Sunday, January 21, 2018

बिमा क्षेत्रमा व्यावसायिक अभिकर्ताको अभाव

मुना कुँवर
आइतवार, माघ ७, २०७४

नेपालको बिमा क्षेत्रमा नयाँ कम्पनीहरूको प्रवेशसँगै जसरी कर्मचारीको अभाव चुलिएको छ, त्यसैगरी व्यवसायिक अभिकर्ताको समस्या पनि देखिन थालेको छ । पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न आवश्यक दक्ष अभिकर्ताको नपाउँदा पुराना अभिकर्तालाई नै विभिन्न प्रलोभन दिएर कम्पनीहरूले आकर्षित गरि रहेका छन् भने जथाभावी अभिकर्ताको लाइसेन्स वितरण गरिरहेका छन् । 
अभिकर्ता भनेको बिमा कम्पनी र बिमितबीचका मध्यस्थकर्ता हुन् । जसले दुइ पक्षबीच सेतुको काम गर्छन् । बिमा क्षेत्रमा अभिकर्ताको व्यवस्था अन्तराष्ट्रिय अभ्यास नै हो । 
बिमा ऐन २०४९ ले बिमा अभिकर्ता भन्नाले विमकको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बिमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ । सोही ऐनको दफा ३० का अनुसार बिमा अभिकर्ताको रूपमा काम गर्न चाहने तोकिए बमोजिमको योग्यता पुगेको व्यक्तिले सम्ब्न्धित बिमकको सिफारिश सहित समितिमा निवेदन दिनु पर्नेछ । निवेदन प्राप्त भएपछि समितिले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा निवेदकलाई तोकिएको दस्तुर लिइ तोकिए बमोजिमको ढाँचामा बिमा अभिकर्ताको इजाजत पत्र दिनु पर्नेछ र इजाजत पत्र दिनु नपर्ने कुनै कारण भएमा त्यसको जानरकारी समितिले सम्बन्धित निवेदकलाई दिनुपर्नेछ । 
नयाँ कम्पनीहरूले तालिम दिएर दक्ष अभिकर्ता उत्पादन गर्नुभन्दा पनि पुराना अभिकर्तालाई नै आकिर्षत गर्न तर्फ जोड दिएको बताउँछन् पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारी । “अभिकर्तालाई विभिन्न खालका सेवा सुविधा दिएर नयाँ कम्पनीहरूले आकर्षित गरेका छन्,” उनले भने । 
सक्रिय अभिकर्ताको अभाव
अहिले नेपालको बिमा बजारमा दक्ष अभिकर्ताको उपलब्धता पनि चुनौतीको रूपमा देखिएको छ । बर्षेनी लाखौ व्यक्तिले अभिकर्ता लाइसेन्स लिन्छन् तर, सक्रिय रूपमा अभिकर्ताको रूपमा काम गर्नेको संख्या ज्यादै न्यून छ । 
नेपालमा बर्सेनि लाखौ व्यक्तिले बिमा अभिकर्ताको लाइसेन्स लिन्छन् । तर, सक्रिय रूपमा काम गर्नेको संख्या भने न्युन रहेको बताउँछन् पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारी । “१ सय जनाले लाइसेन्स लिए भने काम गर्ने भनेको जम्मा दुइ जना हो । बाँकी ९८ ले काम नै गर्न सक्दैनन् । त्यसपछि तिनै व्यक्तिहरूले समाजमा बिमाको बारेमा नकरात्मक अफवाह फैलाउँदै हिडछन्,” उनले भने । 
तालिमबिनै लाइसेन्स
नेपालको बिमा बजारमा दक्ष अभिकर्ता उपलब्ध हुन नसक्नु मुख्य कारण भनेको लाइसेन्स लिने प्रक्रिया सहज हुनु हो । यसअघिको व्यवस्था अनुसार बिमा समितिले नै अभिकर्ताको लाइसेन्स सञ्चालन गर्थौ । समिलिले सञ्चालनका गरेको सात दिनको तालिममा सहभागी भएका व्यक्ति नै अभिकर्ताको लाइसेन्स पाउनको लागी योग्य हुन्थे । तर, पछिल्लो एक दशक देखि समितिले बिमा कम्पनीहरूलाई नै अभिकर्ता तालिम सञ्चालन गर्ने अनुमति दिएको छ । अहिले कम्पनीले सञ्चालन गरेको चार दिने तालिममा सहभागी भएपछि लाइसेन्स पाउन सकिने व्यवस्था छ । 
