका श्रमिकलाई १२ हजारदेखि १ लाख ५२ हजार ५ सय रुपैयाँसम्म जरिवाना लाग्ने गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय प्रवक्ता डिबी क्षत्रीले बताए । ओमानमा १९ हजार नेपाली श्रमिक रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले बताइन् । जसमध्ये ९ हजार घरेलु श्रमिक छन् । उनका अनुसार संक्रमणका समयमा २ हजार २ सय श्रमिकले नेपाल फर्कन आवेदन दिएका थिए । जसमध्ये १ हजार १ सय जना नेपाल फर्किसकेका छन् ।

साउदीमा कानुनी कागज बनाउन छुट

साउदी अरबमा बहिर्गमन भिसाको अवधि ६० दिनको हुन्छ । सो अवधिमा श्रमिकहरू स्वदेश फर्किएनन् भने पनि कुनै जरिवाना हुँदैन, तर भिसा नवीकरण झन्झटिलो हुने गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उपसंयोजक राजेन्द्र अर्यालले बताए । तर, अहिले साउदी सरकारले करार अवधि सकिएर वा अन्य कारणले अवैधानिक भएका श्रमिकलाई कानुनी कागजपत्र बनाउन अवसर दिएको छ ।

हालसम्म १ हजार श्रमिकले आफ्नो भिसालाई कानुनी बनाइसकेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले बताए । तर, उनीहरूको समयावधि भने २ महिनाको मात्रै हुन्छ । सो अवधिमा नेपाल नफर्किएमा उनीहरू फेरि अवैधानिक हुनेछन् । उनका अनुसार करार अवधि सकिएका २५ हजार श्रमिक साउदीमा छन् । साउदीमा ३ लाख २५ हजार नेपाली श्रमिक छन् । जसमध्ये २५ हजार श्रमिकले नेपाल फर्कनका लागि आवेदन दिएका थिए । हालसम्म ११ हजार श्रमिक नेपाल फर्किसकेका छन् । 

कुवेतमा प्रतिदिन ७ सय ६० जरिवाना

कुवेतमा करार अवधि सकिएको अवस्थामा प्रतिदिन ७ सय ६० रुपैयाँ जरिवाना लाग्छ । तर, कुवेत सरकारले संक्रमणका कारण जरिवाना छुट दिएको कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । उनका अनुसार तेस्रोपटक जरिवाना छुट अवधि थप गरी नोभेम्बरसम्म पुर्‍याएको छ । राजदूत भण्डारीका अनुसार कुवेतमा ७० हजार कामदार छन् । जसमध्ये ८ हजार श्रमिकले नेपाल फर्कन आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४ हजार फर्किसकेका छन् । तर, करार अवधि सकिएका श्रमिक कति बाँकी छन् भन्ने तथ्यांक नभएको उनले बताए । 

बहराइनमा प्रतिमहिना ३ हजार जरिवाना

बहराइनमा करार अवधि सकिएमा प्रतिमहिना ३ हजार रुपैयाँबराबर जरिवाना लाग्छ । भिसा नवीकरणको छुट्टै शुल्क लाग्छ । तर, बहराइन सरकारले कोरोना संक्रमणका कारण डिसेम्बरसम्मका लागि जरिवाना छुट गरिदिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बताए । सो अवधिभित्रमा श्रमिकले अर्को काम खोजेर कानुनी पनि बनाउन सक्छ । राजदूत सुन्दासका अनुसार हाल बहराइनमा ३५ हजार नेपाली श्रमिक छन् । जसमध्ये १५ सय श्रमिकले नेपाल फर्कन आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १ हजारभन्दा बढी फर्किसकेका छन् । करार अवधि सकिएका श्रमिक बाँकी नरहेको उनले दाबी गरे ।

https://www.nayapatrikadaily.com/news-details/51876/2020-09-26

No comments:

Post a Comment