Saturday, December 29, 2018

सिंहदरबारमा लखनउको सौडी विरयानी


भनिन्छ, यदि कसैको मन जित्नु छ भने मीठो खाना खुवाउनुहोस् । खानासँगै तपाईं कसैको मनभित्रै पस्न सक्नुहुन्छ । यही विषयलाई मनन गरेर नेपालगन्जका साफिक इराकीले काठमाडौंको सिंहदरबारभित्र ‘विरयानी घर’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । जहाँ लखउनको चर्चित परिकार सौडी विरयानीको स्वाद लिन सकिन्छ । विरयानी घरमा विरयानी मात्रै होइन, बरिस्ता कफी, कबाब, कोर्मा, रुमानी रोटी र अन्य परिकार पनि पाउन सकिन्छ । रेस्टुरेन्टका सञ्चालक नेपालगन्जका तल्हा राकी भए पनि विरयानी घरको अवधारणा भने इराकीको हो । ‘म धेरै पहिलेदेखि काठमाडौंमा लखनउको सौडी विरयानी भियाउन चाहन्थेँ । तर, संयोगवश आज यो सम्भव भएको छ,’ उनले भने ।

भनिन्छ, जस्तो पानी प्रयोग गरिन्छ बानी पनि त्यस्तै हुन्छ, जस्तोे आहारको सेवन गरिन्छ, विचार पनि त्यस्तै निर्माण हुन्छ । अर्थात् हामीले प्रयोग गर्ने आहारले हाम्रो विचार निर्माण गर्छ । यो विषयलाई मध्यनजर गरी विरयानी घरले सादा, गुणस्तरीय र न्यून मूल्यमा विभिन्न खानाका परिकार उपलब्ध गराइने इराकीको दाबी छ । उनी भन्छन्, ‘सिंहदरबार त्यस्तो स्थान हो, जहाँ महत्वपूर्ण  विचारहरू सिर्जना हुन्छन् र निर्णय हुन्छन् । त्यसैले पनि यहाँ गुणस्तरीय र स्वच्छ खानाको आवश्यकता छ,’ उनले भने ।
‘विरयानी घर’मा लखनउबाटै कालीगड ल्याएर विरयानी बनाइने इराकीले बताए । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले खाना खाँदै विरयानी घरको शुक्रबारदेखि औपचारिक सुरुवात गरे । विरयानी घरमा विशेष गरी हलाल गरिएका मांसाहारी खाना पाइन्छ । मुस्लिम समुदायलाई पनि लक्षित गरी सिंहदरबारभित्र खोलिएको विरयानी घरले मुलुक धर्म निरपेक्षतामा गएको सन्देश दिने मन्त्री इस्तियाक राईले बताए । 
बाजिद अलीले परिचत गराएका थिए विरयानी
भारतको उत्तर प्रदेश अवधका नबाब वाजिद अलि शाहले सबैभन्दा पहिला विरयानी बनाएको इतिहासमा पाइन्छ । उनी नबाब अमजद अलि शाहका दशौँ सन्तान थिए भने उक्त राज्यका अन्तिम नबाब थिए । सन् १८४७ मा उनले अवध राज्यकोे जिम्मेवारी सम्हालेका थिए । अवध राज्यमा उनले नौ वर्ष राजकाज चलाए । नबाब वाजिद कवि, नाटककार, संगीतकार र नर्तक पनि थिए । उनले नै धेरै कला र संस्कृतिलाई परिचित गराए । कथ्थक नृत्यलाई पनि उनैले परिचित गराएका थिए । १८५६ मा ब्रिटिस सरकारले अवध राज्य कब्जा गरेपछि उनी कलकत्ता धपाइए । कलकत्तामै उनले आफ्नो सानो महल खडा गरे । उक्त महल खडा गर्ने क्रममा कामदारलाई खुवाउन उनीसँग रासन कम थियो । त्यसैले उनले चामलमा आलु मिसाएर विरयानी बनाउन लगाए । भारतमा हैदराबाद, कलकत्ता र लखनउ विरयानीमा चर्चित छ ।
 के हो सौडा विरयानी ?
विरयानी शब्द फारसी भाषाको विरिन्ज विरयानी शब्दबाट आएको हो । जुन भारतको मुगल, अफगान, अरब तुर्क शासकको दरबारमा प्रयोग हुने आधिकारिक भाषा हो । केही व्यक्तिहरू विरयानी खाना इरानबाट आएको ठोकुवा गर्छन् । तर, उत्तरी भारतको विभिन्न सहर दिल्ली, लखनउ, हैदराबादलगायतका अन्य राजघरानामा यसको प्रयोग हुने गरेको पाइन्छ । चामल, मुख्य खानाका रूपमा प्रयोग हुने स्थान तेलंगाना, तलिमनाडु र कर्नाटकमा पनि यसको विशेष प्रयोग हुने गरेको पाइन्छ । 
चामललाई मुख्य सामग्रीका रूपमा प्रयोग गरी मरमसला र खसी कुखुरा वा माछासहित तयार गरिएको परिकारलाई विरयानी भनिन्छ । एसियाको सबै स्थानमा यो स्थान विशेषअनुसार केही फरक तरिका र सामग्री प्रयोग गरेर बनाइन्छ । विरयानीमा विशेष गरी घिउ, जाइफल, खुर्सानी, ल्वाङ, दालचिनी, इलाइची, तेजपत्ता, धनियाँ, पुदिना, अदुवा, लसुन र प्याजको प्रयोग गरिन्छ ।
https://www.nayapatrikadaily.com/news-details/1508/2018-12-29

No comments:

Post a Comment