कम्पनीबाट सञ्चालन भएको तालिममा सहभागी भएपछि कम्पनीको सिफारिशमा अभिकर्ताको लाइसेन्स वितरण गरिन्छ । लाइसेन्स वितरण गर्ने काम बिमा समितिले गरेपछि तालिम भने कम्पनीहरूले नै सञ्चालन गर्दै आएका छन् । जसका कारण अभिकर्ता लाइसेन्स वितरण प्रणालीमा विकृति आएको पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष तिवारी बताउँछन् । “अहिले घर घरमा लाइसेन्स पुग्छ । तालिममा सहभागी पनि हुनु पर्दैन । आवश्यक कागजपत्र पु¥याएपछि कम्पनीहरूले मानिसका घरमा नै लाइसेन्स पु¥याउँछन्,” उनले भने । 
तालिम बिना नै लाइसेन्स लिनेको संख्या पनि उत्तिकै छ नेपालमा । तर, यस्ता अभिकर्तामा बिमा सम्बन्धी कुनै पनि जानकारी हुँदैन । जसले हचुवाको भरमा बिमा गराउँछन् । यस्ता अभिकर्ताले आफनो, आफन्त र साथीभाइलाई बुझाएर बिमा गराउने भन्दा पनि करकापमा बिमा गराउने गरेको देखिन्छ । तसर्थ यस्ता खालका बिमा योजना व्यतित हुने सम्भावना पनि उत्तिकै हुन्छ । पहिलो बर्ष करकापले बिमाशुल्क भुक्तान गरेपनि दोस्रो बर्ष देखि त्यस्ता बिमितहरूले बिमाशुल्क नै भुक्तान गर्दैनन् । फलस्वरूप मानिसमा अभिकर्ता र बिमा प्रति नकरात्मक भावना बढ्दै तिवारीले बताए । 
त्यसमा पनि अहिले सञ्चालनमा आएका नयाँ कम्पनीहरूले प्रत्येक बिमितलाई नै अभिकर्ताको लाइसेन्स वितरण गरेको विमा विज्ञ दामोदर बस्यौलाले बताए । अभिकर्ता शब्द प्रतिको दृष्टिकोणमा नेपालमा एकदमै खराब छ । त्यसैले नयाँ व्यक्ति खासै यसमा आकर्षित छैनन् । तर, कम्पनीहरूले प्रत्येक बिमितलाई आफनो बिमा बापतको कमिशन खानुहोस भन्दै लाइसेन्स वितरण समेत गरेको उनले बताए । 
विमकले सञ्चालन गर्ने बिमा अभिकर्ताका तालिम निर्देशिका २०७२ का अनुसार बिमा अभिकर्ता तालिम कम्तिमा १७ घण्टा हुनुपर्नेछ । प्रशिक्षार्थीले तालिम काइक्रमको पूरै अवधिभर उपस्थिति हुनुपर्नेछ । तालिम काइक्रम सञ्चालनमा संलग्न कर्मचारीले प्रत्येक कक्षामा प्रशिक्षार्थीको उपस्थितिको अभिलेख राख्नुपर्नेछ । तालिम अवधिको ७५ प्रतिशत भन्दा कम उपस्थिति हुने कुनै पनि प्रशिक्षार्थीलाई तालिम काइक्रममा सहभागिताको प्रमाणपत्र प्रदान गर्न पाइने छैन । 
बिमा अभिकर्ताको आचारसंहिता
बिमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरू:
बिमा अभिकर्ताले बिमा समितिबाट प्राप्त बिमाको किसिम समेत खुलेको बिमा अभिकर्ताको इजाजत पत्र सधै साथमा राख्नु पर्नेछ र ग्राहकले चाहेमा त्यस्तो इजाजतपत्र देखाउनु पर्नेछ । 
बिमा अभिकर्ताले ग्राहकलाई आफु अभिकर्ता भएको बिमक बारेको यथार्थ विवरण (पुँजीगत संरचना, लगानी नीति, आर्थिक स्थिति आदी) मात्र जानकारी गराउनु पर्नेछ । 
बिमा अभिकर्ताले ग्राहकलाई प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरू खुलाउन लगाइ त्यससँग सम्बन्धित कागजात ग्राहकबाट लिइ बिमक समक्ष पेश गर्नु पर्नेछ । 
बिमा अभिकर्ताले ग्राहकलाई बिमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधा बारे पूर्ण जानकारी गराउनु पर्नेछ । 
बिमा अभिकर्ताले ग्राहकको पेशा, सामाजिक हैसियत र स्तरबारे बिमकलाई छुट्टै जानकारी दिनु पर्नेछ ।
बिमा अभिकर्ताले आवश्यकता अनुसार बिमकलाई अण्डरराइटिङ्ग काइका लागि आवश्यक पर्ने थप विवरण उपलब्ध गराउनु पर्नेछ । 
बिमा अभिकर्ताले बिमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बिमा शुल्क बुझाउने, बिमालेख नवीकरण गर्ने, इच्छाइएको व्यक्ति परिवर्तन-चयन गर्ने, बिमालेख बापत ऋण लिने, दावी गर्ने वा आवश्यक अन्य बिमा सम्बन्धीसेवा पुयाउन सहयोग गर्नु पर्नेछ । 
बिमा अभिकर्ताले ग्राहकलाई बिमाको प्रस्ताव स्वीकृति बारे बिमकको निर्णय अविलम्ब जानकारी गराउनु पर्नेछ ।
ग्राहकले बिमा अभिकर्ता मार्फत बिमाशुल्क रकम बुझाएमा अविलम्ब त्यस्तो रकम बुझेको आधिकारिक भरपाइ वा रसिद बिमा अभिकर्ताले ग्राहकलाई दिनुपर्नेछ र त्यस्तो बिमाशुल्क काबु बाहिरको अवस्थामा बाहेक संभव भएसम्म सोही दिन र संभव नभए भोलिपल्टसम्म सम्बन्धित बिमकलाई दाखिला गर्नुपर्नेछ ।
बिमा प्रस्ताव फाराम, स्वास्थ सम्बन्धी विवरण फाराम आदि प्रस्तावकले भर्नुपर्न फारामहरू प्रस्तावकहरू स्वयंबाटै भराउनु पर्नेछ । प्रस्तावक निरक्षर वा असमर्थ भए प्रस्तावकले विश्वास गरेको व्यक्तिबाट त्यस्ता फारामहरू भराउनु पर्नेछ ।
बिमा अभिकर्ताले गर्न नहुने कुराहरू:
बिमा अभिकर्ताको इजाजत पत्र नवीकरण नगरी बिमा बस्तु बिक्री गर्नु हुँदैन । 
बिमा अभिकर्ताले ग्राहकबारे आफुले थाहा पाएको कुनै पनि बिमासंग सम्बन्धित आवश्यक विवरणहरू सम्बन्धित बिमकलाई नबताइ लुकाउनु हुदैन । 
बिमा अभिकर्ताले ग्राहक बारेको आफुलाई जानकारी भएको विवरणहरू सम्बन्धित बिमक बाहेकका व्यक्ति-संस्था सामु प्रकट गर्नु हुँदैन । 
बिमा अभिकर्ताले ग्राहक प्रति दुव्र्यवहार गर्नु हुँदैन । 
बिमा अभिकर्ताले ग्राहकलाई अनावश्यक करकाप गर्नु हुँदैन । 
ग्राहकलाई प्रलोभनमा पार्न आफूले प्राप्त गर्ने कमिशनको कुनै पनि अंश दिन वा दिन्छ भनी कबोल गर्नु हुँदैन । 
बिमा अभिकर्ताले अस्वस्थ प्रतिस्पर्धा गरी अन्य बिमा अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुयाउन हुँदैन । 
बिमा अभिकर्ताले बिमालेखबापत प्राप्त हुने रकमको कुनै पनि अंश बिमित वा बिमितको हकवालाबाट लिनु हुँदैन । 
बिमा अभिकर्ताले निर्धारित बिमादर उलंघन गरी व्यवसाय हात पार्ने कार्य गर्नु हुँदैन । 
नियम बमोजिम अभिकर्ताको रूपमा दर्ता कायम नहुने अवस्थामा अभिकर्ताको रूपमा काइ गर्नु हुँदैन । 
बिमा अभिकर्ताले (संस्थाको भए सो को संचालक) ले कुनै पनि बिमकको तलबी कर्मचारी भै काम गर्नु हुदैन । 
कुनै बिमकको बिमा अभिकर्ता भै कार्यरत व्यक्ति वा संस्था वा सो संस्थाका संचालक वा निजको नजिकको नातेदारले कुनै पनि बिमकको संस्थापक वा संचालक हुन वा कुनै पनि बिमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिनु हुँदन । 
स्पष्टीकरण
यस व्यवस्थाको प्रयोजनको लागि ‘नजिकको नातेदार’ भन्नाले सम्बन्धित व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, दाजु, भाइ, भाउजु, बुहारी, दिदी, बहिनी, काका, काकी, सासु, ससुरा, ज्वाइ, भिनाजु, साला, साली, भतिजा, भतिजी, मामा, माइजु, भान्जा, भान्जी सम्झनु पर्छ ।
बिमा अभिकर्ताले आफु अभिकर्ता नभएको कुनै पनि बिमकको बारेमा गलत प्रचार प्रसार गर्न । बिमा अभिकर्ताले बिमा प्रस्ताव स्वीकृत नभएसम्म बिमाशुल्क वापतको रकम बुझिलिन । बिमा अभिकर्ताले आफ्नो पेशागत व्यवसाय संचालन गर्दा अन्य प्रचलित कानुन उल्लघंन गरी व्यवसाय गर्न ।
दण्ड सजाय
यस आचार संहिताको उल्लंघन गरेमा वा गर्नु पर्ने कुनै काम नगरेमा वा नगर्नु पर्ने कुनै काम गरेमा बिमा अभिकर्तालाई बिमा ऐनबमोजिम कारवाही तथा दण्ड सजाय हुनेछ ।
https://www.karobardaily.com/news/insurance/1658

No comments:

Post a Comment